coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लीका २ सय ५० घरधुरी विपन्नलाई साहसको राहत

गाउँपालिका अध्यक्ष थापालाई राहत दिदै साहसका अधिकृत लामा । तस्विरः महेश्वर

कोरोना भाईरस (कोभिड १९) कहर खेप्दै आएका गरिव तथा विपन्न वर्गका स्थानीयलाई ‘सहयोगी हातहरूको समूह (साहस) नेपाल’नामक संस्थाले राहत प्रदान गरेको छ । जिल्लाको ताप्ली गाउँपालिकाका गरिव तथा विपन्न वर्गका जनतालाई साहसले खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको हो ।  

साहस नेपालको ‘लिफ्ट परियोजना’अन्तर्गत गाउँपालिकाका २ सय ५० घरधुरी अति विपन्न र गरिव परिवारलाई खाद्यान्न प्रदान गरेको हो । साहसले ताप्लीका ५ वटै स्वास्थ्य चौकीहरूलाई स्वास्थ्य सामग्रीसमेत प्रदान गरेको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताए । कोभिड–१९ संक्रमणबाट फैलिन नदिन अढाई महिनायता जारी लकडाउनका कारण रोग र भोकबाट ग्रस्त भईरहेका विपन्न बर्गका जनतालाई ५ हजार किलो चामल, ५ सय किलो दाल, २ सय ५० लिटर तेल, २ सय ५० किलो नुन र ५ सय थान हात धुने सावुन साहसबाट प्राप्त भएको अध्यक्ष थापाले बताए ।

साहसका परियोजना अधिकृत देवेन्द्र लामाका अनुसार ५ वटा स्वास्थ्य चौकीलाई ग्लोब ६ सय जोर, सर्जिकल मास्क ८ सय १० थान, केएन ९५ मास्क ६० थान, सेफ्टी चस्मा १५ थान, गमबुट २० जोर, सेनिटाईजर २५ बोतल सहयोग प्रदान गरिएको छ । त्यस्तै गाउपालिकास्तरीय कोभिड प्रतिकार्य समितिलाई ५० हजार नगद र क्वारेन्टिनमा बस्नेहरूका लागि खाने चामल, सुत्न तन्ना र ब्ल्यांकेटसमेत हस्तान्तरण गरेको अधिकृत लामाले बताए । लामाका अनुसार साहले ४ लाख ७९ हजार ३ सय १० रुपैंयाबराबरको सहयोग दिएको जानकारी गराए ।

सामग्री बुझ्दै अध्यक्ष थापाले विपतको घडीमा जोखिम मोलेर जनतासँग निकट रहँदै सहयोग जुटाईदिएकोमा साहसलाई धन्यबाद दिए । उनले प्राप्त सामग्री तत्काल लक्षित बर्गका जनतालाई वितरण गर्ने प्रतिबद्धता पनि जनाए । अध्यक्ष थापाले ताप्ली गाउँपालिका अहिलेसम्म कोरोनामुक्त रहेको तर, संक्रमणको जोखिम कायमै रहेकाले सबैजना सतर्क भएर लकडाउन पालना गर्न तथा घरघरमै क्वारेन्टिनमा बस्न आग्रह गरेका थिए ।

ताप्लीमा हालसम्म २ जनाको पिसिआर परीक्षण गरिएकोमा दुवैको रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी विधिबाट ३८ महिला र १ सय १५ पुरुषको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको अध्यक्ष थापाले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार उदयपुरमा हालसम्म पिसिआर विधिबाट  ७ सय ६६ महिला र १ हजार ७ सय पुरुष गरी २ हजार ३ सय ६६ को परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जसमध्ये ६ सय ७१ महिला र १ हजार २ सय ८२ पुरुष गरी १ हजार ९ सय ५३ को रिपोर्ट आउँदा ७ महिलासहित ३३ जना संक्रमित देखिएकोमा १ महिलाबाहेक सबै निको भएर घर फर्किसकेका छन् । जिल्ला स्वास्थ्य प्रमुख मोहन सुबेदीका अनुसार आरडिटी विधिबाट गरिएको १ सय २० महिला र ५ सय ७१ पुरुषको परीक्षण रिपोर्ट सबै नेगेटिभ आएको छ ।

प्रकाशित: २३ जेष्ठ २०७७ १४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App