७ वैशाख २०८१ शुक्रबार
समाज

बाँकेमा बन्दाबन्दीलाई थप कडाइ

जिल्ला प्रशासन कार्यालय बाँकेले बारअनुसार पसल खोल्न दिने निर्णय खारेज गर्दै बन्दाबन्दीलाई पुनः कडाइ गरेको छ। बजार र पसल व्यवसाय सञ्चालन गर्दा कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएकाले सो निर्णयलाई खारेज गरेर बन्दाबन्दीलाई थप प्रभावकारी बनाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।  

यसअघि जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक गरेर बारअनुसार पसल व्यवसाय खोल्न दिने निर्णय गरेको थियो। अत्यावश्यक र दैनिक उपभोग्य वस्तुसँग सम्बन्धितबाहेक अन्य पसल सञ्चालनमा रोक लगाएको छ।  

उनका अनुसार जिल्लामा अब बिहान ११ देखि दिनको ३ बजेसम्म अत्यावश्यक र दैनिक उपभोग्य वस्तुसँग सम्बन्धित पसल मात्र सञ्चालन गर्न प्रशासनले सूचना जारी गरेको छ। बारअनुसार पसल सञ्चालन गर्न दिने निर्णयको भोलिपल्ट बिहीबारमात्रै ४२ नयाँ सङ्क्रमित थपिएपछि प्रशासनले निर्णय फिर्ता लिई बन्दाबन्दीलाई पूर्णरूपमा पालना गर्न आग्रह गरेको छ।  

जिल्लामा सङ्क्रमितको सङ्ख्या २५५ पुगेको छ भने ४० जनाले कोरोना पराजित गरी घर फर्किएका छन्। पछिल्लोपटक बिहीबार जानकी गाउँपालिकामा भेटिएका ४० जनालाई वडा नं २ जोगागाउँमा आइसोलेसन केन्द्र बनाइ व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।  

प्रकाशित: २४ जेष्ठ २०७७ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App