coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वरिष्ठ पाइलटलाई बेवास्ता गर्दै कारवाहीमा परेका पाइलटको बढुवा

रवीन्द्र कुमार शेरचन

सिनियर क्याप्टेनहरुलाई बेवास्ता गर्दै जुनियरलाई नेपाल वायुसेवा निगमले दशौं तह (निर्देशक)को पद सुम्पिएपछि सिनियर क्याप्टेनहरुले विरोध गरेका छन्।  यसअघि उडान भर्दा आर्थिक अपचलन गरी निगमकै कारबाहीमा परेका क्याप्टेन रवीन्द्र कुमार शेरचनलाई जेठ १६ गते माथिल्लो पद (निर्देशक)को जिम्मेवारी सुम्पिइएको हो।  

उनीभन्दा सिनियर क्याप्टेन दीपकनरसिंह राणा, राकेश राणा, महेश्वरमान डंगोल, समज कुमार श्रेष्ठ हुन्।  तर,अन्य चार जना सिनियर पाइलटलाई बेवास्ता गर्दै शेरचनलाई अघि बढाएपछि अरु पाइलटहरुले त्यसको चर्को विरोध गरेका छन्।  आफूभन्दा जुनियरलाई माथिल्लो पदमा बढुवा गरेको भन्दै निगमका कर्मचारीले जेठ २० गते त्यसको विरुद्दमा कार्यालयमा निवेदन समेत दिएका थिए।  यसबाहेक शेरचनसँगैका अन्य योग्य दाबेदार प्रदिपराज भण्डारी, श्यामकृष्ण ढेवाजु, सोनी राणा र सुवास रिजाल पनि हुन्।  

सिनियर क्याप्टेन दीपकनरसिंह राणाले आफूभन्दा जुनियरलाई माथिल्लो पद दिएर आफूहरुलाई निरुत्साहित पार्ने कार्य भइरहेको बताए।  उनले भने, ‘शक्ति छ भन्दैमा पालो मिच्नु राम्रो होइन, हाम्रो पनि बढुवा हुनुपर्छ। ’ उनका अनुसार दशौं तहको रित्त रहेको पदको लागि कार्यालय बन्द भएको बेला गोरखापत्रमा सूचना जारी गरिएको थियो।  उक्त सूचनाबारे अन्य क्याप्टेनहरुले जानकारी नै पाएनन्।  यसबाहेक आन्तरीक बढुवा गर्दा कार्यालयको सुचना पार्टीमा सुचना टास्नुपर्ने हुन्छ।  तर, शेरचनलाई बढुवा गर्दा सूचना पार्टीमा सूचना त टासिँएन नै निगमको वेबसाइटमा समेत उक्त सूचना राखिएको छैन।  

सिनियर क्याप्टेन राकेश राणाले सूचना निकाल्दा आफूहरुलाई जानकारी नभएको बताए। ‘हरेक कार्यालयमा सिनियर र जुनियरको मयार्दाक्रम हुन्छ, तर, हामीमाथि अन्याय भएको छ,’ राणाले भने, ‘यसले हामीलाई निराश बनाएको छ, होइन भने हाम्रो पनि बढुवा हुनुपर्छ। ’ उनका अनुसार यसअघि पटक–पटक कारबाहीमा परेका शेरचनलाई थप जिम्मेवारी र पद दिएपछि राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगम (नेवानि) को छवीमाथि नै प्रश्न उब्जिएको छ।  स्रोतका अनुसार निगमका अपरेसन विभागका निर्देशक र मानव संशाधन विभागका निर्देशकको मिलोमत्तोमा शेरचनलाई दशौं पदमा नियुक्ति गरिएको हो।  ‘त्यति धेरै अनियमितता गर्नेलाई राज्यका निकायले नै संरक्षण गर्नु राम्रो होइन, दुईजना व्यक्तिको मिलोमत्तोमा शेरचनलाई दशौं तहमा नियुक्ति गरिएको हो, सिमित व्यक्तिको लागि फाइदा पुगेपनि निगम र देशलाई यो घाटाको विषय हो,’ निगमका एक कर्मचारीले भने।  

क्याप्टेन प्रदीपराज भण्डारीले यस्तोखाले षडयन्त्रपूर्वक कार्यले निरुत्साहित पारेको बताए।  उनले निगमले सिनियर कर्मचारीको कदर गर्न नसकेको जानकारी दिए।  उनले भने, ‘हामीलाई थाहा नै नदिई एक जनालाई षडयन्त्रपूर्वक सरुवा गरियो, यसमा गम्भीर आपत्ति छ। ’

शेरचनलाई यसअघि निगमले कारबाही पनि गरेको थियो।  यसअघिका अनेकौं बदमासी र पदको दुरुपयोग गरेको तथ्यहरुको ठेली नै छ।  उसलाई कारबाहीपछि पनि यसअघि महत्वपूर्ण मानिने जहाज सञ्चालन (अपरेसन) विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो।  उनले जहाज उडाउँदा तोकिएको क्षमताभन्दा बढी तौल बोकेको र आर्थिक अनियमितता गरेको तथ्य प्रमाण सुरक्षित छन्।  ती विषयका समाचार नागरिकले प्रकाशन पनि गरेको थियो।  तर, पटकपटक बदमासी गरी कारबाहीमा परेका शेरचनलाई निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले महत्वपूर्ण जिम्मेवारी दिँदै अघि सार्दै आएका थिए।  

शेरचनले यसअघि सम्हाल्दै आएको विभागले जहाज सञ्चालनको सबै काम गर्छ। जसका कारण पनि शेरचनले आफूखुशी ठूलो संस्थामाथि हालिमुहाली मात्रै गरेका छैनन् अनियमितताको दाग लगाउने काम गरेका छन्।  हालका कार्यकारी अध्यक्ष सुशील घिमिरेले यस बारेमा आफूलाई जानकारी नभएको बताए।  घिमिरेले दैनिक पत्रिकामा विज्ञापन छापिएछि अरु कसैले दर्खास्त नदिएकाले उनलाई नियुक्ति गरिएको बताए।  उनले भने, ‘यसमा त्यस्तो पूर्वाग्रह छ जस्तै लाग्दैन, एउटा पदको लागि उहाँको मात्रै दरखास्त परेको थियो, यसबारेमा मलाई भित्री जानकारी छैन। ’ उनले आफू भर्खर–भर्खर निगमको पद सम्हालेका कारण विगतका विषयमा अध्ययन नगरेको बताए।  

शेरचनले आफूले रकम लिन जहाजलाई तोकिएको क्षमताभन्दा बढी सामान बोकाउने गरेका छन्।  यस्तो तथ्यलाई हेर्दा एकातिर आर्थिक अपचलन हुने र अर्कोतिर दुघर्टना हुने जोखिम हुन्छ। अन्तर्राष्ट्रिय हवाई उडानसम्बन्धि नीतिले पनि यस्तो गर्दा उच्च जोखिम हुने भन्दै यसो गर्नेलाई हवाई अपराध मानेको छ।  तर, करोडौं ठग्ने गरी भएको हवाई अपराधको छानबीन सरकारले गर्न सकिरहेको छैन।  

उनीभन्दा सिनियरलाई छाडेर जुनियरलाई माथिल्लो पदमा नियुक्ति गरेपछि निगमका कर्मचारीले नै आपत्ति जनाएका छन्।  ‘त्यतिका बदमासी गरेका प्रमाण हुँदाहुँदै पनि निगमले झन् बढी जिम्मेवारी सुम्पिएका छ, यो राम्रो होइन, अरु कर्मचारी नै नभएको जस्तो एउटै व्यक्तिलाई मात्रै अघि बढाउनु राम्रो होइन,’ निगमका एक कर्मचारीले भने।  ती कर्मचारीका अनुसार शेरचनले यसअघि जानाजान धेरै गल्तीहरु गर्दै आइरहेका थिए।  ती गल्तीहरुको सही तरीकाले मुल्यांकन भएको भए हालसम्म उनको पद च्युत हुनेथियो।  तर, कार्यालयकै केही व्यक्तिको आडमा उनले झन् माथिल्लो पद ओगटेका छन्।  यसले अन्य कर्मचारीको मनोबल पनि गिराएको छ।  

हवाई अपरेसन म्यानुअलको प्रावधानलाई बेवास्ता गरेर जहाजको क्षमताभन्दा बढी वजन बोकेर उक्त वजनको भाडा खाएको प्रस्ट हुँदाहुँदै पनि कारबाही गर्न सकिरहेको छैन।  तर, पाइलट शेरचनले निगमलाई थाहा नदिई जहाजको क्षमताभन्दा बढी वजन बोकेर त्यसबापत आउने भाडा आफ्नै खल्ती भरेका थिए।  

यसअघि आन्तरीक उडान हुम्लाको सिमिकोट उडान गर्दा जहाजमा गैरकानुनी रुपमा सामान ओसारपसार गरेको भन्दै उनीमाथि उजुरी परेर परेको थियो।  राष्ट्रिय सतर्कता केन्द्रले पनि उनीमाथि कारबाही गर्न भनेको थियो। २०६८ मा उनले फाप्लु विमानस्थलमा बढी वजन भएको जहाज ल्याण्ड गरेका थिए।  जहाज ल्याण्ड गरेको जानकारी पाएपछि प्राधिकरणले उनलाई कारबाही गरेको कागजपत्र पनि सुरक्षित नै छन्।  

त्यसवखत अबआइन्दा यस्तो कार्यमा संलग्न नरहन चेतवानी दिइएको थियो।  त्यसबेला उनीमाथि एक हजार रुपैयाँ जरिवाना चार्ज लिइएको थियो।  शेरचन हाल एयरबस ए ३२० का पाइलट छन्। शेरचन एयरबस ३२० को क्याप्टेन तालिममा फ्रान्समा असफल भएर फर्किएका पाइलट पनि हुन्।  

दशौं तहमा बढुवा भएका क्याप्टेन शेरचनले कार्यालयको पदपूर्ति समितिले आफूलाई बढुवा गरेको बताए।  उनले आफूले दिएको दरखास्तको आधारका स्वस्फूतः तरीकाले बढुवा भएको दाबी गरे।  ‘दशौं तहमा बढुवा भएपछि कार्यालय गएको छैन, केहीले विरोध गर्दै निवेदन दिएको सुनेको छु’ उनले भने।  

शेरचनले यस्ता गल्ती गरेका थिए विगतमा  

 झन्डै १० वर्षअघि हुम्लाको सिमिकोट उडान गर्दा जहाजमा गैरकानुनी रुपमा सामान ओसारपसार गरेको।  

 २०६८ मा उनले फाप्लु विमानस्थलमा बढी वजन भएको जहाज ल्याण्ड गरेको।  

 बढी वजन बोकेको जहाज ल्याण्ड गरेको जानकारी पाएपछि प्राधिकरणले उनलाई कारबाही गरेको, यसका कागजपत्र पनि सुरक्षित नै छन्।  

 अपरेसन विभागका निर्देशक हुँदा दुबईमा उडान कर्मचारीको लागि ५ स्टार होटल भनि ४ स्टारमा लगेर राखेको, जसमा १ करोडभन्दा बढी भ्रष्टाचार गरेका थिए।  

 प्राधिकरणको हवाई उडान सुरक्षा निर्देशनको पूर्ण पालना नगरी जथाभावी उडान भरेको।  

 आन्तरीक उडानबाट अन्तर्राष्ट्रिय उडानको लागि तालिम हुँदा पुरानो विमान बोइङ ७५७ तथा नयाँ विमान एयरबस ए ३२० पहिलो चरणमा फेल भएको।  

 पत्रपत्रिका तथा सञ्चारमाध्यममा समाचार आएपछि पनि उनीमाथि छानबीन र कारबाही नभएको,

 राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान गर्दा होटल बुकिङमा भ्रष्टाचार भएको पुष्टि गरी कारबाहीको लागि सिफारिस गरेपनि नीजलाई कुनै कारबाही नभएको।    

 

प्रकाशित: ३ असार २०७७ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App