७ वैशाख २०८१ शुक्रबार
समाज

दश दिनसम्म पनि रिपोर्ट नआउँदा तनावमा थिए आत्महत्या गरेका पुरुष

मृत्युपछि मात्र काेराेना पाेजेटिभ

अर्घाखाँचीको शितगंगा ५ का देवबहादुर कोरोनाबाट बच्न हजारौ माइलको कष्टदाइ यात्रा पार गरेर जेठ १० गते स्वदेश फर्कीएका थिए । भारतको पन्जाबबाट फर्केका उनी आएकै दिनदेखि शितगंगा ५ को हरि माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेका हुन ।

क्वारेन्टिनमा बसेको १४ दिनमा गरीएको आरडिटी टेष्टमा रिपोर्ट पोजेटिभ आयो । उनी सहित अन्य ३ जनाको रिपोर्ट पोजेटिभ आएपछि जेठ २३ गते नै थ्रोट स्वाब झिकी २४ गते परीक्षणका लागि भैरहवा पठाइयो । क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीका अनुसार त्यती बेलासम्म उनी धैर्य नै देखिन्थे । तर स्वाब झिकेको हप्ता/दश दिनसम्म पनि रिपोर्ट नआएपछि तनाव झेल्न नसकेको गुनासो उनले खाना लिएर आउने परिवारका सदस्य तथा आफन्तसंग गरीरहन्थे ।

अन्तत रिपोर्ट नआउदै बुधबार बिहान उनले आत्महत्या गरे । उनले आत्महत्या गरेपछि पनि रिपोर्टको ढिलाइकै कारण दिनभर शव व्यवस्थापन हुन सकेन । जसका कारण बिहान झिसमिसेमै भेटिएको शव दिनभर रुखमा झुण्डि रह्यो । रुखमा झुण्डिएको शव दिनभर त्यतीकै राख्दा बालबालिका र बृद्धबुद्धालाई त्यसले मानसिक तनाव दिएको सोही वडाका एक जना जनप्रतिनिधिले बताए । 

‘आरडिटी पोजेटिभ आएको र पिसिआर रिपोर्ट नआइसकेको अवस्थामा सुरक्षाका जवान कोही पनि नजिक पर्न सकेनन्’ ती जनप्रतिनिधिले भने । प्रदेश र केन्द्रका मन्त्री, नेता तथा सांसदलाई गुहारेपछि बल्ल अपरान्ह ४ बजेतीर रिपोर्ट आएको ती जनप्रतिनिधिले बताए ।

१२ दिनपछि आएको देवबहादुरको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखियो । कोरोना पोजेटिभ देखिएपछि कार्यविधि अनुरुप शव व्यवस्थापनको तयारी गरेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए ।  

त्यसअघि भारतमै छदाँ लामो लकडाउनका कारण रोजगारी गुमाएपछि देवबहादुरले कयौ रात सडकमै बिताएका थिए । त्यतीबेलै उनले फोनमा परिवारसग बसेर रुखोसुखो जे भएपनि एक छाकसँगै खाने इच्छा व्यक्त गरीरहन्थे । बाबु छोरा, छोरी र श्रीमतीलाई नभेटि मरिन्छ की भनेर चिन्ता गरीरहन्थे । भारतमा लकडाउन खुकुलो भएपनि बाच्ने आशा बोकेर उनी घर फर्कीए । कोरोनाबाट आफू र परिवारलाई जोगाउन भन्दै २४ दिनसम्म क्वारेन्टिनमा बसे ।  

आरडिटी रिपोर्ट पोजेटिभ आयो । त्यसपछि पठाइएको स्वाबको रिपोर्ट धेरै दिनसम्म नआएपछि देवबहादुर आत्तिन थाले । मंगलबार साँझ पनि उनले परिवारसंग फोनमा कुराकानी गरेपछि चिन्तित देखिएको उनीसगै क्वारेन्टिनमा बसेकाले प्रहरीलाई बताएका छन् । वडा नं. ५ का वडाध्यक्ष कमल पौडेलका अनुसार बेलाबेलामा जनप्रतिनिधि, स्वयमसेवक र स्वास्थ्यकर्मीले नआत्तीन सम्झाइ बुझाइ गरेपनि बुधबार अचानक नराम्रो घटना घटेको बताए ।

‘समयमै रिपोर्ट आइदिएको भए लामो दोधारमा बस्नु पर्थेन । आइसोलेसनमा लगेर उपचार सुरु गरिन्थ्यो घटना घट्थेनकी भन्ने लाग्छ’ वडाध्यक्ष पौडेलले भने । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पनि पिसिआर रिपोर्ट आउन ढिलाइ हुँदा क्वारेन्टिनमा बस्नेहरुमा नैरास्यता र आक्रोस बढेको बताए । 

‘बरु कोरोना पोजेटिभ, नेगेटिभ जे भएपनि त्यही अनुरुप आफूलाई तयार गर्छौ, रिपोर्ट छिटो दिनुस । हामीलाई दोधारमा नराख्नुस तनाव भयो भनेर क्वारेन्टिनमा बस्नेहरुले हामीसंग बारम्बार गुनासो गरीरहन्छन्’ प्रजिअ पौडेलले भने । रिपोर्ट आउन ढिलाइ भएकै कारण भारतबाट फर्केकाहरुलाई महिना दिनसम्म क्वारेन्टिनमै बस्नु पर्ने बाध्यता रहेको त्यसले नकारत्मक प्रभाव पारीरहेको प्रजिअ पौडेलको भनाइ छ ।

प्रदेश प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीले भने आफूहरुले परीक्षणमा जानजान ढिलाइ नगरेको बताए । प्रयोगशालाको क्षमता भन्दा धेरै नमुना थुप्रिदा समस्या भएको उनको भनाइ छ । ‘दैनिक २ सय नमुना परीक्षण गर्ने क्षमताको ल्याव छ । तर नमुनाको चाङ ठूलो छ । बुधबारसम्म १७ सय बढी नमुना थुप्रिएका छन ’ डा गिरीले भने । डा. गिरीका अनुसार बुधबार मृतकसगै अर्घाखाँचीका ९७ जनाको पिसीआर रिपोर्ट कोरोना पाजेटिभ आएको छ ।

प्रकाशित: ३ असार २०७७ १५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App