५ वैशाख २०८१ बुधबार
समाज

जसले हजार माइल यात्रा गरे, घर अगाडि ज्यान गुमाए

सांकेतिक तस्बिर

पञ्चपुरी–१ का २० वर्षीय युवक भारतमा रोजगारी गुमेपछि जेठको पहिलो साता स्वदेश फर्किए । हजार माइल यात्रा गरेर आएका उनी कोरोनाको जोखिम न्यूनीकरण गर्न गाउँमै बनाएको क्वारेन्टिनमा बसे । १५ दिन क्वारेन्टिनको बसाइँ पछि आरडीटी रिपोर्ट नेगेटिभ आउँदा  खुसी साथ घर फर्किए । सुखी साथ परिवारसँग सँगै बस्ने उनको यात्रा घर नजिकै सकियो । मृत्युपछि कोरोना परीक्षण गर्दा उनीमा पोजेटिभ पुष्टि भयो । उनी जस्तै चिंगाढ गाउँपालिका–५ का एक युवकको प्रदेश अस्पतालमा मृत्यु भयो । केही घण्टाको दुरीमा रहेको घरसम्म उनी पुग्न सकेनन् । तर उनको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो ।

बाच्नलाई भारतबाट घर फर्किएका उनी मृत्युलाई जित्न सकेनन् । परिवारसँगै रहने सपना बीच बाटोमै छताछुल्ल भयो । भारतको गुजरातबाट उनी जेठको दोस्रो साता स्वदेश फर्किएका थिए । यात्रामा बिरामी भएपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो । उनको १२ गते राति उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन केएन पौडेलले जानकारी दिए । यति मात्र होइन कर्णालीका पाँचजना लामो दुरी पार गरेर पनि घर नजिकै ज्यान गुमाउन बाध्य भए । 

तीनजनामा कोरोना पृष्टि भएको छ भने दुईजनामा कोरोना देखिएको थिएन । लामो दुरी पार गरेर कोरोना जितेका उनीहरू मृत्युलाई जित्न सकेनन् । त्यस्तै जुम्लास्थित चन्दननाथ नगरपालिका–८, भैरव माध्यमिक विद्यालय धुपीढुस्कामा निर्माण गरिएको क्वोन्टाइनमा ६५ वर्षीय एक वृद्धको मृत्यु भएको थियो । बर्दियाबाट उनी जुम्ला पुगेका थिए । उनी दमको रोगी रहेको र औषधि सेवन गरिरहेका थिए ।  

दैलेख दुल्लु नगरपालिका–११, का ३५ वर्षीय पुरुष पनि क्वारेन्टिनमा ज्यान गुमाउन बाध्य भए । सोही नगरपालिका–७, मा निर्माण गरिएको क्वारेन्टिनमा उनको मृत्यु भएको थियो । त्यस्तै होम क्वारेन्टिनमा बसेका डोल्पाका ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । १९ गते सुर्खेतबाट दमको उपचार गरी फर्किएका जगदुल्ला गाउँपालिका–३, का ती पुरुष २१ गते मृत्यु भएको थियो । २२ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र २३ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए । मृतक ती पुरुषले पनि आफू कोरोनाबाट मृत्यु भएको थाहा नै पाएनन् ।

कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण सिर्जित बन्दाबन्दी (लकडाउन) का कारण रोजगारी गुमेर भारतबाट आएका उनीहरूको ज्यान गएपछि कर्णालीमा थप जोखिमसँगै त्रास फैलिएको छ ।  कर्णालीमा सामान्य अवस्थामा समेत कर्णालीवासीले अकालमै ज्यान गुमाउन बाध्य हुन्छन् । ‘यस्तो महामारीमा सरकारले गम्भीरताका साथ स्वास्थ्य परीक्षण गरेन,’ कर्णाली प्रदेशसभा सदस्य हिमबहादुर शाहीले भने, ‘जनताको स्वास्थ्यभन्दा उनीहरू मस्तीमा लागे ।’ कोरोना संक्रमणको त्रास फैलिएका बेला कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत अनुगमनभन्दै हेलिकोप्टरबाट जिल्ला÷जिल्ला पुगेका थिए । सरकारले यस्तो महासंकटका बेला क्वारेन्टिनमा बसेहरूको स्वास्थ्य परीक्षण गर्न नसकेको उनको भनाइ छ ।

बाच्नका लागि घर फर्किए तर घरै नपुगी ज्यान गुमाएको वीरेन्द्रनगरका सुशील केसीले जनाए । हालसम्म कर्णालीमा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ तर बिडम्वना दुवैले कारण थाहा पाउन सकेनन् । स्थानीय सरकारको कमजोर परीक्षण प्रणाली र प्रदेश सरकारको भद्रगोल व्यवस्थापनका कारण कोरोना संक्रिमतले कारण थाहा नपाएर ज्यान गुमाउनु परेको स्थानीयको आरोप छ । उनीहरूको रोग समयमै थाहा भएको भए ज्यान जान सक्ने स्थिति कम हुने स्थानीय दिनेश बडुवालले बताए । कर्णालीमा कोरोना परीक्षणका खेलाची गरिएको उनको भनाइ छ ।

‘समयमै गुणस्तरीय कोरोना परीक्षण भएको भए ज्यान जाने सम्भावना कम हुन्थ्यो,’ उनले भने, ‘उनीहरूले समयमै उपचार पाउथ्ये ।’ कोरोना संक्रमण भइसकेपछि उपचार अभावमा दुवैजनाको मृत्यु भएको खिमबहादुर चपाईं बताउँछन् । ‘मृतकले उपचार र पारिवारिक स्याहार सुसार पाएनन्,’ दैलेखका गोविन्द भारतीले भने, ‘कोरोना परीक्षणमा सरकार चुकेकै छ ।’ भारतबाट आउनेको संख्या वृद्धि भएको र कोरोना परीक्षण कछुवा गतिमा हुँदा समस्या जटिल बनेको उनको भनाइ छ । हाल कर्णालीमा ३५ हजारभन्दा बढी नागरिक भारतलगायत रोजगार क्षेत्रबाट आएको कर्णाली प्रदेश सरकारले जनाएको छ । करिब एक लाखभन्दा बढी कर्णालीवासी घर फर्कन सक्ने सम्भावना रहेको सरकारको भनाइ छ ।

परीक्षणको दायरा बढाउन कर्णालीवासीको भनाइ छ । अहिले भारतलगायत तेस्रो मुलुक र देशका विभिन्न क्षेत्रबाट आइ क्वारेन्टिनमा बसेकाहरूको परीक्षण मात्र भएको हुँदा अब समुदायस्तरमा पनि कोरोना परीक्षण गर्नुपर्ने वीरेन्द्रनगरकी देवीसरा बिकले बताइन् । ‘आरडीटी मात्र चेक गरेर भारतबाट आएका धेरै घर गएका छन्,’ उनले भनिन्, ‘आरडीटी भरपर्दा नहुँदा घर गएका केही मा कोरोना हुन सक्छ । त्यो समुदायका लागि खतरा हो ।’ समयमै परीक्षण नहुँदा उपचार अभावमा ज्यान गुमाउन सक्ने अवस्था घटाउन परीक्षणको दायरा बढाउनु पर्नेमा उनकोकक जोड छ ।

प्रकाशित: २४ जेष्ठ २०७७ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App