coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खारेज कार्यालयको नयाँ भवन प्रयोगविहीन

गोरखा नगरपालिका–९ टक्सारमा प्रयोगविहीन अवस्थामा रहेको नवनिर्मित सरकारी भवन। तस्बिर : नागरिक

गोरखा नगरपालिका–९ टक्सारमा ६ महिनाअघि निर्मित सरकारी भवन प्रयोगविहीन छ। तीन करोड ६६ लाख लागतमा जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले जिल्लाबाट खारेज भएको भूसंरक्षण कार्यालयको नाममा निर्माण गरेको हो।  

भवन रेखदेख गर्ने कोही नहुँदा पातपतिंगरको थुप्रो लाग्ने, वर्षात्को पानीको निकास थुनिँदा कोठाभित्र ताल पर्ने गरेको छ। ‘भूसंरक्षण कार्यालयका लागि बनाएका थियौं, भवन निर्माण पूरा नहुँदै उक्त कार्यालय खारेज भएपछि कुन कार्यालयलाई भवन हस्तान्तरण गर्ने भन्ने अन्योल भयो,’ जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनकी प्रमुख सुनिता श्रेष्ठले भनिन्। निर्माण पूरा भएको छ महिना बितिसक्दा भवन हस्तान्तरणसमेत भएको छैन।  

भूसंरक्षण कार्यालयका नाममा रहेको १० रोपनी जग्गामा तीनतले सुविधा सम्पन्न भूकम्पप्रतिरोधी भवन रविना÷डाँफे÷ड्र्यागन जेभीले निर्माण गरेको हो। उक्त भवन एउटा कार्यालयलाई पूर्ण सेवा प्रवाह गर्न मिल्ने खालको छ। क्वारेन्टिनमा बस्नुपर्ने प्रहरीलाई त्यहाँ राख्ने भनिए पनि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वासुदेव खतिवडाले अहिलेसम्म त्यहाँ प्रहरी नबसेको बताए।  

भवन कार्यालयकी प्रमुख श्रेष्ठले उक्त भवन भू तथा जलाधार ब्यवस्थापन कार्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको बताइन्। ‘जग्गाको पुर्जा र भवन पनि सोही कार्यालयका नाममा बनेको हो, भवन विभागबाट कुनै जानकारी आएको छैन, केही दिनभित्र आउने कुरा छ, त्यसपछि हामी पुर्जा भएको कार्यालय हस्तान्तरण गर्छौं।’  

तनहुँस्थित जलाधार व्यवस्थापन कार्यालयले उक्त भवन सम्पर्क कार्यालयका रूपमा आफैंले प्रयोग गर्ने बताए पनि अन्योलबीच कार्यालय सुरु भने भएको छैन। कार्यालय प्रमुख वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले भने ‘भूकम्पमा जमिन छियाछिया भएको जिल्ला भएकाले यहाँ ‘साइड अफिस’ सञ्चालन गर्ने योजनामा छौं।’ अहिले उक्त कार्यालयले तनहुँबाट गोरखासहित नवलपुर, मनाङ, कास्की, लमजुङमा सेवा दिँदै आएको छ। मुख्यमन्त्री कार्यालयले पनि जलाधार व्यवस्थापन कार्यालयलाई उक्त भवन प्रयोग गर्न दिनू भन्ने परिपत्र गरिसकेको उनले बताए। ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले अनुमति दिन बाँकी छ,’ कार्यालय प्रमुख पौडेलले भने, ‘लमजुङ र गोरखा हेर्नेगरी त्यहाँ कार्यालय रहन्छ।

प्रकाशित: ६ असार २०७७ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App