coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भारतबाट आएकालाई क्वारेन्टिनमा नबस्न वडाध्यक्षको धम्की

गल्ती भयो : वडाध्यक्ष शाही

वडाध्यक्षको धम्कीविरुद्ध चौमला प्रहरी चौकीमा न्याय माग्दै बाशुदेवबासी । तस्बिर : पुष्पराज जोशी/नागरिक

मन्दिरा कोलीसहितका दस जना शुक्रबार बेलुकी भारतबाट गौरीगंगा–३, बाशुदेवस्थित गाउँमा पुगे । उनीहरू गाउँकै स्कुलमा निर्माण गरिएको क्वारेन्टिनमा बस्न चाहेका थिए । तर, वडाध्यक्ष नरेन्द्र शाहले भने क्वारेन्टिनमा नभई घरमै बस्न भन्दै उनीहरूलाई धम्क्याएका छन् ।  

आफ्ना ससुरा र जेठानीसहित दस जनाको परिवार भारतबाट गाउँ पुगेको बताउँदै बाशुदेवकी ढुन्की कोलीले भनिन्,‘हामीले गाउँकै स्कुलमा खाली रहेको कोठामा राखिदिन अध्यक्षलाई आग्रह गर्दा उल्टै मेरो घरमा ठाउँ छैन, आफ्नै घरमा बस् भन्दै धम्क्याए ।’ वडाध्यक्षको धम्कीपछि जेठानीको घरमा गएका दसजनालाई राखिएको बताउँदै उनले भनिन्,‘त्यसपछि हामीले गाउँका सबैलाई बोलाएर भारतबाट आएकाहरू घरमै बस्न थाले, के गरौ भनेर सल्लाह गर्यौँ र राति १० बजे स्कुलको कोठामा लगेर राख्यौँ ।’ 

भारतबाट आउँदै गरेका आफन्तलाई राख्नका लागि वडाध्यक्षले आफूहरूलाई घरमै बस भनेको बताउँदै मन्दिरा कोलीले भने,‘विद्यालयको कोठा खाली नै थियो, तर पनि हामीलाई आफ्नै घरमा बसे भनेर थर्काए ।’ आफूहरूको पनि जहान परिवारप्रतिको माया रहेको बताउँदै उनले भने,‘हामीहरूलाई पनि त घर परिवारको माया छ, यस्तो समयमा घरमा हैन क्वारेन्टिनमा बस भन्ने बेला सिधै घरमा गएर बस भन्दा चित्त दुख्यो ।’  

वडाध्यक्ष शाहले शनिबार आफ्ना दुई छोरासहित कोली परिवारको बारेमा बोल्ने भरतबहादुर सिंहलाई कुटपिट गरेको छ । ‘किन दलित परिवारको बारेमा बोलेको ?भन्दै ममाथि हातपात भयो,’ भरतबहादुरले भने,‘वडाध्यक्ष आफ्ना छोरासहित आएर ममाथि जाइलागे ।’ वडाध्यक्षकै अगाडि उनका छोरा सुरेन्द्र शाह र नारायण शाहले भरतबहादुरलाई कुटपिट गरेका हुन् । 

बाशुदेव गाउँमा भारतबाट आएकाहरूलाई क्वारेन्टिनमा नबस भन्दै धम्क्याउने र फेरि आफै आएर स्थानीयलाई कुटपिट गरेकाले आफूहरू अहिले प्रहरी चौकी चौमालामा न्याय माग्न आएको बताउँदै बाशुदेवका केशवबहादुर शाहले बताए । ‘गाउँमा भारतबाट आएकाहरूलाई क्वारेन्टिनमा नराख्ने र उल्टै गाउँलेलाई छोरा लगाएर कुट्ने वडाध्यक्षको व्यवहारविरुद्ध न्याय माग्न यहाँ आएका हौँ,’ केशवबहादुरले भने,‘वडाध्यक्षले हामीमाथि उल्टै अन्याय गर्नुभयो ।’

माथिल्लो जातका लागि सिधै क्वारेन्टिनमा राख्ने र आफूहरूलाई घरमै बस भन्दै विभेद गरेको महसुस भएको भन्दै ढुन्की कोलीले भनिन्,‘हाम्रो परिवारकालाई स्कुलमा राख भन्दै उल्टै घरमै बसाऊ भन्ने जवाफ पायौँ, यसबाट क्वारेन्टिनमा राख्न पनि हामीलाई विभेद गराएको महसुस भएको छ ।’

क्वारेन्टिन सफाई गर्न लागेकाले मेरो घरमा ठाउँ छैन, घरमै बस भनेको स्वीकार्दै वडाध्यक्ष शाहले भने,‘हो तनावको अवस्थामा मैले मेरो घरमा ठाउँ छैन, घरमै बस भनेकै हुँ ।’ भोलिपल्ट बिहान छोराहरूले भरतबहादुर सिंहमाथि कुटपिट गरेको घटना पनि गलत नै भएको बताउँदै उनले भने,‘मेरा छोराहरूले कुटपिट गरे, त्यो पनि गलत भएकै हो, सार्वजनिक रुपमा उनीहरूलाई माफी मगाउँछु ।’  

प्रकाशित: २४ जेष्ठ २०७७ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App