८ वैशाख २०८१ शनिबार
समाज

रिपोर्ट ढिलाइले क्वारेन्टिनमा तनाव

सदरमुकाम मलंगवास्थित कभर्ड हलको क्वारेन्टिनमा भारतबाट आएर बसेका सर्वसाधारण । तस्बिर : टंक/नागरिक

स्वाब परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा सर्लाहीका विभिन्न पालिकाले स्थापना गरेको क्वारेन्टिनमा तनाव बढ्न थालेको छ । लामो समयसम्म बस्नुपरेको भन्दै क्वारेन्टिनमा रहेका सर्वसाधारणले स्वास्थ्यकर्मी, भान्सेलगायतलाई दुर्व्यहार गर्नेजस्ता घटना हुन थालेका छन् । पालिकाका प्रमुख/अध्यक्ष एवं कर्मचारी क्वारेन्टिन स्थलमा आए ढुंगामुढासहित आक्रमणसमेत हुन थालेको छ ।

स्वाब परीक्षण रिपोर्ट आउन ढिला हुँदा साह्रै समस्या आइपरेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए । ‘जेठ १८ गते नै क्वारेन्टिनमा बसिरहेका एक सय ४९ जनाको स्वाब पठाएको तर अहिलेसम्म रिपोर्ट आएको छैन,’ अध्यक्ष महतोले नागरिकसँग मंगलबार भने, ‘कतिपय त जेठ २ गतेदेखि क्वारेन्टिनमा छन्, लामो समयदेखि क्वारेन्टिनमा राखेको भन्दै गालीगलौज र आक्रमण नै गर्न थालेका छन् ।’  

केही दिनअघि क्वारेन्टिनमा रहेकाहरूले आफूहरूलाई खाना पकाएर खुवाउँदै आएका एक भान्सेलाई समेत आक्रमण गरेका थिए । राति कुटाकुट नै भएको बताइएको छ । स्वाब परीक्षणको रिपोर्ट आउन ढिला हुँदा एकातिर क्वारेन्टिन स्थलमा तनाव बढ्दै गएको छ भने अर्कोतिर क्वारेन्टिनमा बसेकालाई खाना खुवाउनेलगायत व्यवस्थापनमा हजारौं खर्च बढिरहेको भन्दै पालिका प्रमुखहरू चिन्तित बनेका छन् ।

त्यस्तै गोडैता नगरपालिकामा केही दिनअघि क्वारेन्टिन स्थलमा खटिँदै आएका स्वास्थ्यकर्मीमाथि नै आक्रमण भयो । लामो समय भइसक्दा पनि नछाडिएको भन्दै क्वारेन्टिन स्थलमा बस्दै आएका स्थानीयले स्वास्थ्यकर्मीमाथि आक्रमण प्रयास गरेका हुन् । स्वाब परीक्षणको रिपोर्टमा ढिलाइ हुँदा सामाजिक–आर्थिक रूपमा निकै कठिनाइ बेहोर्नुपरिरहेको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले गुनासो गरे । ‘मेरो नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसिरहेका ८८ जनाको १७ गते तथा ८७ जनाको १९ गते स्वाब जनकपुर पठाएको हो,’ प्रमुख साहले नागरिकसँग भने, ‘तर पछि जनकपुर अस्पतालले फेरि काठमाडौंस्थित टेकु अस्पताल नै पठायो रे, अहिले त जनकपुरले काठमाडौंलाई अनि काठमाडौंले जनकपुरलाई दोष देखाएर ढिलाइ भइरहेको आरोप लगाउने गरेका छन् ।’  

भाडा लगायतमा १० हजार रुपैयाँ हाराहारी कम खर्च लाग्ने भनेर सुरुमा जनकपुर पठाउँदा अहिले लाखौं डुब्ने अवस्था आएको प्रमुख साहले बताए । ‘जनकपुरमा पनि नयाँ मेसिन आयो रे, राम्रोसँग काम गर्छ रे भनेपछि काठमाडौं पठाउँदा भन्दा १० हजारजति कम खर्च लाग्छ भनेर त्यता पठाइयो’, प्रमुख साहले गुनासो गरे, ‘तर त्यहाँ जाँचिसकेपछि पनि फेरि मेसिनले काम गरेन रे भनेर स्वाब गज्याङगुजुङ पारेर अव्यवस्थित ढंगले बोरामा हालेर काठमाडौं पठाइएको भन्ने सुनेका छौं, स्वाब पठाउन १० हजार रुपैयाँ कम लाग्छ भनेर काठमाडौंको सट्टा जनकपुर पठाइयो, अहिले परीक्षण रिपोर्टमा ढिलाइ हुँदा दैनिक २० हजारभन्दा बढी क्वारेन्टिन स्थलमा खर्च गर्नुपरिरहेको छ ।’

जिल्लास्थित विभिन्न पालिकाको क्वारेन्टिनमा बसेकाहरूको स्वाब परीक्षण रिपोर्ट आउन ढिलाइ हुँदा समस्या बढ्दै गएको प्रजिअ मोहन जिसीले बताए । ‘स्वाब परीक्षण रिपोर्टमा ढिलाइ हुँदा एकातिर क्वारेन्टिन स्थलमा बसेकाहरू आक्रोशित बनिरहेकाले शान्ति सुरक्षामा समस्या बढिरहेको छ,’ प्रजिअ जिसीले भने, ‘अर्कोतिर रिपोर्ट आउन ढिलाइ हुँदा एकै ठाउँमा बसिरहेकामध्ये पोजेटिभ केस आए अन्य नेगेटिभवालाहरूलाई पनि संक्रमण फैलिसकेको हुन सक्ने त्रास बढेको छ ।’  

केही दिनअघि कविलासी नगरपालिकाको क्वारेन्टिनमा राखिएकामध्ये ३५ जनामा पोजेटिभ रिपोर्ट आएको थियो । एक साताभन्दा बढी समयपछि रिपोर्ट आएकाले नेगेटिभ रिपोर्ट आएकालाई समेत आरडिटी गरेर छाड्न खोज्दा एक प्रहरीसहित पाँचजनामा कोरोना देखिएपछि उनीहरूलाई पनि आइसोलेसनमा राखेर परीक्षणका लागि पुनः स्वाब पठाइएको छ । रिपोर्ट तुरुन्त नआए क्वारेन्टिन स्थल नै कोरोना भाइरस संक्रमण फैलने ठूलो माध्यम बन्न सक्ने विज्ञहरू बताउँछन् ।

प्रजिअ जिसीका अनुसार मलंगवा, हरिपूर्वा, चन्द्रनगर, लालबन्दी, कौडेना, हरिवन लगायत विभिन्न पालिकाको क्वारेन्टिनमा बसेकाको स्वाब निकालेर पठाए पनि रिपोर्ट आउन ढिलाइ हुँदा तनाव बढ्दै गएको छ । ‘पहिला स्वाब प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो, पछि त्यहाँबाट पुनः काठमाडौं पठाइएछ’, प्रजिअ जिसीले भने, ‘अहिले दुवैतिर ताकेता गर्नुपरिरहेको छ, एक ठाउँबाट अर्को ठाउँलाई देखाएर ढिलाइ हुँदा हामी मारमा परिरहेका छौं ।’

हाल जिल्लास्थित २० वटै पालिकाका एक सय १९ स्थानमा रहेका क्वारेन्टिनमा तीन हजारभन्दा बढी सर्वसाधारण बसिरहेका छन् । उनीहरू भारतबाट आएर स्वाब परीक्षणपछि रिपोर्ट नेगेटिभ आए घर जान आतुर भएकाले रिपोर्ट आउन ढिलाइ हुँदा आक्रोश बढ्दै गएको प्रजिअ जिसीको भनाइ छ ।

प्रकाशित: २८ जेष्ठ २०७७ ००:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App