coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सेलिब्रिटीले किन रोज्छन् आत्महत्याको बाटो ?

अभिनेता सुशान्त सिंह राजपुत

पछिल्लो समय विश्वभर नै आत्महत्याको शृंखला बढ्दो छ।  विश्वप्रसिद्ध कलाकारदेखि आम नागरिकले आत्महत्या गरेका समाचार हिजोआज मिडियामा छाइरहेका छन्।  

‘आवर वल्र्ड इन् डाटा’ वेबसाइटका अनुसार, विश्वमा वर्षभर करिब आठ लाख मानिसले आत्महत्या गर्छन्।  यस वेबसाइटले सन् २०१७ मा मात्रै सात लाख ९३ हजार आठ सय २३ व्यक्तिले आत्महत्या गरेको विवरण राखेको छ।    

भर्खरै भारतीय उम्दा अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि भारतीय मिडिया र बलिउडमा आत्महत्याको मुद्दालाई लिएर विभिन्न आयाममा बहस भइरहेका छन्।  बलिउडमा नातावाद हाबी रहेकाले संघर्ष गरेर आउने प्रतिभावान् कलाकारले काम नपाएर तनावमा पर्ने वा पलायन हुनुपर्ने अवस्था रहेको आवाज उठिरहेका छन्।  यतिसम्म कि उनकै आत्महत्यालाई लिएर बलिउड सिनेकर्मीमाथि मुद्दा नै परेको छ।  एक वकिलले अभिनेता राजपुतको मृत्युको कारण भन्दै बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जनाविरूद्ध बिहार अदालतमा फौजदारी मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।  राजपुतकै आत्महत्याको प्रसंग जोड्दै बलिउड अभिनेत्री कंगना रनावत लगायत कलाकारले बलिउडमा ‘पाखण्डी शैली’ मौलाएको भनी आलोचना गर्दै आइरहेका छन्।  

आखिर सेलिब्रिटीसँगै आममानिसले किन आत्महत्या गर्छन् ?

मनोविद् डा. करुणा कुँवर आत्महत्याको प्रमुख कारण मनोरोग भन्छिन्।  मनोरोग भन्नाले निराशापन, मादक पदार्थको अत्यधिक सेवन, कडा किसिमको मानसिक विचलन वा मानसिक बेचैनी आदि पर्छन्।  

भर्खरै भारतीय उम्दा अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि भारतीय मिडिया र बलिउडमा आत्महत्याको मुद्दालाई लिएर विभिन्न आयाममा बहस भइरहेका छन्।  बलिउडमा नातावाद हाबी रहेकाले संघर्ष गरेर आउने प्रतिभावान् कलाकारले काम नपाएर तनावमा पर्ने वा पलायन हुनुपर्ने अवस्था रहेको आवाज उठिरहेका छन्।  

उनी भन्छिन्, ‘आत्महत्या गर्ने व्यक्तिले आफ्नो जीवनका काम र सफलतामा जीवनको अर्थ र खुसी भेट्दैन, त्यसैले ऊ बेचैनी हुँदै आत्महत्या गर्ने टुंगोमा पुग्छ। ’  

आत्महत्यासम्म पुग्न पहिले मानिसलाई कुनै न कुनै प्रकारको मानसिक रोग वा कमजोरी हुनुपर्छ।  पछिल्लो समय सेलीब्रेटीले आफूलाई मानसिक रोग भएकोबारे खुलेर बोल्न थालेका छन्, यसलाई डा. कुँवर  सकारात्मक रुपमा लिन्छिन्।  

उनी भन्छिन्, ‘अचेल चिन्ता वा तनावका कारण मैले पनि आत्महत्या गर्ने प्रयास गरेको थिएँ भनेर धेरैले निर्धक्कसँग सुनाउँछन्।  खुलेर कुरा गर्यो भने मान्छे बाँच्न पनि सक्छन्।’ उनका अनुसार विश्वमा पैसा, परिवार, भविष्य र सम्बन्धका कारण मानिस चिन्तामा पर्ने र अन्ततः आत्महत्यासम्मको निर्णयमा पुग्ने गर्छन्।  

‘मानिसलाई खुसी सम्बन्धले बनाउँछ।  घर–परिवारदेखि साथीसंगी,  प्रेमी–प्रेमिकासँगको सफल सम्बन्धका कारण मानिस खुसी हुन्छ।  सम्बन्धमा खटपट हुनेबित्तिकै उसले आफू असफल भएको वा आफू कमजोर भएको महसुस गर्छ,’ उनी भन्छिन् ‘त्यसैले केही प्रसिद्धि कमाएका मानिसले आत्महत्याको बाटो रोजेको पाइन्छ। ’  

मानिसले खुसी र सफलतालाई आ–आफ्नै ढंगले परिभाषा गरेको वा बुझेको पाइन्छ।  कुनै पनि व्यक्तिले आत्महत्या गर्दा उसको व्यक्तिगत जीवन मात्रै होइन, समाज, देश र विश्व परिवेश जोडिएको हुन्छ।  तर हामीले कुनै व्यक्तिको आत्महत्यामा उसको व्यक्तिगत वृत्तमा धारणा बनाउँछौँ।  र, त्यसकारण कसैले आत्महत्या गर्दा अचम्ममा पर्छौं।  

डा. कुँवर भन्छिन्, ‘हामीले कसैको आत्महत्यामा प्रेम, पैसा, सम्बन्ध लगायत कुरा केलाउन थाल्छौं।  तर, आत्महत्याको खास कारण आत्महत्या गर्नेलाई मात्रै थाह हुन्छ।  त्यसैले उसको समस्यामाथि छलफल र सल्लाहसुझाव हुनुपर्छ।  आत्महत्याअगावै उसको समस्यामाथि साथीभाइ र घरपरिवारबाट साथ भयो भने कोही व्यक्ति आत्महत्याबाट जोगिन पनि सक्छ। ’  

विश्वमा चर्चित कलाकारले आत्महत्या गरेको सूची लामो छ।  नेपालमा पनि निर्देशक आलोक नेम्वाङ, नायिका शीर्षा कार्की, जेनिशा कार्की, गायक यम बुद्ध अनिल अधिकारी लगायतले आत्महत्याको बाटो रोजे।  

निर्देशक मनोज पण्डितका अनुसार कलाकारहरू निर्देशकबाट निर्देशित हुने भएकाले उनीहरूभित्र निर्देशित हुने अवधारणाको विकास भएको हुन्छ।  त्यसैले उसलाई अरुको अभिव्यक्तिबाट निर्देशित हुन मन पर्छ।  उनी भन्छन्, ‘अरुले प्रसंशा गर्दा प्रफुल्ल हुने, गाली र आलोचना गर्दा दुःखी हुने।  यसले जीवनमा उत्तारचढाव ल्याइदिन्छ अन्ततः आफ्नो जीवन समाप्त गर्ने गर्छन्। ’  

उनका अनुसार, कलाकारिता भावनात्मक क्षेत्र हो, अधिकांश कलाकारले भावुक निर्णय गरिरहेका हुन्छन्।  आफ्नो अस्तित्व कायम गर्न र आम मानिसले भन्दा फरक खालको संसार निर्माण गर्नेबारे उनीहरुले सोचिरहेका हुन्छन्।    

‘कलाकारले भावनामा बगेर काम गर्नुपर्छ।  आफ्नो अस्तित्व जोगाइराख्न पनि उनीहरुले भावुक ढंगले सोचिरहेका हुन्छन्,’ पण्डित भन्छन्, ‘कुन बेला भावना जाग्छ र सही वा गलत निर्णय गर्न पुग्छन्।  तर, व्यक्तित्व विकास र चारित्रिक विकासले पनि कलाकारको निर्णयमा प्रभाव पार्छ। ’

अर्का निर्देशक विनोद पौडेल पछिल्लो समय विश्वमा कलाकारिता ‘बजारमुखी’ भएकाले इच्छा आकांक्षा बढेर जाने र त्यो पूर्ति नभए तनाव सिर्जना हुँदा धेरैले आत्महत्या रोजेको बताउँछन्।  ‘कलाकार शान्त हुनुपर्ने हो।  तर अहिले ठिक उल्टो भएको छ।  आफ्ना इच्छा र आकांक्षा पूरा नहुँदा धेरै छिटै विचलित हुने गर्छन्। ’

पौडेल थप्छन्, –‘पछिल्लो समय कलाकाहरुमा स्टयाडम बढी हाबी भएको देखिन्छ।  कलाकारका लागि ‘स्टारडम’ र पैसा एक समयको लागि मात्रै हुन्छ।  उसले त्यो सधैंका लागि कायम राख्न सक्दैन। स्ट्याडम फुत्किने डरले पनि कलाकारलाई आत्महत्याको बाटो रोजेको पाइन्छ’  

निर्देशक तथा समीक्षक डा. सचिन घिमिरे ‘रिल लाइफ र रियल लाइफ फरक हुने र समाजले रिल लाइफ हेर्ने, कलाकारले पनि रियल लाइफ बिर्सेर रिल लाइफको महत्वाकांक्षा पाल्ने हुँदा मनोरोग, कुलतको सिकारको भई आत्महत्यासम्म पुग्ने’ बताउँछन्।  

घिमिरे भन्छन्–‘फिल्म उद्योग प्रतिस्प्रर्धी धेरै र साथी कम हुने क्षेत्र हो।  अधिकाशं कलाकारले प्रतिस्प्रर्धामा आफूलाई प्रथम हुने  सपना पाल्छन।  अर्को व्यक्तिगत प्रतिभा भन्दा पनि कुन खानदान वा परिवारबाट आएको आयो भन्ने कुराले महत्व राख्दछ।  यो परिपाटीले प्रतिभावन कलाकारको जीवनमा घाटा पुर्याउँछ।  यसकारण केहि कलाकारहरुले  आत्महत्या गरेको पाइन्छ।’

प्रकाशित: ६ असार २०७७ १०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App