१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२८ दिन बित्दा पनि आएन रिपोर्ट

रौतहटका दुई नगरपालिकाका क्वारेन्टिनमा रहेका केही व्यक्तिको कोरोना परीक्षण रिपोर्ट स्वाब पठाएको महिना बित्न लाग्दा समेत आइपुगेको छैन। राजपुर र गढीमाई नगरपालिकाका पाँचवटा क्वारेन्टिनमा रहेकाको स्वाब पठाएको तीनचार साता बित्दा समेत रिपोर्ट नआएको सम्बन्धित नगरप्रमुखले बताएका छन्।

राजपुर नगरपालिकाका चारवटा क्वारेन्टिनबाटस्वाब लगिएको २८ दिन बितिसकेको तर रिपोर्ट नआएको नगरप्रमुख सकिल अहमदले बताए। ‘करिब पाँच सयजनाको स्वाब पठाइएको थियो, यतिका दिन बित्दा पनि रिपोर्ट नआउँदा सबै आत्तिएका छन्’, उनले भने।

त्यस्तै गढीमाई नगरपालिकाको एउटा क्वारेन्टिनबाट स्वाब लगेको तीन साता पुगिसक्दा पनि रिपोर्ट नआएको मेयर श्यामप्रसाद यादवले बताए। गढीमाईको सरस्वती माध्यमिक विद्यालय क्वारेन्टिनमा रहेकामध्ये २२ जनाको रिपोर्ट आउन ढिलो भएको उनले जानकारी दिए। ‘कतिपयको रिपोर्ट एक साताभित्रै आइरहेको छ तर केहीको रिपोर्ट आउन यति धेरै ढिलो हुँदा क्वारेन्टिनमा बसेकाहरु आजित भइसके’, उनले भने। स्वाब नै कतै हराएको हो कि भन्ने आशंका लाग्न थालेको अहमदले बताए।

क्वारेन्टिनमा कति दिन बस्नुपर्ने हो ? आफूहरुको रिपोर्ट कहिले आउने ? अरुहरुको रिपोर्ट आउँदा पनि हाम्रो किन नआएको ? रिपोर्ट आउन ढिलो हुनेहरुका यस्ता प्रश्नले आफूहरु हैरान भइसकेको दुवै मेयरको गुनासो छ।

 

प्रकाशित: ४ असार २०७७ ००:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App