coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पक्राउ परेका भारतीय फिर्ता गरेपछि दसगजाबाट उठ्यो शव

राइफल खोसेको अभियोगमा सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका भारतीय नागरिक नागरिक ४५ वर्षीय ललन भन्ने नवलकिशोर रायलाई छाडेसँगै भारतीय पक्षले शनिबार बिहान दसगजाबाट मृतकको शव उठाएका छन्।  

शनिबार बिहान ५ बजे सुरक्षा अधिकारी, स्थानीयलगायत भारतीय पक्षले पर्सा नगरपालिका–३, नारायणपुर नाकास्थित दसगजाबाट भारतीय मृतकको शव उठाएर लगेका हुन्। सशस्त्र प्रहरीको गोली प्रहारबाट शुक्रबार बिहान मृत्यु भएका भारतीय नागरिक २७ वर्षीय विकेशकुमार रायको शव राखेर भारतीय सुरक्षा अधिकारीसहित स्थानीय बासिन्दा शुक्रबार साँझ साँढे ५ बजेदेखि रातभर दसगजामा धर्ना दिएर बसेका थिए।  

दसगजास्थित घटनास्थलमै नेपालतर्फबाट पनि रातभर नेपाल प्रहरीका सर्लाही प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठसहित सुरक्षा अधिकारीहरू बसेका थिए। प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी भने राति अबेरमात्र उक्त क्षेत्रमा गएका थिए।  

भारतीय पक्षबाट सुरक्षा अधिकारीहरूमात्र आएकाले प्रजिअ जिसी भने घटनास्थलमा नपुगी नारायणपुर गाउँमै बसिरहेका थिए। भारतीय पक्षसँग बिहान ५ बजे कुरा मिलेको प्रजिअ जिसीले जानकारी दिए।

‘रातभरी घटनास्थलमै बसेका थियौं, बिहान पाँच बजेमात्र कुरा मिलाएर फर्किएका हौं’, प्रजिअ जिसीले नागरिकसँग भने, ‘हामीले नियन्त्रणमा लिएका भारतीय नागरिक जिम्मा लगायौं अनि उनीहरू शव लिएर गए।’ लिखित पत्रका साथ नियन्त्रणमा रहेका भारतीय नागरिकलाई उनीहरूको जिम्मा लगाइएको प्रजिअ जिसीले बताए।

सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार शुक्रबार बिहान भारतीय समूहले आक्रमण गरेपछि भएको झडपका क्रममा सशस्त्र प्रहरीले गोली प्रहार गर्दा भारतीय नागरिक रायको मृत्यु भएको थियो भने थप दुईजना गोली लागेर घाइते भएका थिए।

नेपालतर्फ नारायणपुर नाकाअन्तर्गत भारतीय सीतामाढी जिल्ला दरबार लालबन्दी गाउँबाट आएको भारतीय समूहसँगको झडपका क्रममा सीमामा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले आत्मरक्षाका लागि गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ। छातीमा गोली लागेका रायको भारतीय स्वास्थ्य केन्द्रमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएको छ।  

त्यस्तै, गोली लागेर भारतीय नागरिक १९ वर्षीय उमेश राम र ३२ वर्षीय उदय ठाकुर घाइते भएको र उनीहरूको भारतीय स्वास्थ्य संस्थामै उपचार भइरहेको जानकारी आएको सशस्त्र प्रहरीले जनायो। त्यस्तै आक्रमणका क्रममा सीमाक्षेत्रमा खटिएका एक सशस्त्र प्रहरीको हतियार (एसएलआर) खोस्ने भारतीय नागरिक ४५ वर्षीय ललन भन्ने नवलकिशोर रायलाई सशस्त्र प्रहरीले खोसिएको हतियार सहित नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ।  

स्रोतका अनुसार भारतीय सुरक्षा अधिकारीले दिउँसैदेखि सशस्त्र प्रहरीले समातेका आफ्ना नागरिक छाड्न दबाब दिइरहेका भए पनि नेपाली पक्षले छाड्न मानेको थिएन। दिनदहाडै सीमामा खटिएका सुरक्षाकर्मीमाथि कुटपिटसहित हतियार नै खोस्नेलाई त्यसै छाड्न नसकिने भन्दै नेपालतर्फका जिल्लास्थित उच्च सरकारी नेतृत्वले अडान लिइरहेको थियो। रातभरको छलफलपश्चात भने नेपाली पक्षले आफ्नो नियन्त्रणमा रहेका रायलाई बिहान भारतीय पक्षको जिम्मा लगाएको थियो।  

भारतीय पक्षले पनि मृत्यु र घाइतेलगायत घटनाका विषयलाई थप अगाडि नबढाउने भद्र सहमति गरेको एक सुरक्षा अधिकारीले जानकारी दिए। भारतीय सुरक्षा अधिकारीहरूले शुक्रबार दिनभर दसगजा क्षेत्रमै गोलीका खोका खोज्नेलगायत काम गरिरहेका थिए। उनीहरू दसगजाभन्दा भित्र नेपाली भूमिमा भन्दा पनि दसगजामै गोली प्रहार भएको र आफ्ना नागरिकको मृत्यु एवं घाइते भएको प्रमाणित गराउन लागिपरेका थिए। तर त्यस्तो प्रमाण नभेटेपछि उनीहरू पक्राउ परेका आफ्ना नागरिकलाई छुटाउनतर्फ लागेको एक सुरक्षा अधिकारीले जानकारी दिए।

 

प्रकाशित: ३२ जेष्ठ २०७७ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App