७ वैशाख २०८१ शुक्रबार
समाज

नदीमा बाढीको सम्भावनासँगै स्थानीय त्रसित

असारको पहिलो हप्तामै रौतहटका खोलाहरुमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेर बाढीको सम्भावना देखाएपछि नदी किनारका बासिन्दाहरुमा त्रासको वातावरण देखिएको छ ।

बागमती र बकैया नदीको किनारका बासिन्दामा बढी त्रास देखिएको हो । तटबन्ध कटानको सम्भावना भएका नदी किनारका बस्तीका स्थानीयबासीमा बढी त्रास देखिएको हो ।

बौद्धिमाई नगरपालिका वडा नम्बर ३ मटिअर्वा जिउताही टोलनजिक बकैया नदीले तटबन्ध कटान सुरु गरिसकेको छ । गत वर्षको बाढीले भत्काएको ठाउँमा नै बाढीले फेरि कटान सुरु गरेको हो । बाढीले तटबन्ध कटान सुरु गरेपछि स्थानीय त्रसित भएका छन् ।  

गत वर्षको कटानपछि नदी नियन्त्रण कार्यालयको निगरानीमा उपभोक्ता समितिले तटबन्धको मरम्मत गरेको थियो । बाँसको पाइलिंग गरेर माटो पुरी पुनर्निर्माण गरिएको बाँधलाई असारको पहिलो हप्तामा नै आएको बाढीले फेरि भत्काउन सुरु गरेपछि स्थानीयमा त्रास देखिएको हो ।

बोल्डरको प्रयोग नगरीकनै बाँध बनाएकोले कमजोर भएको र बाँध भत्किने खतरा बढेको छ । बाढीले कटान गर्दै गरेको बाँध भत्किएमा दर्जनौँ गाउँ डुबानमा पर्ने खतरा रहेको परोहा नगरपालिकाका प्रमुख शेख वकिलले बताएका छन् ।

बाँध भत्किएमा परोहा नगरपालिकाको तेजापाकड, लौकाहा, डमार, पोखरिया, बौद्धिमाई नगरपालिकाको इनरबारी, इनरबा, मटिअर्बा, राजपुर नगरपालिकाको राजपुर, अकोलबा, बैरिया लगायतका गाउँमा बाढीको पानी पस्ने मेयर वकिलको भनाइ छ ।

गत वर्ष देवाहीगोनाही, कटहरिया र फतुवाविजयपुर नगरपालिकाको क्षेत्रमा बकैया नदीको तटबन्ध ठाउँ ठाउँमा बाढीले भत्काएको थियो । तटबन्धको मरम्मत ढिलो गरी हुँदा पनि बाढीलाई भत्काउन सजिलो हुने गरेको स्थानीयको आरोप रहेको छ ।  

बागमती नदीमा पनि तटबन्धले स्थानीयमा त्रास सिर्जना गरेको छ । गढीमाई नगरपालिकाको वडा नम्बर १ मा हरैया नजिक बागमती नदीको तटबन्ध भत्किने अवस्थामा रहेको र त्यो भत्किएमा समनपुर बजारसहित आधा दर्जन गाउँ खतरामा रहेको वडा नम्बर १ का अध्यक्ष राम विनय राय यादवले बताएका छन् ।

प्रकाशित: ६ असार २०७७ १५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App