१६ चैत्र २०८० शुक्रबार
समाज

पोखराका होटलमा क्वारेन्टिन खर्च : एक्लैको ४२ हजार, साथीसँग बस्दा २८ हजार

होटलको खर्चिलो बसाईले मजदुरी गरेर फर्केका व्यक्तिमा आर्थिक भार थपिने

पोखरा लेकसाइडका होटल । विदेशबाट फर्केका नेपालीलाई यहाँका होटलमा क्वारेन्टिनमा राख्ने तयारी भएको छ । फाइल तस्बिरः सन्तोष/नागरिक

कामका लागि विभिन्न मुलुक पुगेका नेपाली नागरिकको कोरोना भाइरस संक्रमणका कारण स्वदेश फिर्ता सुरु भईसकेको छ । स्वदेश फर्किएका ती नागरिकलाई विभिन्न ठाउँका होटलमा क्वारेन्टिन बनाएर राख्ने तयारी छ । क्वारेन्टिनको रुपमा होटलमा बस्दाको खर्च व्यक्ति आफैले बेहोर्नुपर्नेछ । होटलमा बस्दाको खर्च व्यक्ति आफैले बेहोर्नुपर्दा उनीहरुमा झनै बढी आर्थिक भार थपिने निश्चित भएको छ ।

लामोसमय कामविहीन भएर स्वदेश फर्केका कतिपय ती नागरिकलाई त होटलको महंगो क्वारेन्टिन बसाईले झनै आर्थिक बोझ बढाउने पर्यटन व्यावसायी नै बताउँछन् । पोखराका होटलका करिब पाँचहजार कोठालाई क्वारेन्टिन बनाउने तयारी छ । ती होटलमा कम्तिमा १४ दिन क्वारेन्टिनको रुपमा बस्दा प्रतिव्यक्ति प्रतिदिन (एउटा कोठामा दुईजना बसेको खण्डमा) दुईहजार रुपैयाँका दरले एकजनाको कम्तिमा २८ हजार रुपैयाँ खर्च हुनेछ । एउटा कोठामा एक्लै बस्दा त झनै बढी प्रतिदिन तीनहजार रुपैयाँका दरले ४२ हजार रुपैयाँ खर्च लाग्नेछ ।  

पश्चिमाञ्चल होटल संघले केहीदिन अघि क्वारेन्टिन व्यवस्थापनको केन्द्रीय समितिलाई होटललाई क्वारेन्टिन बनाउँदाको अवस्थामा लाग्ने प्रतिव्यक्ति खर्चबारे प्रस्तावित मुल्यसुँची पठाएको थियो । पहिलोपटक पठाएको मुल्य महंगो भएको भन्ने सरकारी जवाफपछि संघले केही घटाएर दोश्रोपटक मुल्यसूँची प्रस्ताव गरेको छ । दोश्रोपटक पठाएको प्रस्तावित मुल्य भन्दा सस्तोमा होटलमा क्वारेन्टिन बनाएर विदेशबाट फर्किएका व्यक्तिलाई राख्न नसकिने संघले बताएको छ ।  

संघका अध्यक्ष विकल तुलाचनका अनुसार एउटा कोठामा एक्लै बस्नेले दैनिक ३ हजार रुपैयाँका दरले तिर्नुपर्नेछ । एउटा कोठामा दुईजना बसेको खण्डमा प्रतिव्यक्ति प्रतिदिन दुईहजार रुपैयाँका दरले तिर्नुपर्नेछ । यो नै प्रस्तावित सबैभन्दा सस्तो मुल्य हो । बढी रकम तिर्न सक्नेका लागि भने एक्लै बसेमा प्रतिदिन ८ हजार रुपैयाँ र एउटा कोठामा दुईजना बस्दा प्रतिदिन ५५ सय रुपैयाँका दरले मुल्य पर्नेछ । पर्यटन क्षेत्रमा पाहुनाले १३ प्रतिशत मुल्य अभिवृद्धि कर (भ्याट) र १० प्रतिशत सेवा शुल्क तिर्नुपर्छ । तर, क्वारेन्टिन बनाउँदाको यो मुल्य कर सहित भएकोले महंगो नभएकोे तुलाचनले बताए ।  

‘दिनमा चारपटक खाना खुवाउने हो । पौष्टिक खाना खुवाउनेदेखि दैनिक सरसफाई, सुरक्षा, स्वास्थ्यका मापदण्ड परा गर्न सहज छैन,’ तुलाचनले भने, ‘बाहिरबाट हेर्नेलाई यो मुल्य बढी लाग्न सक्छ । तर, गुणस्तरीय खाना खुवाउनुपर्दा व्यावसायीलाई खासै नाफा हुँदैन । सेवामुलक व्यावसाय भएकोले पाहुनाको खानामा गुणस्तर, स्वच्छता, सरसफाइमा ध्यान दिनैपर्छ ।’

दोश्रोपटक प्रस्तावित मुल्य भन्दा सस्तोमा क्वारेन्टिन बनाएर होटलमा पाहुना राख्न नसक्ने उनले बताए । ‘यो भन्दा सस्तोमा दिने भए सरकार आफैले क्वारेन्टिन बनाउनुपर्छ । कर समेत संलग्न मुल्यमा नाफा छैन । यो हिसाबले पनि कोठाको मुल्य निकै नै कम पर्छ । हाम्रो लागत पनि बढी पर्छ,’ उनले भने, ‘यो भन्दा सस्तोमा त गर्नै सकिन्न । प्रयाप्त पुर्वाधार र सुविधा खोज्ने, तर, मुल्य सस्तो खोजेर पाउन सकिन्न ।’  

यो भन्दा सस्तो मुल्यमा पोखराका होटलमा कोठा पाइने भएपनि ती होटलले खानामा पौष्टिकता, शुद्धता, स्वच्छता कायम गर्न नसक्ने उनले बताए । ‘कम्तिमा १५ कोठा हुनुपर्ने, प्रयाप्त कम्पाउण्डको व्यवस्था सहित खानेकुरामा पनि पौष्टिकता लगायतका मापदण्ड पुरा गर्दा व्यावसायीलाई उत्ति सहज छैन,’ तुलाचनले भने, ‘बाहिरबाट हेर्दा मुल्य बढी लिएजस्तो देखिन्छ । तर, यो मुल्य निकै नै सस्तो हो । यसमा रिस्क पनि छ ।’

होटललाई क्वारेन्टिन बनाएर पाहुना राख्नुपर्दा घर फर्किएका कामदारलाई बोलाएर केहीदिनका लागि काममा लगाउनुपर्दा बढी रकम तिर्नुपर्ने, सरसफाईमा उच्च ध्यान दिनुपर्दा खर्चिलो हुने, सुरक्षा र स्वास्थ्यको मापदण्ड पुरा गर्दा झनै महंगो पर्ने उनले बताए । ‘सबैतिर सस्तो कोठा खोज्दा गुणस्तर नहुन सक्छ । डिमान्डमा पौष्टिक खाना परेको छ,’ उनले भने, ‘तर सस्तो खोजेर हुादैन । व्यावसायी आफैले होटल डिसइन्फेक्सन गर्नुपर्दा पनि महंगोे पर्छ । होटल नै सुरक्षित राख्नु चुनौती छ ।’

होटलले रिस्क मोल्दै सेवा दिन चाहेकोले यसमा नाफा भन्दा सेवाको भावले हेर्नुपर्ने उनले बताए । ‘नाफा भन्दा सेवामुलक काम हो । बाहिर क्वारेन्टिनमा बस्दा बिजोग देखियो भनेर सरकारले होटल व्यवस्थापन गर्न चाहेको हो,’ उनले भने, ‘विशेष सावधानी अपनाउनुपर्ने, सक्दो बढी क्षमतामा पाहुना राख्नुपर्ने, सकेम्म धेरै पाहुना थोरै क्षेत्रभित्र संचालित होटलमा राख्नुपर्ने भएकोले सस्तो होटल पाउन समस्या हुन्छ ।’ सरकारले कर नलिँदा सस्तो पर्ने भएपनि त्यतातिर ध्यान नदिइएको उनले बताइ । ‘सरकारले कर छुट दिन्थ्यो भने सहज हुन्थ्यो । तर, त्यतातिर ध्यान नदिइएको उनले बताए ।  

होटलको बसाइ महंगो पर्ने भएकोले सरकारले फर्किएका व्यक्तिलाई सकेसम्म होम क्वारेन्टिनम राख्नुपर्ने उनले भनाई छ । ‘यसैपनि कम आयश्रोत भएरै खाडिमुलुक पुगेका युवाहरु अप्ठेरो अवस्थामा अहिले घर फर्किदैछन् । कतिपय व्यक्ति त महिनौदेखि आम्दानीविहीन पनि भएका छन,’ उनले भने, ‘होटलको व्यवस्थाले उनीहरु झनै आर्थिक भारले थिचिनेछन् । त्यतातिर पनि ध्यान दिनुपर्छ ।’  

पोखराका होटलमा क्वारेन्टिन व्यवस्थापनको जिम्मा पोखरा महानगरपालिकाले पाएको छ । महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले विदेशबाट फर्किनेलाई होटलमा बस्ने भनिएपनि कतिपय व्यक्तिले खर्च बेहोर्न नसक्ने हुँदा उनीहरुलाई सिधै घर जान दिनुपर्ने बताए । ‘अप्ठेरोमा फर्केका कतिपयले होटलको खर्च बेहोर्न नसक्ने हुन्छन । उनीहरुलाई होम क्वारेन्टिनमा राख्नुपर्छ ।  तर, होम क्वारेन्टिनको नियम कडाईका साथ पालना गर्नुपर्छ,’ शर्माले भने, ‘होटल भन्दा होम क्वारेन्टिन सस्तो पर्छ । आर्थिक रुपमा पनि सहज र घर परिवारसँगै बस्न पाउँदा उनीहरुलाई सहज हुन्छ ।’ होटलमा बसेका उनीहरुलाई आरडिटी गरेर घर पठाउने उनले बताए ।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले संक्रमण लिएर आउने सम्भावना भएकोले पनि होटलमा बस्नुपर्ने व्यवस्था गरिएको बताए । ‘होटलमा बस्दा आर्थिक भार थपिने पक्का हो । तर, विकल्प पनि छैन । संक्रमणको जोखिम भएकोले पनि तत्काल घर पठाउन सकिन्न,’ निर्देशक शर्माले भने, ‘१४ दिन नै सुरक्षित क्वारेन्टिन हो । तर १० दिनपछि आरडिटी गरेर पठाउन सकिन्छ । त्यत्तिले पनि उनीहरुमाथि आर्थिक भार भने थपिन्छ ।’  

विदेशबाट फर्केका व्यक्ति घरमा बस्दा सस्तो परेपनि उनीहरुको परिवारको स्वास्थ्यको सुरक्षा हिसाबले क्वारेन्टिनमा बस्नुपर्ने अनिवार्य गरिएको निर्देशक शर्माले बताए । ‘जसोतसो फर्किएका व्यक्तिलाई आर्थिक भार थपिने निश्चित छ,’ उनले भने, ‘छोटो समयमा पिसिआर गर्दा पनि समस्या हुनसक्छ । किनकी ढिला गरि संक्रमण देखियो भने समस्या पर्छ । त्यही भएर तोकिएको अवधि पुरा गर्नुपर्ने बाध्यकारी नियम हो ।’

प्रकाशित: २३ जेष्ठ २०७७ १०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App