काठमाडौं बस्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका चन्द्रबहादुर कार्कीले लकडाउनको बीचमा गाउँ आएर आठ सय बोट कागती रोप्न सुरु गरेका छन् । लकडाउनका बेला गाउँ सम्झेका कार्कीले हाल कागती रोप्ने खाल्डो तयार पारेर कागती लगाइरहेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । ‘काठमाडौं बसिरहेको अवस्थामा लकडाउनमा घर आएर उहाँले खाली जग्गामा कागती रोपिरहनु भएको छ,’ वडाध्यक्ष राईले भने, ‘उहाँले नमूना काम गरिरहनु भएको छ । यो क्षेत्रमा यत्तीको लगानी गरेर कृषिमा काम गर्नु चानकुने कुरा होइन ।’
यस्तै, लकडाउनको अवधिमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले १५ वर्षदेखि बाँझिएको जग्गामा सामूहिकरुपमा लिची रोप्ने तयारी थालेका छन् । लिचीको पकेट क्षेत्रकारुपमा विकास गर्नका लागि बरबोटे बिज बृद्धि कृषक समुहमा आवद्ध किसानले बयाखुखोला नजिकैको दुई सय रोपनी जग्गामा दुई हजार बोट लिची रोप्ने तयारी थालेका हुन् । ‘गाउँमै केही गर्नुपर्छ’ भन्ने सोचका साथ उनीहरुले बाँझिएको जग्गामा पलाएको झाडी फँडानी गरेर लिचीका लागि खाल्डो खनिरहेका छन् ।
शहर बजारमा बसिरहेका युवा गाउँमा आएपछि सामूहिक रुपमा बाँझो जग्गामा लिची लगाउने निर्णयमा पुगिएको बरबोटे बिज बृद्धि कृषक समूहका अध्यक्ष राजेश राईले बताए । कृषक समूहमा आवद्ध २५ परिवार किसानमध्ये नौ घरका किसान सामूहिक रुपमा लिची खेतीमा लागेका हुन् । लिचीले उत्पादन दिन थालेपछि तीन भाग लगाएर एक भाग जग्गाधनीलाई दिने शर्तमा जग्गा भाडामा लिइएको कृषक समुहले जनाएको छ । उत्पादनको तीन भागमध्ये एक भाग लगानीकर्तालाई र एक भाग मलजल गर्ने हेरालुलाई दिइने सहमती गरिएको कृषक समुहका अध्यक्ष राईले बताए ।
कृषि ज्ञान केन्द्र खोटाङले उपलव्ध गराएको आठ लाख अनुदानमा किसानको आठ लाख रकम थप गरेर धितुङमा लिची खेती विस्तार गर्न लागिएको हो । ‘लकडाउनमा घर आएका युवा साथीभाईले चासो दिए । शहरमा बसेर मात्र नहुने रहेछ, गाउँमा केही गर्नु पर्ने रहेछ भन्ने उहाँहरुको कुरा आयो,’ अध्यक्ष राईले भने, ‘सोही अनुसार हामीले बाँझो जग्गा फाँडेर लिची रोप्ने तयारी थालेका हौँ । १५ वर्षदेखि बाँझिएको जग्गालाई लकडाउनका कारण जगाउने कोसिस गरिएको छ । यस मानेमा लकडाउनले हामीलाई फाईदै पुर्याएको छ ।’
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि हाल मुलुकभर लकडाउन लागू गरिएको छ । शहरमा बसिरहेका युवा युवती लकडाउन छल्दै गाउँ–गाउँमा पुगेका छन् । चाडवाडका समयमा मात्र गाउँघरमा भेला हुने युवायुवती हाल लकडाउनका कारण एकठाउँमा भेला भएका छन् । लकडाउनका कारण गाउँ आएका स्थानीयका कारण मेलापातमा रौनक देखिन्छ । बाआमा मात्र देखिने खेतबारीको काममा छोराछोरी सँगै देखिन्छन् । यही मौकामा बाँझो जग्गामा फँडानी गरेर खेती बढाउने, लिची, आँप, केरा, कागती लगायतका फलफूलका बोटबिरुवा रोप्ने किसान बढेको पाइएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।
लकडाउनले विपत्ती र महामारीका समयमा गाउँलाई नै सुरक्षित थलोकारुपमा देखाएकाले गाउँ फर्केका अधिकांश स्थानीयले गाउँमै केही गर्नुपर्ने सोच बनाएको देखिन्छ । सोही अनुुार उनीहरुले आ–आफ्नो बाँझो जग्गालाई सदुपयोग गर्ने प्रयास गरिरहेका छन् ।
प्रकाशित: ६ असार २०७७ ११:३१ शनिबार