१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संक्रमण बढ्नुको कारक क्वारेन्टिनको बसाइ

झापाको कचनकवल गाउँपालिकाले सरकारले निर्णय गर्नुअघि नै सीमाबाट नेपाली नागरिक ल्याउन थाल्यो। अलपत्र नेपालीलाई सीमाबाट सीधै क्वारेन्टिनमा लगियो। भारतको मुम्बई, दिल्लीबाट आएका धेरैजसो स्थानीयलाई जसोतसो विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा लगेर राखियो। सुरुमा १० जनामा संक्रमण देखियो। हुँदै–हुँदै अहिले कचनकवलमा मात्रै सय जना संक्रमित भेटिएका छन्।  

सुरुमा क्वारेन्टिन व्यवस्थापनमा समस्या भयो। कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले एकै पटक संक्रमित थप हुँदा र भारतबाट आउने क्रम नरोकिँदा समस्या परेको सुनाए। ‘अहिले त ६ वटा क्वारेन्टिन बनाएका छौं,’ उनले भने, ‘अब अझै डेढ सय जति राख्न सक्ने अवस्था छ।’ कचनकवलको क्वारेन्टिनमा अहिले चार सयभन्दा बढी बसेका छन्। ती सबै भारतबाट आएका हुन्। आलमका अनुसार सुरुमा संक्रमण भारतबाटै आएकामा देखिएको थियो।  

प्रदेश सांसद बसन्त बानियाँका अनुसार क्वारेन्टिनमा साझा प्रयोग गर्ने वस्तु एउटै परेका कारणले पनि क्वारेन्टिनबाटै संक्रमण थप भएको हुन सक्ने बताए। ‘साझा शौचालय, मेस, साबुन प्रयोगका कारणले पनि थप संक्रमण देखिएको हुन सक्छ,’ उनले भने, ‘तर अहिले प्रदेश सरकार र सहयोगीको सहयोगमा छुट्टाछुट्टै प्रयोग गर्न मिल्ने वातावरण बनेको छ।’ बानियाँका अनुसार संक्रमणको दर बढ्नुमा एकै स्थानमा क्वारेन्टिनको बसाइ पनि कारक हो।  

कचनकवलको एउटै क्वारेन्टिनमा बसेका ९९ मध्ये ५२ जना संक्रमित भएका थिए। कचनकवल गाउँपालिका–४ केचनाको महेन्द्र रत्न माविको क्वारेन्टिनमा बसेकाहरूमा बढी संक्रमण देखिएको हो। गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवका अनुसार दुई पटकमा एउटै क्वारेन्टिनमा बसेकाहरूमा संक्रमण देखिएको थियो। उनका अनुसार त्यसपछि क्वारेन्टिनमा दुरी कायम गर्ने, थप सावधानी अपनाउने काम भएको थियो।  

संक्रमण समुदाय स्तरमा फैलन नदिन सर्तकता अपनाइएको सांसद बानियाँले बताए। ‘भारतबाट आएकाहरू सीधै क्वारेन्टिनमा छन्,’ उनले भने, ‘क्वारेन्टिनमा उच्च सुरक्षासहित राखिएको छ। त्यस कारणले पनि समुदायमा फैलने सम्भावना न्यून छ।’

भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेकालाई सीमावारि आएलगत्तै नियन्त्रणमा लिएर क्वारेन्टिन र होल्डिङ सेन्टरमा राख्ने गरिएको छ। कचनकवलमा लक्ष्मी मावि बनियानी, जानकी आधारभूत विद्यालय पाठामारी, लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिघी, महेन्द्र रत्न मावि केचना, पथरिया मावि पथरिया र बुद्ध आधारभूत विद्यालय घेराबारीमा क्वारेन्टिन निर्माण गरिएको छ। झापामा अहिले एक सय १९ जनामा कोरोना संक्रमण देखिएको छ। 

प्रकाशित: २३ जेष्ठ २०७७ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App