८ वैशाख २०८१ शनिबार
समाज

कोरोना ‘हटस्पट’मा खुसी छाउँदै

कोरोना संक्रमण निको भएर घर फर्किदै नरैनापुरका युवा । तस्बिर: कमल/नागरिक

नरैनापुर भन्नेबित्तिकै धेरैजसोले सहजै अनुमान गर्छन्– बाँकेको दुर्गम क्षेत्र । बाँकेमा विकासले छुन नसकेको गाउँपालिकाको सूचीमा नरैनापुर अगाडि छ । जहाँ हरेक वर्ष जनताले प्राकृतिक विपत्को सामना गर्नुपर्छ । बाढी, आगलागी जस्ता विपत्सँग हरेक वर्ष नरैनापुरवासीले जुध्नुपर्छ ।  

प्राकृतिक विपत्सँग जुध्ने बानी परेका नरैनापुरवासी यस वर्ष भने कोरोनाको मारमा प¥यो । कोरोना भाइरस संक्रमणले पूरै गाउँपालिका केही दिन सिल गर्नुप¥यो । संक्रमितको संख्या ह्वात्तै बढयो । एक युवकको क्वारेन्टाइनमै मृत्यु भयो । भारतबाट आएका युवासँगै गाउँका १८१ जना संक्रमित भए । जसले गर्दा बाँकेमा नरैनापुर कोरोना ‘हटस्पट’ बन्यो । स्थानीय सरकारले स्थिति नियन्त्रण गर्न नसक्ने अवस्था आएपछि सेना परिचालन गरियो ।  

केही समयको असामान्य अवस्थापछि अहिले सामान्य अवस्थामा फर्कंदै छ नरैनापुर । कोरोना ‘हटस्पट’ बनेको नरैनापुरमा बिस्तारै खुसीको सन्देश फैलिँदैछ । शुक्रबार मात्रै १२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए । एक साताअघि तीनजना निको भएर घर गएका थिए । कोरोना संक्रमणले त्रासपूर्ण जीवन बिताइरहेका गाउँलेका लागि शुक्रबारको यो खबरले उत्साह थपेको छ ।  

नरैनापुर मटेहियाका गुरमुरद यादवले कोरोना जितेर युवा घर फर्किएपछि गाउँमा खुसी छाएको बताए । १५ दिन लायन्स अस्पताल बसेर निको भएका युवालाई बिदा गर्न शुक्रबार नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धबलशमशेर राणा र उपमेयर उमा थापामगर त्यहाँ पुगेका थिए । मेयर र उपमेयरले निको भएका युवालाई खादा र फूल दिएर बिदाइ गरे ।

कोरोना संक्रमित निको हुँदै जानु सुखद पक्ष भएको बताउँछिन् उपमेयर थापामगर । उनले भनिन्, ‘आज .(शुक्रबार) उहाँहरु निको भएर घर जाँदै हुनुहुन्छ । यो खुसीको कुरा हो । हामी अहिले संकटपूर्ण अवस्थामा छांै । यतिबेला आत्मविश्वासका साथ अघि बढनुपर्छ । हिम्मत राख्यो भने कोरोनालाई जित्न सकिन्छ ।’

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पनि बढिरहेको छ । शुक्रबारसम्म देशभर ३ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।  

लकडाउनले दैनिकी कठिन बन्दै गइरहेको छ । नरैनापुरको अवस्था भने अहिले सामान्य बन्दैछ । सेना परिचालन भएपछि स्थिति नियन्त्रणमा आउँदैछ । गाउँपालिकाको व्यवस्थापनबाट स्थानीय भने खुसी हुन सकेका छैनन् । भारतीय सीमासँग जोडिएको गाउँपालिकाले सुरुआतमा गरेको गल्तीको परिणाम भोग्नुपरेको बताउँछन स्थानीय । भारतबाट आउनेको व्यवस्थापन गर्न नसक्दा संक्रमण तस्व्र गतिमा फैलिएको थियो ।

कोरोनासँग जुध्न गाउँपालिकाको व्यवस्थापन पक्ष अझै कमजोर छ । गाउँपालिकाले अहिलेसम्म आइसोलेसन अस्पताल बनाउन सकेको छैन । जसका कारण संक्रमितलाई नेपालगन्ज वा दाङ लगेर उपचार गराउनुपर्ने बाध्यता छ । क्वारेनटाइनमा बसेकाको परीक्षण गति बढाउन सकिएको छैन । गाउँपालिकाले बल्ल दुइटा एम्बुलेन्सको व्यवस्था गरेको छ ।

थुप्रै कमजोरीका बीच १२ जना निको भएर शुक्रबार घर फर्कंदा स्थानीयमा नयाँ उत्साह देखियो । उत्साहबीच स्थानीय सरकारप्रति गाउँलेको गुनासो छ । स्थानीय सरकारको कमजोरीले गर्दा गाउँले एक युवक गुमाउनुप¥यो । अब गाउँले अरु युवा गुमाउन नपरोस् भन्छन् यादव । उनले भने, ‘स्थानीय तहको कमजोर व्यवस्थापनले नरैनापुरले मानवीय क्षति बेहोर्नुप¥यो । अब त्यस्तो नहोस् । गाउँपालिका, प्रदेश र संघीय सरकारले व्यवस्थापन बलियो बनाउनुपर्छ ।’

यादवले भनेजस्तै शुक्रबार पनि गाउँपालिकामने व्यवस्थापनमा कति कमजोर छ भन्ने एउटा घटनाले संकेत गरिरहेको थियो । निको भएका युवालाई लिन नरैनापुरबाट १ बजे एम्बुलेन्स आउने तय थियो । तर एम्बुलेन्स समयमा आएन । एम्बुलेन्स नआएपछि युवा नेता विमल चन्दले एक निजी अस्पतालको एम्बुलेन्स व्यवस्थापन गरे । एम्बुलेन्स कुरिरहेका युवालाई दिउँसो ३ बजे बिदाइ गरियो । हातमा फुलको गुच्छा लिएका युवा हात हल्लाउँदै खुसी हुँदै घर फर्किए ।

प्रकाशित: २४ जेष्ठ २०७७ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App