८ वैशाख २०८१ शनिबार
समाज

खुकुरी प्रहारबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर

खोटाङमा दम्पत्तीमाथि खुकुरी प्रहार हुँदा श्रीमानको मृत्यु भएको छ । श्रीमती गम्भीर घाइते भएकी छन् । ३६ वर्षीय छिमेकी शिबराज राईको खुकुरी प्रहारबाट आईतबार केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका ६५ वर्षीय डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए । 

खुकुरी प्रहारबाट उनकी ६२ वर्षीया श्रीमती साममायाँ राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । शिबराजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका डिल्लीराजको हेलीकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाउने तयारी गर्नेक्रममा मृत्यु भएको हो ।  

साममायाँलाई भने कैलास एयरको हेलीकोप्टरबाट काठमाडौं पुर्‍याइएको छ । शिबराजले आईतबार बिहान दम्पत्तीमाथि खुकुरी प्रहार गरेका थिए । दम्पत्तीमाथि खुकुरी प्रहार भएको जानकारी आएपछि प्रहरीचौकी खार्ताम्छाबाट घट्नास्थल पुगेको प्रहरीको टोलीले उनीहरुलाई घाइते अवस्थामा फेला पारेका थिए । दम्पत्तीमाथि खुकुरी प्रहार गर्ने शिवराजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अभियुक्तले दम्पत्तीमाथि खुकुरी प्रहार गर्नुको कारण खुल्न बाँकी रहेको डिएसपी चिमोरियाले बताए । काठमाडौं बसिरहेका अभियुक्त लकडाउन अगाडि मात्र गाउँ आएका थिए । बैदेसिक रोजगारीपछि उनी काठमाडौंमै बस्दैआएको बुझिएको खार्ताम्छाका वडाध्यक्ष बलीराज राईले बताए ।  

एक जना मृत फेला
यस्तै, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका मणिकुमार राई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सुसाईड नोटसहित राई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । सुसाईड नोटमा ‘आफ्नो हालत राम्रो नभएकाले नछुन’का लागि बालबच्चालाई भनिएको पाइएको स्थानीयले बताएका छन् । 

प्रकाशित: २५ जेष्ठ २०७७ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App