७ वैशाख २०८१ शुक्रबार
समाज

‘ट्राभल हिस्ट्रि’ छैन, तर कोरोना छ

अन्य प्रदेशमा कोरोना भाईरसको संक्रमण तीव्र रुपमा फैलिँदै गर्दा गण्डकी प्रदेशको संक्रमण गति भने निकै नै सुस्त थियो । त्यसमा पनि प्रदेश राजधानी कास्कीको पोखरामा त झनै शुन्य नै थियो । आसपासका जिल्लामा तीव्ररुपमा संक्रमित भेटिँदा पनि कास्कीमा कतैपनि संक्रमित भेटिएका थिएनन् । तर, ट्राभल हिस्ट्रि नै नभएका एकजना व्यक्तिमा शुक्रबार एकाएक कोरोना संक्रमण पुष्टि भएपछि पोखरेली तर्सिएका छन् ।

त्यो भन्दा पनि अचम्म त पोखरा नै नछाडेका ती व्यक्तिमा कसरी संक्रमण फैलियो भन्नेमा धेरैलाई टाउको दुखाई बनेको छ । पोखरा महानगरपालिका–८ सिमलचौरमा बस्ने ती ६० वर्षिय पुरुष गत मंगलबार कोठामा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि उनलाई उपचारका लागि पोखराका विभिन्न अस्पताल हुँदै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । काठमाडौंमा परीक्षण गर्दा बल्ल उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा नै नछाडेको र यसअघि कसैमा पनि संक्रमण नदेखिएको अवस्थामा ती व्यक्तिमा कसरी कोरोना फैलियो भन्नेमा धेरै अचम्मित भएका छन् । पोखरा– ८ का अध्यक्ष रुद्रनाथ बराल भन्छन, ‘पोखरा नै नछाडेका व्यक्तिमा कसरी संक्रमण फैलियो भन्नेमा हामी नै अचम्मित भएका छौ ।’ प्राध्यापन र कानुनी पेशामा संलग्न भएकोले उनी बिरामी परेर अस्पताल पुगेपछि पोखराका हाई प्रोफाइल व्यक्तिहरु उनलाई भेट्न अस्पताल पुगेका थिए । ‘संक्रमित व्यक्तिको यो अवधिमा भएको मुभमेन्ट पत्ता लगाउने प्रयास भईरहेको छ,’ बरालले भने, ‘धेरैतिर चिरपरिचित व्यक्ति भएकोले पनि सम्पर्क बढी भएको आशंका गरिएको छ । अरुमा संक्रमण छ छैन भन्ने पत्ता लगाउनुपर्ने अवस्था छ ।’  

महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार संक्रमित व्यक्तिको सम्पर्कमा रहेका ३० जना उच्चपदस्थ व्यक्तिहरु सम्पर्कमा आएका छन् । ती मध्ये संक्रमित व्यक्ति बिरामी परेपछि भेटघाटका लागि अस्पताल पुगेका थिए । ‘कन्ट्याक्ट ट्रेसिङको काम भईरहेको छ । अहिलेसम्म ३० जनाजति सम्पर्कमा आएका छन्,’ उनले भने, ‘पहिलो लाइनका संक्रमित व्यक्ति पहिचानको काम भईरहेको छ । हामीले संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई मात्र पहिचान गर्न थालेका छौ । धेरैजना आफै सम्पर्कमा आउनु भएको छ । ’पहिचान गरिएका व्यक्तिमा संक्रमण भए नभएको परीक्षण हुने उनले बताए ।  

स्थानीय केस भएको र संक्रमितको ट्राभल हिस्ट्रि कतै नहुँदा कहाँबाट संक्रमण फैलियो भन्ने पत्ता लगाउन कठिन भएको उनले बताए । ‘प्राथमिक श्रोत पत्ता लगाउन गाह्रो छ । उनलाई कहाँबाट सर्‍यो भन्ने पत्ता लगाउने प्रयास त भईरहेको छ । तर, सहज छैन,’ उनले भने, ‘उनी आउजाउ गर्ने विभिन्न टोल, छिमेकमा सम्पर्क गरिरहेका छौ ।’  

पोखरा महानगरको क्वारेन्टिनमा अहिले पनि १३० जना बसिरहेका छन् । सकेसम्म बाहिरबाट आउनेले अरुलाई नभेट्न आग्रह गरिरहेको उनले बताए । ‘धेरैजसो भारतबाट आएका व्यक्तिमा संक्रमण देखिएपनि पोखराका यी व्यक्तिमा कोरोना देखिँदा सबैलाई अचम्म लागेको छ,’ उनले भने ।  

भारतबाट आएका व्यक्तिलाई नाकाबाट बोकेर विभिन्न जिल्ला पुर्‍याउने क्रममा पोखरा हुँदै आउजाउ गर्ने यात्रुबाहक बसलाई पोखरामा रोक्न र यात्रु ओराल्न दिइएको छैन । ट्रक बाहेक पोखरामा कुनै पनि जिल्लाका बसले यात्रु ओराल्ने गरि रोकिएका छैनन । यात्रु ओराल्नै परेको खण्डमा सिधै क्वारेन्टिनमा पुर्‍याउने गरिएको छ । तर पनि संक्रमण देखिँदा भित्रिभित्र कोरोना फैलिएको आशंका पनि गरिएको उनले बताए । ‘बसका यात्रु त ओर्लेका छैनन । तर, ट्रकबाट आएका एकाध यात्रुले पोखरामा संक्रमण फैलाएको आशंका गरिएको छ,’ शर्माले भने, ‘लुकिछिपि ट्रकबाटै आएका व्यक्तिबाट पोखरालाई जोखिम बढेको छ ।’  

कास्कीमा अहिलेसम्म चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा–२७ का एकजना पुरुष र रुपा गाउँपालिकाका दुईजना युवामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु तिनैजना क्वारेन्टिनमा बसेका थिए । कास्कीमा अहिलेसम्म संक्रमितको संख्या चार पुगेको छ । कास्की बाहेक शनिबार स्याङजाको वालिङ नगरपालिकामा आठ र हरिनास गाउँपालिकामा दुईजना, बागलुङको ताराखोला गाउँपालिकामा एकजना र नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा तीन सहित शनिबार १७ जना संक्रमित फेला परेका छन् । अहिलेसम्म प्रदेशमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।

संक्रमित तीनैजनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसोलेसन वार्डमा उपचारार्थ भर्ना गरिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित: २४ जेष्ठ २०७७ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App