७ वैशाख २०८१ शुक्रबार
समाज

दशकौंदेखि प्रयोगविहीन भवनमा आइसोलेसन केन्द्र

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा स्थापना गरिएको आइसोलेसन केन्द्र । तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा रहेको दशकौं पुरानो भवन । तत्कालिन नेपाल औद्योगिक विकास निगमको उक्त भवन माओवादी सशस्त्र द्धन्द्ध पश्चात प्रयोगविहीन हुँदै आएको थियो ।

 हाल राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको उक्त भवनलाई आइसोलेसनमा प्रयोग गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समितिले भवनमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । जीर्ण अवस्थामा रहेको उक्त भवनलाई जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समितिले मर्मत सम्भार गरेर प्रयोगमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले बताए ।  

जिल्लामा रहेका अन्य आइसोलेसन भन्दा यो फरक खालको भएको उनको भनाई छ । उक्त आइसोलेसनको क्षमता २५ बेडको रहेको छ । आइसोलेसनमा लक्षण नदेखिएका कोरोना भाइरसका पोजेटिभ ब्यक्तिलाई ल्याएर राखिने प्रजिअ कुरुङवाङले प्रष्ट्याए । ‘अरु पालिकाहरुले बनाएको आइसोलेसनमा समस्या छन्, तर यहाँ सबै कुराको ब्यवस्थापन गरिएको छ,’ उनले भने ‘तीन वटै निकायका सुरक्षाकर्मी तथा चिकित्सक र स्वास्थ्यकर्मी चौबिसै घण्टा यहाँ उपलब्ध हुन्छन् ।  

आइसोलेसन स्थापनाका लागि राष्ट्रिय बाणिज्य बैंकसँग अनुमति लिएर बिद्युत, खानेपानी, इन्टरनेट सेवा जडान गरिएको र झ्याल तथा ढोका मर्मत पनि गरिएको प्रजिअ कुरुङवाङले जानकारी दिएका छन् । आइसोलेसनको सम्पुर्ण खर्च ब्यवस्थापन जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समितिले नै गर्ने भएको छ । जीर्ण भवनलाई नेपाली सेनाले दुई दिनमै मर्मत गरेर प्रयोग गर्न लायक बनाएको हो । कोरोना भाइरस पोजेटिभ ब्यक्तिलाई लक्षित गरेर बाँकेमा अहिलेसम्म विभिन्न १३ स्थानमा आइसोलेसन स्थापना गरिएको छ ।  

स्वास्थ्य कार्यालय बाँकेको पछिल्लो तथ्यांक अनुसार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा २८, लायन्स डेन्टल अस्पताल नेपालगन्जमा ५, कृषि विकास बैंक तालिम केन्द्र पिपरीमा ४, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरामा ८, शिवशक्ती मावि पेरानीमा २, राप्तीसोनारी ७ स्थित नेरा मावि सर्रीमा २०, शाहपुर्वा आ.मावि डुडुवामा १५, डुडुवाकै सन्तलिया प्राविमा १०, बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा ७, जानकी १ स्थित जोगागाउँ माविमा ४१ गरी कुल १ सय ४० जना संक्रमित बसिरहेका छन् ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App