८ वैशाख २०८१ शनिबार
समाज

पिसिआर नेगेटिभ आएपनि १४ दिन क्वारेन्टिन बस्नैपर्ने

भारतबाट आएर जिल्लाको विभिन्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएपनि १४ दिनपछि मात्र घर पठाइने भएको छ । नेपालमा कोरोना संक्रमण भएका बिरामीमध्ये धेरैजसोको लक्षण नदेखिएको कारण रिपोर्ट नेगटिभ आएपनि क्वारेन्टिनमा राखिएको जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिष्टेन्ट उत्सव पौडेलले बताए ।  

अस्पतालले यही जेठ १८ गते ९ जनाको स्वाब संकलन गरेर आरटी–पिसिआरका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । उनीहरू सबै जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएको छ । उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनले बताए ।

भारतबाट आएर जिल्लाको तीनवटा गाउँपालिकाको क्वारेन्टिनमा बसिरहेका ९ जना व्यक्तिको सुरुमा नै आरटी–पिसिआर गरिएको थियो । यसअघि सुरुमा द्रुत विधिबाट परीक्षण हुँदै आएकोमा यसपटकदेखि सुरुमा नै आरटी–पिसिआर गरिएको हो ।  

जीवजीवे ग्रामीण अस्पतालले नौकुण्डको ३, उत्तरगयाको ४ र कालिकाको दुई जना गरी ९ जनाको आरटी–पिसिआरको लागि प्रयोगशाला पठाएको थियो । नेपाल भित्रबाट आएर क्वारेन्टिन बसेका व्यक्तिको १४ दिनपछि आरडिटी गरिने र बाहिरी देशबाट आएका व्यक्तिको १५ दिन भित्रै आरटी–पिसिआर गरिने उनको भनाइ छ ।  

जिल्लामा हालसम्म ४ सय ८७ जनाको आरडिटी गरिएको छ । हालसम्म जिल्लाबाट २७ जनाको स्वाब संकलन गरेर आरटी–पिसिआरका लागि प्रयोगशाला पठाइएको छ । जसमा २४ जनाको रिपोर्ट आएको छ । उनीहरू सबै जनाको कोरोना रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

प्रकाशित: २४ जेष्ठ २०७७ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App