५ वैशाख २०८१ बुधबार
समाज

फेकोफोनले गर्‍यो सत प्रतिशत प्रगतिसहितको नतिजा सार्वजनिक

फेकोफन ताप्लेजुङले आयोजना गरेको समिक्षा तथा अन्तरसम्बाद्ध कार्यक्रममा सहभागी । तस्बिर : नागरिक ।

सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले पवित्र हिमालय भू–परिधि कार्यक्रमको १ वर्षे योजनाको समिक्षा तथा सरोकारवाला सदस्यहरुसंग अन्तरसम्बाद गरेको छ । पवित्र हिमालय भू–परिधि कार्यक्रम तीनजुरे–मिल्के–जलजले संरक्षण क्षेत्र आयोजनाको सहयोगको सञ्चालित योजना हो ।  

भौतिक दुरीसहितका अवस्थालाई मध्यनजर गर्दै महासंघले कार्यक्रममार्फत भएको भौतिक तथा बित्तीय प्रगति समिक्षा गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन)का जिल्ला अध्यक्ष सुरज ओझाका अनुसार जम्मा १६ प्रकृतिका कार्यक्रमको भौतिक तथा बित्तीय प्रगतिको अवस्था सत प्रतिशत नजिक रहेको छ । ओझाका अनुसार कार्यक्रमको कूल प्रगति ९९.६४ प्रतिशत रहेको छ । कूल ७९ लाख ४२ हजार २९० रुपैयाँ बजेट बराबरको कार्यक्रम रहेकोमा अहिले सम्म ७९ लाख १३ हजार ८४७ रुपैयाँ बराबरका कार्यक्रम फस्र्यौट भईसकेको ओझाले जानकारी दिए ।  

सामुदायिक वनको कार्ययोजना नविकरण तथा उनीहरुको कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने र निजी तथा कृषि वन कार्यक्रम प्रवद्र्धन कार्यक्रम पवित्र हिमालय भू–परिधि कार्यक्रम अन्र्तगत सञ्चालित थिए । सामुदायिक वनको कार्ययोजना कार्यान्वयनका क्रममा फेकोफनले क्षमता विकास,कार्यालय सञ्चालन सहयोग,पानीका स्रोत व्यवस्थापन र वन सम्वद्र्धनका कार्यक्रम सञ्चालन गरेको थियो ।  

यस्तै सार्वजनिक जग्गा तथा सडक छेउछाउमा बृक्षरोपण,वनमा आधारित उद्यमलाई संस्थागत सहयोग,घाँसे मैदानको सुबिधा सुधार,समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाई गठन तथा उनीहरुलाई चाहिने व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीमा सहयोग लगायतका कार्यक्रम फेकोफनले सञ्चालन गरेको थियो । भौतिक पूर्वाधारतर्फ पर्यटन पदमार्गको प्रवद्र्धन तथा सुधार,बिश्रामस्थलको निर्माण तथा सुधार,पर्यटनसंग सम्वन्धित होर्डिङबोर्ड स्थापना लगायतका कार्य भएका थिए । 

फेकोफोनले संरक्षण सम्वन्धी जनचेतनामूलक कार्य,इको क्लवको माध्यमबाट विद्यालयमा वातावरण शिक्षा कार्यक्रम सञ्चालन,सामुदायिक वन उपभोक्ता समूह तथा संस्थाको सार्वजनिक सुनुवाई तथा सामाजिक लेखा परीक्षण,वन पैदावारको औद्योगिक मेला प्रर्दशनी,कार्यक्रम व्यवस्थापन तथा अनुगमन सहितका कार्यक्रम सञ्चालनमा आएको फेकोफनले जनाएको छ ।  

समिक्षा तथा सरोकारवाला सदस्यहरुसंग अन्तरसम्बाद कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,डिभिजन वन अधिकृत बीरेन्द्र शाह,फेकोफोनका केन्द्रीय सदस्य कृष्णप्रसाद ओझासहित सामुदायिक वन उपभोक्ता समूह र उपभोक्ता महासंघका अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित: २४ जेष्ठ २०७७ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App