६ वैशाख २०८१ बिहीबार
समाज

कोरोनाको ‘हटस्पट’मा खुसीयाली छाउँदै

निको भएर घर फर्किदै नरैनापुरका युवा । तस्बिर : कमल खत्री/नागरिक

नरैनापुर भन्ने बित्तिकै अधिकाशले सहजै अनुमान गर्छन बाँकेको दुर्गम क्षेत्र । बाँकेमा विकासले छुन नसकेको गाउँपालिकाको सुचिमा नरैनापुर अगाडी छ । जहाँ हरेक वर्ष जनताले प्राकृतिक प्रकोपको सामना गर्नुपर्छ । बाढी, आगलागी जस्ता विपतसँग हरेक वर्ष नरैनापुरवासीले जुध्न पर्छ ।

प्राकृतिक विपतसँग जुध्नेबानी परेका नरैनापुरवासीले यस वर्ष भने अहिले सम्मकै कठिन समयबाट गुज्रिए । कोरोना भाइरसको संक्रमणले गाउँपालिका नै केहि दिनका लागि सिल गर्न पर्यो । संक्रमितको संख्या ह्वात्तै बढयो । एक युवाको क्वारेनटिनमै मृत्यु भयो । भारतबाट आएका युवाहरुसँगै गाउँका १ सय ८१ जना संक्रमित भए । जसले नरैनापुर बाँकेमा कोरोनाको ‘हटस्पट’ बन्यो । स्थानीय सरकारले स्थित नियन्त्रण गर्न नसक्ने अवस्था आएपछि सेना परिचालन गरियो ।

अहिले सामान्य अवस्थामा फर्कदै नरैनापुर । कोरोनाको ‘हटस्पट’ बनेको नरैनापुरमा विस्तारै खुसीको सन्देश गाउँभरी फैलिदैछ । शुक्रबार एकै दिन १२ युवा संक्रमण मुक्त भएर घर फर्किए । एक साता अघि ३ जना निको भएर गाउँ आएका थिए । कोरोना संक्रमणले त्रासपुर्ण जीवन बिताइरहेका गाउँहरूका लागि शुक्रबारको खवरले उत्साह थपेको स्थानीय युवा बताउँछन्।

कोरोना जितेर गाउँका युवा घर फर्किएपछि गाउँमा खुसीयाली छाएको नरैनापुर मटेहियाका गुरमुरद यादव बताउँछन् ।

१५ दिन अस्पताल बसेर कोरोना भाइरसमुक्त भएका युवालाई बिदाइ गर्न शुक्रबार नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवलशमसेर राणा र उपमेयर उमा थापामगर लायन्स अस्पताल पुगेका थिए । मेयर र उपमेयरले निको भएका बिरामीलाई खादाँ, फुल सहित बिदाई गरे ।

कोरोनाको डरले समाजलाई अप्ठयारो बनाइरहेको बेला निको हुनेको संख्या बढनु सुखद पक्ष भएको उपमेयर मगर बताउँछिन्। उनले भनिन्, ‘आज उहाँहरु निको भएर घर जादैहुनुहुन्छ । यो खुसीको कुरा हो । हामी अहिले संकटपुर्ण अवस्थामा छौं । यतिबेला आत्मविश्वास साथ अगाडी बढनुपर्नेछ । हिम्मत राख्यो भने कोरोनालाई जित्न सकिन्छ ।’

लकडाउनले जनताको दैनिक कठिन भैइरहेको बेला नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पनि बढिरहेको छ । शुक्रबारसम्म देशभर ३ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन्।

नरैनापुरमा अहिले अवस्था सामान्य बन्दै छ । सेना परिचालन भएपछि स्थिती नियन्त्रणमा आउँदैछ । गाउँपालिकाको व्यवस्थापनबाट स्थानीय भने खुसी हुन सकेका छैनन । भारतीय सीमासँग जोडिएको गाउँपालिकाले सुरुआतमा गरेको गल्तीको परिणाम भोग्नु परेको स्थानीय बताउँछन्। भारतबाट आउनेलाई व्यवस्थापन गर्न नसक्दा धेरैमा संक्रमण तिव्र गतिमा फैलिएको थियो ।

कोरोनासँग जुध्नका लागि गाउँपालिकाको व्यवस्थापन अझै कमजोर छ । गाउँपालिकाले अहिले सम्म आइसोलेसन अस्पताल बनाउन सकेको छैन । जसका कारण संक्रमितलाई नेपालगन्ज वा दाङ उपचार गराउनु पर्ने बाध्यता छ । गाउँपालिकामा बल्ल दुई वटा एम्बुलेन्सको व्यवस्था गरेको छ । क्वारेन्टिनमा बसेकाको परीक्षणको गति बढन सकेको छैन ।

थुप्रै कमजोरीका बिच शुक्रबार एक दर्जन युवा गाउँमा फर्कदा भने स्थानीयमा नयाँ उत्साह थियो । उत्साहकाबिच स्थानीय सरकार प्रति गाउँलेको गुनासो छ । जसले गाउँले एउटा युवा गुमाउनु पर्यो । अब गाउँले अरु युवा गुमाउन नपरोस भन्छन कटकुईयाका यादव । उनले भने, ‘स्थानीय तहको कमजोर व्यवस्थापनले नरैनापुरले क्षति ब्यहोर्नु पर्यो । अब त्यस्तो नहोस । गाउँपालिका, प्रदेश र संघीय सरकारले व्यवस्थापन बलियो बनाउनु पर्छ ।’

यादवले भनेजस्तै शुक्रबार गाउँपालिका व्यवस्थापनमा कति कमजोर छ भन्ने एउटा घटनाले संकेत गरिरहेको थियो । निको भएका युवालाई लिन नरैनापुरबाट १ बजे एम्बुलेन्स आउँने तय थियो । तर एम्बुलेन्स समयमा आएन । एम्बुलेन्स नआएपछि युवा नेता बिमल चन्दले एक निजि अस्पतालको एम्बुलेन्स व्यवस्थापन गरे । एम्बुलेन्स कुरिरहेका युवालाई दिउँसो ३ बजे बिदाई गरियो । हातमा फुलको गुच्छा लिएका युवा हात हल्लाउँदै खुसी हुँदै घर फर्किए ।

प्रकाशित: २३ जेष्ठ २०७७ १४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App