८ वैशाख २०८१ शनिबार
समाज

आइसोलेसनमा लापरबाही, संक्रमित भागेपछि त्रास

बाँकेको जानकी गाउँपालिकास्थित एक क्वारेन्टिन निरीक्षण गरिँदै । तस्बिर : नागरिक

आइसोलेसनमा बसिरहेका बाँकेका एक संक्रमित सोमबार राति फरार भए । जानकी गाउँपालिका–१ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँको आइसोलेसनमा बसिरहेका ३५ वर्षीय पुरुष फरार भएका हुन् । उनी मंगलबार बेलुकीसम्म पनि फेला परेनन् । नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित कोरियनपुर निवासी संक्रमित सोमबार राति सुरक्षाकर्मीको आँखा छलेर फरार भएका थिए । शौचालय जान भनी बाहिर निस्केका संक्रमित आइसोलेसनमा नआएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता सुवास खड्काले बताए ।

‘शौचालय जान भनि निस्केका उनी आइसोलेसनमा नफर्केपछि फरार भएको थाहा भयो,’ उनले भने, ‘बिहानैदेखि प्रहरी परिचालन भएर खोज्ने काम भइरहेको छ ।’ चार दिनअघि कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि उनीसहित ४० जना उक्त विद्यालयको आइसोलेसनमा बस्दै आएका थिए । युवक फरार भएपछि अब ३९ जना आइसोलेसनमा बसिरहेका छन् । आइसोलेसन रहेको बिद्यालय र नेपाल–भारत सिमा नाकानजिकै छ । सीमा क्षेत्र नजिक रहेकाले संक्रमित व्यक्ति भारततिर फरार भएको हुन सक्ने प्रहरीको अनुमान छ । संक्रमित आइसोलेसनबाट फरार भएपछि त्रास बढेको जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवले बताए ।  

बाँकेका प्रजिअ रामबहादुर कुरुङ्वाङले आइसोलेसनबाट फरार भएकाको अवस्था अझै पत्ता नलागेको बताए । ‘प्रहरीले खोजी गरिरहेको छ, भारतमा उसको ससुराली घर रहेछ, त्यतै गएको हुनुपर्छ,’ उनले नागरिकसँग भने । आइसोलेसनमा दुईजना मात्र प्रहरी सुरक्षामा खटिएको प्रजिअ कुरुङवाङले बताए । ‘आइसोलेसनमा दुईजना मात्र प्रहरी सुरक्षामा खटिएका थिए, थोरै संख्यामा भएको हुँदा प्रहरीले नियन्त्रणमा लिन सकेनन्,’ उनले भने ।  

जिल्लाका विभिन्न ठाउँमा स्थापना गरिएको क्वारेन्टिन तथा आइसोलेसनमा कतै सुरक्षाकर्मी नै छैनन् भने कतै खटिए पनि सुरक्षाकर्मीको संख्या एकदमै न्यून छ । सुरक्षाकर्मीले चौबिसै घण्टा सुरक्षा दिन नसक्दा आइसोलेसन र क्वारेन्टिनमा जोखिम बढेको स्थानीय बताउँछन् । ‘आइसोलेसन र क्वारेन्टिनमा भेडाबाख्रा कोचेझै संक्रमितलाई राखिएको छ, उनीहरूले पाउनुपर्ने सुविधा पाएका छैनन्,’ एक स्थानीयले भने, ‘आइसोलेसन र क्वारेन्टिनमा सुरक्षाकर्मीको उपस्थिति न्यून छ ।’ आइसोलेसन र क्वारेन्टिनमा सुरक्षाकर्मीको संख्या कम हुँदा संक्रमित भाग्ने जोखिम रहेको स्थानीय बताउँछन् । आइसोलेसन र क्वारेन्टिनमा सुरक्षा लापरबाही भएको भन्दै वरपरका स्थानीय त्रसित छन् ।

क्वारेन्टिनमा सुरक्षाकर्मीको संख्या कम हुँदा केही दिनअघि जिल्लाको राप्तीपारीस्थित नरैनापुरको एक क्वारेन्टिनबाट पनि संक्रमित भागिसकेका थिए । पछि नेपाली सेनाले मुस्किलले उनीहरूलाई आइसोलेसनमा राखेको थियो ।  

शिक्षण अस्पताल कोहलपुर सिल

उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना पोजेटिभ देखिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई सिल गरिएको छ । भारतबाट फर्केर अछामको एक क्वारेन्टिनमा बसिरहेकी २५ वर्षीया गर्भवतीको आन्द्रामा समस्या भएपछि सोमबार हेलिकोप्टरबाट कोहलपुर ल्याएर उनलाई भर्ना गरिएको थियो ।  

उनको स्वाब पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि अस्पताल पुरै सिल गरिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डाक्टर देवेन्द्र आचार्यले जानकारी दिए । ‘अस्पताल पुरै सिल गरिएको छ, इमेरजेन्सी, ओपिडीलगायत सबै सेवा बन्द छन्,’ उनले भने । गर्भवतीसँगै अछाममा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यक्तिलाई पनि सोही हेलिकोप्टरबाट कोहलपुर ल्याइएको थियो ।

उपचारका क्रममा सोमबार बेलुकी गर्भवतीको निधन भएको थियो । उनको मंगलबार आन्द्राको शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको छ । ‘महिलाको आन्द्रा बटारिएको हुँदा शल्यक्रिया गर्नुपर्ने थियो, उनको अप्रेसन पनि सफल भएको थियो,’ आचार्यले भने ।

प्रकाशित: २८ जेष्ठ २०७७ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App