४ वैशाख २०८१ मंगलबार
समाज

उदयपुरमा १ सय बेडको कोरोना अस्पताल बन्ने

कोविड अस्पतालको सिल्यान्यास गर्दै त्रियुगा, चौदण्डीगढी र बेलका नगरप्रमुखहरु । तस्विरः महेश्वर

नेपालमा सुरुवाती चरणमै कोरोना भाईरस (कोविड–१९) का ३२ संक्रमित उदयपुरमा देखिएर त्रसित बनाएको जिल्लाबासीले उदयपुरमै कोरोना अस्पाल खोल्न गरेको माग पुरा हुने भएको छ । वैशाख पहिलो सातादेखि अन्तिमसम्ममा त्रियुगा नगरपालिका ३ को भुल्केस्थित नुरी मस्जिदका जमातिसहित स्थानीय गरी ३२ मा कोरोना भेटिएपछि उदयपुरमै अस्पताल खोल्नुपर्ने माग स्थानीयतहहरुले गरेका थिए ।  

त्रियुगा नगरपालिकाले सदरमुकामकै जिल्ला अस्पतालमा आईसियु र भेन्टीलेटर राखेर कोरोना उपचार गर्ने व्यवस्थाको माग गरे पनि प्रदेश र संघीय सरकारले बेवास्ता गरेपछि स्थानीयतहहरु आप्mनै पहलमा कोविड अस्पताल खोल्ने निश्कर्षमा पुगेका हुन् । जस अनुसार चौदण्डीगढी ६ को सातधारेस्थित द्वारखोला किनारमा निर्माणाधीन सशस्त्र प्रहरी बलको व्यारेक क्षेत्रमा अस्पताल बनाउन सिल्यान्याससमेत गरिएको छ । अस्पताल भवनको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका प्रमुखहरुले तीनदिनअघि सामुहिक सिल्यान्याससमेत गरिसकेका छन् । अस्पताल बनाउन आगामी आर्थिक वर्षको बजेट तर्जुमाको चरणमा रहेका ४ नगरपालिकासहित ८ वटै स्थानीयतह सबैले १ करोड रकम विनियोाजन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । एकसय शैय्याको ‘उदयपुर कोभिड अस्पताल’ निर्माण गर्न जिल्लाका सबै नगरपालिकाले न्यूनतम १५ लाख र गाउँपालिकाहरुले १० लाखका दरले बजेट छुट्याउने भएका छन् । जिल्लाका सबै स्थानीयतहको छाता संगठन ‘उदयपुर विकास बोर्ड’ मार्फत सो रकम जम्मा गरेर अस्पताल बनाइने भएको छ ।  

तत्काललाई २० शैय्याको आईसोलेशन वार्डसहितको कोभिड अस्पताल निर्माण गर्ने गरी सिल्यान्यास गरिएको उदयपुर विकास बोर्डका अध्यक्षसमेत रहेका त्रियुगा नगरप्रमुख बलदेव चौधरीले बताए । मेयर चौधरीले उदयपुर वैशाखभरी देशकै ‘कोरोना इपिसेन्टर’ भएका बेला उपचार सहज गराउन आफुले धेरैपटक प्रदेश र संघीय सरकारलाई जिल्लामै अस्पताल खोल्न आग्रह गरे पनि चासो नदिएपछि आफै मिलेर खोल्ने सहमति जुटाएको बताए । उनले जिल्लामै अस्पताल भएमा धरान, विराटनगर र काठमाडौंको मुख ताक्नु नपर्ने बताए । स्थनीयतहको यो प्रयासलाई प्रदेश र संघीय सरकारसँग पनि सक्दो सहयोग माग्ने, नपाए स्थानीयतहकै बजेटबाट दुईवर्षभित्र अस्पताल बनाईसक्ने प्रतिबद्धता उनको छ ।

बोर्डका सचिव तथा बेलका नगरप्रमुख दुर्गाकुमार थापाले स्थानीयतहहरु मिलेर काम गर्न सके जिल्लामा धेरै यस्ता महत्वपूर्ण विकास निर्माणका काम गर्न सकिने बताए । त्यसको उदाहरण पेश गर्न पनि कोविड अस्पताल बनाउनुपर्नै थापाले बताए । विकास बोर्डको गठन यस्ता महत्वपूर्ण विकासका काम गर्नकै लागि भएको भन्दै उनले तत्का कोरोना उपचारका लागि अत्यावश्यक अस्पताल आफ्नै जिल्लामा बनाउन सके नागरिकलाई धेरै सहज हुने बताए ।  

चौदण्डीगढी नगरप्रमुख तथा बोर्ड सदस्य खगेन्द्र राईले जिल्लाबासीलाई कोरोना उपचार गर्न अस्पताल अत्यावश्यक भएकाले सशस्त्र प्रहरी बलको निर्माणाधीन क्याम्पको जमिन अस्पताल बनाउन उपलब्ध गराएको बताए । बोर्डको कोषमा ४ वटै नगरपालिकाले १५–१५ लाख र ४ गाउँपालिकाले १०–१० लाख विनियोजन गर्दा हुनआउने एककरोड रुपैंयाले कोभिड अस्पताल निर्माण थाल्ने उनले बताए । जिल्लामै अस्पताल भएपछि उपचार पाउन स्थानीयलाई सहज हुने भएकाले सबै स्थानीयतह मिलेर काम थालेको उनले बताए ।  

तत्काल २० शैय्या बनाएर कोरोना उपचारमा केन्द्रित गर्ने भए पनि भविष्यमा बहुउपयोगी स्वास्थ्य संस्थामा अस्पतललाई रुपान्तरण गरिने योजना रहेको मेयर राईले बताएका छन् ।सशस्त्र प्रहरीलाई व्यवस्थित गर्न आर्थिक वर्ष ०७४/७५ मा नगरपालिकाको ५० लाखबाट निर्मित शौचालयसहित ४ वटा ब्लकलाई हाल क्वारेन्टाईनमा परिणत गरिएको छ । त्यसअघि ३ वटा ब्लक सशस्त्र प्रहरीले प्रयोगमा ल्याएको थियो भने एउटा बेलटार अस्पतालका कर्मचारीको आवास थियो । ट्रस्ट प्रविधिका ती भवनलाई अव नक्शा परिवर्तन गरी पक्की भवनको संरचना थप्ने प्राविधिक इस्टीमेट बनाइएको छ । अस्पताल निर्माणबारे प्रदेश र संघीय सरकारलाई जानकारी गराउँदै आवश्यक बजेट र प्राविधिक सहयोगको आग्रहसमेत गरिएको मेयर राईले बताएका छन् ।  

चौदण्डीगढी ६ का वडाध्यक्ष कमल राईले बजार र मानवबस्तीभन्दा टाढा जंगल छेउमा रहेको सो ठाउँ मदन भण्डारी लोकमार्गसँग जोडिएको हुनाले कोविड अस्पताल बनाउन अनुकुल ठाउँ रहेको बताए । उनका अनुसार सबभन्दा नजिक ५/७ सय मिटरको दुरीमा रहेको बेलटारको अगुवा शिक्षणसंस्था जनज्योति क्याम्पसका विद्यार्थीलाई भविष्यमा सो अस्पताल अध्ययन अनुसन्धान थलो बनाउन सकिनेछ। 

प्रकाशित: २ असार २०७७ ०७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App