४ वैशाख २०८१ मंगलबार
समाज

क्वारेन्टिन भित्रको अमानवीयता : ‘अपराधी जस्तै बनाईयो’

छुट्टै घर । परिवारका सदस्य नजिक पर्नै चाहन्नन् । सानी छोरी भन्छिन् ‘बाबालाई कोरोना लागेको छ छुन हुन्न ।’ १४ दिन सम्म क्वारेन्टिनमा बसेका दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौँडियारका दामोदर भण्डारी (नाम परिवर्तन) कोरोना जाँच बिनै घरको बन्द कोठामा थुनिन गईपुगे । दुईसाता लामो क्वारेन्टिन बसाईका क्रममा सम्म उनले थाहा पाउन सकेनन् ‘मलाई कोरोना छ कि छैन’ भन्ने । 

भारतबाट ५ जेठमा आएका उनी परिवारका कुनै पनि सदस्यसंग घुलमिल हुन पाएका छैनन् । आफ्नो स्वास्थ्य जाँचका लागि आतुर उनी भन्छन् ‘पिसिआर टेष्ट कहिले होला ?’ चेक नगराएरै किन घर जानु भयो त ? उनले फोनमा जवाफ दिए ‘म आँफुखुशी आएको हैन, मलाई निकालिएको हो ।’  

आरडिटी परीक्षणकै भरमा क्वारेन्टिनबाट निकालिएका दामोदरले निकालिनुको पीडा मात्रै सहेनन् । आएकै दिन देखिको ‘अमानवीयता’ सहेका उनी भन्छन् ‘हामीलाई अपराधि जस्तै बनाईयो ।’ ५ जेठमा दाङ आइपुगेका दामोदरले आँफू आउन लागेको वडा कार्यालयलाई पूर्व जानकारी गराइसकेका थिए । क्वारेन्टिनमै बसेर स्वास्थ्य जाँच गराएर मात्रै घर जाने निधो गरेका दामोदरले दाङ आइपुगेकै दिन क्वारेन्टिन भित्रको अमानवीयता सहनु पर्यो । उनी क्वारेन्टिन सञ्चालन गरिएको विद्यालय मावि सौँडियारको हाताभित्र प्रवेश त गरे । तर कोठा पाएनन् । 

उनी भन्छन् ‘राती स्कुलको बरण्डामै सुत्यौँ ।’ विहान ३ वजेतिर आँफूहरू आइपुगेको जानकारी दामोदरले वडा अध्यक्षलाई गराइसकेका थिए । ‘हामी आइपुग्यौँ, हामीहरूलाई बसाल्दिनु पर्यो भनेर वडा अध्यक्षलाई भन्यौँ,’ उनले भने ‘तर हाम्रो व्यवस्थापनका लागि कोहीँ पनि आएन, अनि राती बरण्डामै सुत्यौँ ।’ विहान तीन बजे क्वारेन्टिन आइपुगेका दामोदर सहितको ६ जनाको समुहले १६ घण्टा पछि बल्ल कोठा पायो । ‘राती आइपुगेको शरिर थाकेको थियो,’ उनले भने ‘१६ घण्टा पछि बल्ल कोठामा पस्न दिईयो ।’

क्वारेन्टिन प्रवेश पछि त्यहाँ भित्र गरिएको व्यवहारले उनलाई झनै खिन्न बनायो । ‘हामीहरूलाई अछुत जस्तै बनाइयो,’ उनले भने ‘हामी माथि कडा शासन लादियो,हामी कतै हिँड्दा पनि त्यता हिँड्ने हैन कोरोना सर्छ भनेर अमानवीय व्यवहार देखाइयो ।’ 

क्वारेन्टिन प्रवेश पछि त्यहाँ भित्र गरिएको व्यवहारले उनलाई झनै खिन्न बनायो । ‘हामीहरूलाई अछुत जस्तै बनाइयो,’ उनले भने ‘हामी माथि कडा शासन लादियो,हामी कतै हिँड्दा पनि त्यता हिँड्ने हैन कोरोना सर्छ भनेर अमानवीय व्यवहार देखाइयो ।’ खानपानको असुविधा उत्तिकै । परिवारले साँझ विहान खाना बोकेरै ल्याईदिनु पर्यो । पानीको असुविधा उस्तै । ‘शौचालय जाने पानी पनि नभएपछि एक दिन एकजनाको घरबाट पानी माग्यौँ,’ उनले सुनाए । भुइमा सुत्नु परेको सकस सुनाउँदै दामोदरले थपे ‘त्यहाँको अमानवीय व्यवहारको कुरा गरि साध्यै छैन, तैपनि कोरोना परीक्षणका लागि सबै सह्यौँ ।’ 

कोरोना परीक्षण गरेर आफ्नो स्वास्थ्यको निक्र्यौल गर्ने अभिलाषाले ‘क्वारेन्टिन सकस’ झेलेका दामोदर आफ्नो स्वास्थ्यको भरपर्दो परीक्षण नगरेरै निकालिनु पर्यो । क्वारेन्टिन बसाईको १४ औँ दिन कोरोना परीक्षण हुने हल्लाले उनी निकै खुशी भए । अर्को एक विद्यालयमा परीक्षणका लागि उनलाई लाग्यो ‘पक्कै पिसिआर परीक्षण हो ।’ तर उनको आरडीटी परीक्षण गरियो । उक्त परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आयो । अनि क्वारेन्टिनले उनलाई कोरोना नभएको निक्र्यौल गरेर घर जान भन्यो । ‘आरडिटी हैन, पिसिआर परीक्षण गरेर मात्रै हामी घर फर्कन्छौँ भन्यौँ,’ उनले भने ‘तर हाम्रो केहि जोर चलेन ।’ आँफूहरूले परीक्षण गर्न सक्ने भनेकै आरडिटी मात्रै हो भन्दै वडा अध्यक्ष खोपीराम चौधरीले क्वारेन्टिन खाली गर्न उर्दि दिए । 

अन्यथा उनीहरू बसेकै कोठामा भारतबाट आएका थप ६ जनालाई कोचेर राख्ने धम्की दिए । ‘त्यो दिन भारतबाट अरु ६÷७ जना आउन थालेका रहेछन्,’ दामोदरले भने ‘घर नगए उनीहरूसंगै कोचेर एउटै कोठामा राख्ने धम्की दिएपछि संक्रमणको झन खतरा देख्यौँ र निस्कीयौँ ।’ घरमा पुगे पनि बन्द कोठामै सिमित छन् उनी । पिसिआर विधीबाट आफ्नो जाँच नहुँदा सम्म आँफूमा कोरोना भए नभएको उनको मनले एकिन गर्नै सक्दैन । ‘सुर्खेतमा आरडिटी चेक गराएर घर पठाइएका एकजनाको कोरोनाकै कारण मृत्यु भयो,’ उनले भने ‘हामीहरूको जसरी भएपनि पिसिआर परीक्षण गराइदिनु पर्यो ।’

‘क्वारेन्टिनमा बसेर आफ्नो चेकजाँच होला र घर फर्कौँला भनेको अहिले क्वारेन्टिनबाट निक्लिएर गोठमा बस्नु परेको छ,’ उनले भने ‘हामीहरूलाई यस्तो अमानवीय व्यहार स्थानीय सरकारले गरेको छ, मानौँ हामीहरू ठूलै अपराध गरेका आएका हौँ ।’ 

दामोदरसंगै भारतबाट आएका रबिन केसी (नाम परिवर्तन) ले क्वारेन्टिनको १४ दिन लामो सकस काटे । १४ दिन पछि उनको बसाई अहिले गोठमा छ । यसको कारण उनी पनि क्वारेन्टिनबाट दामोदरसंगै निकालिए । ‘क्वारेन्टिनमा बसेर आफ्नो चेकजाँच होला र घर फर्कौँला भनेको अहिले क्वारेन्टिनबाट निक्लिएर गोठमा बस्नु परेको छ,’ उनले भने ‘हामीहरूलाई यस्तो अमानवीय व्यहार स्थानीय सरकारले गरेको छ, मानौँ हामीहरू ठूलै अपराध गरेका आएका हौँ ।’ रबिनसंगै गोठमा उनका भाई पनि छन् । 

गोठमा सकसपूर्ण दिन काट्नु परेको सुनाउँदै रबिनले थपे ‘हामीहरू कहिले सम्म गोठमा बस्ने ? सर्प विच्छीको जोखिम उत्तिकै छ ।’ उनले पनि आँफू पिसिआर परीक्षण नहुँदा सम्म क्वारेन्टिनमै बस्ने अडान लिएका थिए । तर आरडिटी परीक्षणलाई सर्वेसर्वा भन्दै थप केहि नहुने वडा अध्यक्षले सुनाइदिए । 

‘हामीहरूले गर्न सक्ने भनेको यहि चेक हो,’ वडा अध्यक्ष चौधरीको भनाई उदृत गर्दै रबिनले भने ‘तपाईहरू निक्लिहाल्नुस् नत्र अरु मान्छे कोचिदिन्छु ।’ वडा अध्यक्षको यो धम्की पछि रबिन पनि घर फर्कने निधोमा पुगे । तर परिवार संग कसरी घुलमिल हुनु ? भत्कन आँटेको जिर्ण गोठमा उनको बसाई सुरु भयो । ‘हामीहरूले उहाँलाई कसरी छुने ?मान्छे पो आफ्नो हो, रोग कसरी आफ्नो हुन्छ?’ रबिनकी श्रीमती उमा (नाम परिवर्तन) ले भनिन् ‘मेरो श्रीमानमा कोरोना छ कि छैन भन्ने नै एकिन गर्दिएन सरकारले ।’ उमाले पनि वडा अध्यक्ष समक्ष आफ्नो श्रीमानको पिसिआर परीक्षणका लागि बिन्ती गरेकी थिईन् । उनले थपिन् ‘गलहत्याएर निकालेको जस्तै भयो ।’

प्रकाशित: २४ जेष्ठ २०७७ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App