८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

वार्ताबाट समाधान खोज्छौं: राजनाथ

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतबीच उत्पन्न विवादलाई वार्ताको माध्यमबाट समाधान खोज्ने बताएका छन्। उत्तराखण्डको भर्चुअल ¥यालीलाई सम्बोधन गर्दै उनले लिपुुलेकमा सडक निर्माण गरेकामा नेपालमा कुनै भ्रम भए यसको समाधान मिलेर बसेर निकाल्ने बताएका छन्। ‘हामीले वार्ताका माध्यमबाट त्यसको समाधान निकाल्छौं,’ उनले भनेका छन्।  

उनले भारत–नेपालबीचको सम्बन्ध सामान्य नभएको उल्लेख गर्दै दुई मुलुकबीच रोटी–बेटीको सम्बन्ध रहेको बताए। ‘दुनियाँको कुनै तागतले यो सम्बन्धलाई तोड्न सक्दैन। तर म विश्वासका साथ के भन्न चाहन्छु भने भारतमा रहने मानिसमा कहिले पनि नेपाललाई लिएर कुनै कटुता हुनै सक्दैन। हाम्रो यति गहिरो सम्बन्ध नेपालसँग छ।’  

नेपालसँग सामाजिक सांस्कृति र ऐतिहासिक सम्बन्ध मात्र नभएर आध्यात्मिक सम्बन्ध पनि भएको बताएका छन्। यस सत्यतालाई भारतले कहिले पनि भुल्न नसक्ने उनले बताएका छन्। ‘बाबा पशुपतिनाथलाई हामीले कसरी भुल्न सक्छौं ? बाबा पशुपतिनाथ या भारतमा काशी विश्वनाथ, सोमनाथ सबैलाई अमरनाथसँग कसले अलग गर्न सक्छ ?’ उनले भनेका छन्।  

नेपालसँगको सम्बन्ध यो लोकको नभएर अर्कै लोकको भएको भन्दै उनले कसैले चाहेर पनि यसलाई परिवर्तन गर्न नसक्ने बताए। ‘हाम्रोमा गोर्खा रेजिमेन्ट छ, गोर्खा रेजिमेन्टले बेलाबेलामा आफ्नो सौर्य र पराक्रमको परिचय दिएको छ। गोर्खा रेजिमेन्टको पनि उद्घोष छ, जय महाकाली आयो गोर्खाली। महाकालीका भक्त भारतका विभिन्न ठाउँमा छन्, त्यसैले कसरी नेपाल–भारतबीचको सम्बन्ध छुट्न सक्छ ?’ उनले भनेका छन्।  

सिंहले गत मई ८ मा नेपालको भूभाग लिपुलेक हुँदै निर्माण गरेको सडक भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि उत्पन्न विवादपछि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा सार्वजनिक गरिसकेको छ। भारतले गत नोभेम्बरमा ती भूभागमा आफ्नो नक्सामा राखेपछि नेपालले त्यसको विरोध गर्दै कूटनीतिक नोटसमेत पठाएको थियो। नेपालले भारतलाई वार्ताका लागि गरेको प्रस्तावसमेत बेवास्ता गर्दै भारतले लिपुलेकको सडक निर्माण र उद्घाटन गरेपछि दुई मुुुलुकबीच विवाद चर्किदै गएको हो। नेपालले नक्सा सार्वजनिक गरेपछि भने भारतीय नेतृत्वले वार्तामा जोड दिँदै नेपालसँगको सम्बन्धलाई सुमधुर बनाउनेमा जोड दिन थालेका छन्।  

लिपुलेकबारे नेपालमा चर्काे विरोध भएपछि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेले नेपालले चिनियाँ स्वार्थमा उक्त विषय उठान गरेको बताएपछि विवादमा तानिएका थिए। तर नेपालले नयाँ नक्सालाई निसानछापमा राख्न सर्वसम्मतले संविधान संशोधन गरेकै दिन उनले नेपाल–भारत सम्बन्ध मजबुत रहेको बताएका थिए। उनले नेपालसँग भारतको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्ध भएको बताए। उनले जनताको तहमा पनि दुई मुलुकबीचको सम्बन्ध बलियो रहेको बताउँदै उनले आगामी दिनमा पनि यो सम्बन्ध बलियो रहिरहने बताएका थिए। 

प्रकाशित: २ असार २०७७ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App