coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

संक्रमणको इपिसेन्टर बन्ने खतरामा क्वारेन्टिनहरू

अत्यधिक भीडले गर्दा रौतहटका क्वारेन्टिनहरू कोरोना भाइरसको संक्रमणको इपिसेन्टरको रुपमा विकास हुने खतरा रहेकोमा स्थानीयहरू चिन्ता व्यक्त गर्न थालेका छन् । स्वाब संकलन गरिएको दुई हप्तासम्म पनि रिपोर्ट नआउँदा संक्रमित र असंक्रिमतबीच क्वारेन्टिनमा भइरहेको सामान्य व्यवहारले क्वारेन्टिन नै संक्रमणको इपिसेन्टर बन्ने खतरा रहेको आशंका गरिन थालिएको हो ।

बुधबारसम्म रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या ४७४ पुगेको छ । स्वाब संकलन गरिएका ४ हजार ४४५ जनाको रिपोर्ट अझै आउन बाँकी छ । जिल्लाका पाँच दर्जनभन्दा बढी क्वारेन्टिनमा ७ हजार ९५५ जना रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् ।

बुधबारमात्र रौतहटमा ५३ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये कटहरिया नगरपालिकामा दुई, ईशनाथ र राजपुर नगरपालिकामा १४÷१४ र गौर नगरपालिकामा २३ जना रहेका छन् । संक्रमित सबै सम्बन्धित नगरपालिकाको क्वारेन्टिनमा रहेका र सामान्यतया सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । संक्रमितलाई जिल्लाको विभिन्न आइसोलेसनमा लगिने तयारी भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् ।

जिल्लाका क्वारेन्टिनहरूमा अत्यधिक भीडभाड रहेको छ । बाहिरबाट आउने नयाँ मानिस तथा स्वाब संकलन भइसकेका मानिसबीच पनि दूरी कायम गरेर बस्न सकिने अवस्था छैन । स्वाब संकलन भएपछि रिपोर्ट आउँदासम्म दुई हप्तासम्म लागिरहेकोले एक अर्कामा संक्रमणको उच्च जोखिम रहेको र अत्यन्त धेरै खतराले गर्दा क्वारेन्टिनहरू नै कोरोना भाइरस संक्रमणको इपिसेन्टर बन्ने जोखिम रहेको भनी क्वारेन्टिनमा रहेकाहरूले नै चिन्ता व्यक्त गर्न थालेका छन् ।  

कतिपय क्वारेन्टिनमा संक्रमित फेला परेपछि संक्रमित र असंक्रमित सबैले एउटै धारा शौचालय प्रयोग गर्नुपर्ने, एकै ठाउँमा नुहाउनुपर्ने तथा अत्यधिक गर्मीले गर्दा संगसंगै बसेर पंखाको हावा खानुपर्ने बाध्यात्मक अवस्थाले गर्दा क्वारेन्टिनमा रहेकाहरूबीच अत्यधिक चिन्ता हुन थालेको हो ।

जिल्लामा संक्रमितहरूको संख्या बढिरहँदा क्वारेन्टिनमा रहेकाहरूबीच पनि चिन्ताको पारो बढेको हो । ईशनाथ नगरपालिकाको एउटा निजी घरमा बनाइएको क्वारेन्टिनमा रहेका एक जनाले क्वारेन्टिनबाटै कोरोना सर्ने सम्भावना रहेकोमा चिन्ता व्यक्त गर्दछन् । जेठको चर्को घाममा टिनको छाना भएको घरमा बिना पंखा बस्नुपर्ने र बस्न नसकेपछि सडकको छेउमा वा रुखको छहारीमा गएर क्वारेन्टिनबासीले दिन कटाउनुपर्ने दुःखद अवस्था रहेको उनले स्पष्ट पारेका छन् ।  

क्वारेन्टिनमा बस्नेहरूको संख्या अत्याधिक भएकोले व्यवस्थापनमा निकै जटिलता आएको स्थानीय तहका प्रमुखहरूले बताउने गरेका छन् । रौतहटको कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहाले यस्तै अवस्था रहेमा स्थानीय तहले क्वारेन्टिन संचालन गर्न असमर्थ हुने पनि बताएका छन् ।  

रौतहटको गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले क्वारेन्टिनको व्यवस्थापन एउटा जटिल समस्या भएको तर आफ्नो नगरक्षेत्रमा भने सबै किसिमको मानवीय सुविधा उपलब्ध गराइरहेको बताएका छन् ।  अत्यधिक संख्यामा राजपुर, ईशनाथ लगायतका नगरपालिकाका क्वारेन्टिनमा सर्वसाधारणहरू रहेकाले व्यवस्थापन नै जटिल तथा जोखिमपूर्ण बनेको छ ।

क्वारेन्टिनको व्यवस्थापनको विषयमा रौतहटको राजपुर, ईशनाथ तथा कटहरिया नगरपालिकामा प्रहरी र स्वास्थ्यकर्मीसित झडप भइसकेको छ । प्रहरीले दर्जनौँ राउण्ड गोली चलाएर स्थितिलाई नियन्त्रणमा लिनु परेको थियो ।

अनियन्त्रित रूपमा मानिस कोचाकोच गरेर गाडीमा ल्याउनु, क्वारेन्टिनभित्र बस्नेमा आचरण नहुनु, हुल बाँधेर बस्नु संक्रमण फैलनुको प्रमुख कारण भएको नागरिक अगुवा एवं युवा समाजसेवी मोहन यादवले बताएका छन् । आफ्ना नागरिक कति जना विदेश गएका छन् भन्ने तथ्यांक स्थानीय सरकारले राख्न नसक्नु र सोहीअनुसार व्यवस्थापन नगर्नुले अहिले क्बारेन्टीन कोरोना उत्पादन केन्द्र बन्न सक्ने सम्भावना बढेर गएकोमा यादवले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित: २८ जेष्ठ २०७७ १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App