१६ चैत्र २०८० शुक्रबार
समाज

बाह्रै महिना ‘जुवाको अखडा’ उपत्यका

जतिसुकै प्रहरी अनुगमन र कडाइ गरिए पनि काठमाडौं जुवाडेहरूको अखडा बन्दै आइरहेको छ । उपत्यकाका विभिन्न ठाउँका जुवाखालबाट दैनिक ५ देखि १० जना पक्राउ पर्छन् । प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग भएको पैसा बरामद गरिदिन्छ र दुई/चार दिन हिरासतमा राख्छ । जुवालाई सामान्य अपराध मान्दै जिल्ला प्रशासन कार्यालयले झिनो चार्जमा हिरासतमुक्त गरिदिन्छ । प्रहरीले पक्राउ गरेर सामान्य सजाय पाएर उम्किएकाहरू झन् गोप्य र प्रहरीले पत्तो नपाउने ठाउँमा खोजेर जुवामा जान्छन् । त्यसको उदाहरण हो, पाँच दिनअघि पक्राउ परेका जुवाडेहरूको ९ जनाको समूह ।

कमलादीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरू शुक्रबार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयले जनही ३० हजार धरौटी माग गरी रिहा गरिदिएको हो । प्रहरीका अनुसार उनीहरू धनाढ्य व्यापारी हुन् । अन्य व्यापार व्यवसाय सुचारु नभइरहेको अवस्थामा जुवालाई नै व्यवसाय मानेर मोटो रकमसहित जुवा खेलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले सोमबार राति पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको समय लिएर अनुसन्धान अघि बढाएको थियो । कमलादीस्थित गंगौर होटलमा जुवा खेलिरहेका बेला रामचन्द्र सांघाई, पुरुषोत्तम अग्रवाल, अशोक अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगार्ई २ लाख ७७ हजार नगदसहित पक्राउ परेका थिए ।  

उनीहरूले नगद थोरै राखेर क्यासिनोमा प्रयोग हुने चिप्स (पैसाकै जस्तो मूल्य भएको सामग्री) प्रयोग गरेकोे आंशका प्रहरीले गरेको थियो । नगद थोरै राखे पनि मोबाइल बैंकिङ, ई–सेवालगायत डिजिटल डिभाइसहरूबाट पैसा पठाएको हुनसक्ने प्रहरीको निष्कर्ष थियो । तर, प्रहरीले गम्भीर र मोटो रकमको कारोबार नभएको भनेपछि  उनीहरूमाथि सामान्य कारबाही भएको छ ।

प्रहरीले बिहीबारै अनुसन्धान प्रमाण सरकारी वकिलको कार्यालयमा पठाएको थियो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार उनीहरूलाई छाडेको छ । तर, यो समूह व्यापारिक र उच्च खानदानी मानिन्छ । राजधानीमा अरू व्यापार सेलाएको बेला पैसा कमाउने खेलमा उपत्यकामा ठुल्ठुला व्यवसायी जुवामा भुलेको विषय यसले पुष्टि गर्छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जुवातासमा प्रहरीले जतिसुकै कडाइ गरे पनि भित्रभित्रै खेल्ने क्रम नरोकिएको बताए । उनले भने, ‘हामीले पक्राउ गर्ने हो, घटनाको अनुसन्धान गरी माथिल्लो निकायमा पठाउँछौं, कारबाही हाम्रो हातमा मात्रै हुन्न ।’  

प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनयता उपयत्यकाका विभिन्न ठाउँबाछ जुवा खेल्ने ८ सय जना पक्राउ परेका थिए । उनीहरूलाई प्रहरीले केही दिन हिरासतमा राखेर छाडेको थियो । ‘जुवा र लागुऔषधमा संलग्नहरू लकडाउनको बेला पनि उत्तिकै सक्रिय रहे, हामीले सामान्यदेखि ठुल्ठुला जुवाखालबाट पक्राउ गरी कारबाही गरेका छौं,’ नेपाल प्रहरीका प्रवक्ता निरज शाहीले भने ।  

गत कात्तिकमा पनि उपत्यकामा भिआइपी जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको थियो । महाराजगञ्जस्थित होटल साम्लानजिकै विक्रम पौडेलको घरमा छापा मार्दा ५ करोड बढी रकम बरामद गरेको थियो । त्यतिबेला २५ जनामाथि कुन प्रकारको कारबाही हुने भन्ने चर्चा पनि चलेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई ३० देखि ५० हजार रुपैयाँ धरौटी लिएर छाडेको थियो ।  

प्रहरीले मोटो रकमसहित पक्राउ पर्नेलाई सामान्य हिरासतमा राख्दै छाडे पनि कानुन भने कडा छ । तर, उक्त कानुनअनुसार जुवाडेलाई प्रशासनले कारबाही गरेको देखिन्न । मुलुकी अपराध संहितामा व्यवस्था भए अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । एउटै व्यक्ति दोस्रो पटक जुवा खेलेमा वा खेलाएमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । बाम्बार जुवा खालमा संलग्नमाथि ३ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । 

पूर्व डिआइजी हेमन्त मल्लले जुवा खेल्नेलाई कानुनअनुसार कारबाही नभएको बताए । जुवाको मुद्दामा कारबाही र किनारा गर्ने मुख्य जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई रहन्छ । तर, प्रशासनले सामान्य रकम लिएर जुवामा संलग्न अपराधीलाई छाड्ने गरेको छ । ‘प्रशासनले जुवा खेल्नेलाई त्यति कडा कारबाही गरेको देखिन्न, कम्तीमा कानुनअनुसार कारबाही हुन्थ्यो भने अरू पनि हच्किन्थे,’ उनले भने ।  

प्रकाशित: २४ जेष्ठ २०७७ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App