coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

संक्रमितलाई नै घर पठाईयो

स्वास्थ्य मन्त्रालयको निर्देशिका : थप जोखिम

बेलझुण्डि स्थित कोरोना विशेष अस्पताल । तस्बिरः नागरिक

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अन्तर्गत कोराना संक्रमितहरूलाई पनि घर पठाउन थालिएको छ । संक्रमण भएर अस्पताल बसेकाहरूलाई कोरोना जाँच नगरेरै घर पठाउन थालिएको हो । मन्त्रालयले चार दिन अघि निर्देशिका जारी गर्दै १४ दिन सम्म कोरोनाको लक्षण नदेखिएका तर आइसोलेसनमा बसेका संक्रमितहरूलाई घर पठाउन भनेको थियो । 

मन्त्रालयको यसै निर्देशिकाको चौतर्फी रुपमा आलोचना भैरहेको पनि छ । तर मन्त्रालयको यो निर्देशिका कार्यान्वयन गर्दै दाङमा ५ जना कोरोना संक्रमितलाई जाँचै नगरेर घर पठाईएको छ । जिल्लाको बेलझुण्डि स्थित कोरोना विशेष अस्पतालबाट ५ जनालाई उनीहरूमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको भन्दै कोरोना जाँच नगराएरै घर पठाईएको हो । 

आईतवार यो अस्पतालले १० जनालाई घर पठाएको थियो । यि मध्य ५ जना भने कोरोना रिपोर्ट नेगेटिभ आएकाहरू थिए । तर बाँकी ५ जना भने कोरोना संक्रमित हुन् । ‘घर पठाईएका ५ जना नेगेटिभ केस हो, ५ जना भने पोजेटिभ हो,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माले पुष्टि गरे ।  

यसअघि पनि यहि अस्पतालले ८ जनालाई कोरोना जाँच गराएर नेगेटिभ रिपोर्ट आएपछि मात्रै घर पठाएको थियो । उनीहरू मध्ये बाँके नरैनापुरका ३, दाङका १ र कपिलवस्तुका १ जना छन् । ‘हामीहरूले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकालाई पालना गरेका हौँ,’  अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शर्माले भने ‘मन्त्रालयको निर्देशिका अनुसार २३ दिन अघि अस्पताल आएका ५ जनालाई कोरोना जाँच नगराएरै घर पठाईएको हो ।’ कोरोना परीक्षण बिनै घर पठाईएका यि ५ जना २ जेठमा अस्पताल भर्ना भएका थिए ।  

डा. शर्माका अनुसार उनीहरूमा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन । यसैगरि उनीहरू अस्पतालमा बसेको १४ दिन पनि पुरा भैसकेको थियो । ‘यसअघि सम्म अन्तिममा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको खण्डमा मात्रै डिस्चार्ज गराईन्थ्यो,’डा. शर्माले भने ‘तर पछिल्लो निर्देशिका लागु गर्दै आईतबार ५ जनालाई भने चेक नगरेरै पठाउनु परेको हो ।’ उनका अनुसार यि ५ जना संगै अस्पतालमा रहेका सबै संक्रमितहरूलाई पनि कोरोनाको कुनै पनि लक्षण नदेखिएको खण्डमा र अस्पताल पुगेको १४ दिनको अवधि पुरा भएमा कोरोना जाँच नगरेरै घर पठाईने छ । ‘यो निर्देशिकाको कार्यान्वयन हामीहरूले मात्रै गरेको पनि हैन,’ डा. शर्माले भने ‘बुटवल, लगाएतका अन्य अस्पतालहरूले पनि कार्यान्वयन गरिसकेको अवस्था हो ।’

यसअघि अस्पतालले लगातार दुईपटक सम्म कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएपछि मात्रै कोरोना संक्रमण मुक्त भएको भन्दै डिस्चार्ज गर्ने गरेको थियो । तर अहिले कोरोना जाँचै नगरेर संक्रमितहरूलाई घर पठाउन थालिएपछि स्थानीयहरूमा कोरोना संक्रमणको त्रास झनै बढेको छ । ‘संक्रमितलाई चेकजाँचै नगरेर घर पठाउनु जस्तो गैर जिम्मेवार काम अरु के हुन सक्छ ?’ नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले भने ‘कोरोना अँझ फैलियोस् भन्ने नियत त राखिएन ? भन्ने आशंका गर्ने ठाउँ पनि सरकारको यो कदमले दिएको छ ।’ 

कोरोना परीक्षण बिनै घर फर्काइएकाहरूलाई कोरोना संक्रमणबाट उछितो रहेको भन्ने आधारै नरहने भन्दै पन्तले उनीहरूकै कारण थप संक्रमण बढ्ने जोखिम सरकारले बढाईदिएको वताए । ‘जेकजाँचै नगरेर घर फर्काइएका संक्रमितहरूलाई कसरी कोरोना मुक्त भन्ने ?’ उनले भने ‘उनीहरूकै कारण अब गाउँ समाजमा कोरोना संक्रमण डढेलो जस्तै फैलिने खतरा बढेको छ ।’ यता परीक्षण बिनै ५ संक्रमितलाई घर फिर्ता गरेको कोरोना विशेष अस्पतालले भने उनीहरूलाई होम क्वारेनटाईनमा बस्ने गरि फिर्ता गरिएको बताउँछन्। 

उनीहरूलाई गोप्य घर वा कोठामा बस्ने सर्त बमोजिम घर फिर्ता गरिएको निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शर्माले जानकारी दिए । ‘उहाँहरूलाई घरमा सुरक्षित रुपमा बस्ने र कसैको पनि सम्पर्कमा नआउने गरि बसोबासको व्यवस्थापन गर्न भन्दै घर पठाएका हौँ,’ उनले भने ‘उहाँहरू परिवारका अन्य सदस्य तथा गाउँ समाजमा घुलमिल हुन पाउनु हुन्न ।’

प्रकाशित: २५ जेष्ठ २०७७ १५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App