८ वैशाख २०८१ शनिबार
समाज

चीनले दियो भरतपुरलाई ११ लाख बराबरका स्वास्थ्य सामग्री

चीनको गुर्मु सिटीबाट प्राप्त स्वास्थ्य सामग्री जिन्सी शाखालाई हस्तान्तरणपछि भरतपुर महानगर कार्यालयमा मेयर रेनु दाहालसहित सामुहिक तस्बिर खिचाइँदै । तस्बिर : सूर्यप्रकाश/नागरिक

मित्रराष्ट्र चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई कोभिड– १९ विरुद्ध लड्न ११ लाख रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीको नेतृत्वमा तातोपानी नाकातर्फ गएको प्रतिनिधि मण्डललाई गुर्मु सिटीका प्रतिनिधिहरु च्याङ्ग जिउ लिई, छिङ बिङ्ग, ह्याङ्ग सिङ्ग हान लगायतको टोलीले नेपाल र चीनको सिमाना तातोपानीको मितेरी पुलमा स्वास्थ्य सामग्री प्रदान गरेको थियो । भरतपुरसँग भगिनी सम्बन्ध कायम गरेको गुर्मु सिटीले सर्जिकल मास्क १० हजार थान, एन ९५ मास्क ९ सय ६० थान, पिपिई १ सय २० थान र थर्मल गन १ सय २० थान लगायतका सामग्री प्रदान गरेको मेयर दाहालका प्रेस सल्लाहकार अधिकारीले जानकारी दिए ।  

चीनबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक कार्यक्रमबीच महानगरको जिन्सी शाखालाई हस्तान्तरण गरिन् । मेयर दाहालले प्राप्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार प्रयोग र वितरण गर्न निर्देशन दिँदै स्वास्थ सामग्री प्रदान गरेकोमा गुर्मु सिटीका प्रमुखलाई धन्यवाद व्यक्त गरिन् । विपदको अवस्थामा प्राप्त स्वास्थ्य सामग्रीले दुई नगरबीच भएको भगिनी सम्बन्धले जनस्तरमै सुमधुर सम्बन्ध कायम गर्न ठूलो भूमिका खेलेको मेयर दाहालको भनाइ थियो ।

मेयर दाहालले गुर्मु सिटीले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रदान गरेको स्वास्थ्य सामग्री स्वास्थ्यकर्मी, चिकित्सक, अघिल्लो घेरामा खटिने कर्मचारीलाई प्रदान गरिने बताउँदै कोरोना रोगको पहिचान, रोकथाम तथा नियन्त्रणको लागि प्राप्त स्वास्थ्य सामग्री सहयोगी हुने विश्वास व्यक्त गरिन् ।

प्रकाशित: २८ जेष्ठ २०७७ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App