coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरका पत्रकारसहित ४ जना कोरोना जितेर घर फर्के

उदयुरको कोरोना उद्गमस्थल भुल्के मस्जिद । तस्बिरः महेश्वर

कोरोना भाइरस (कोभिड–१९) लाई परास्त गर्दै उदयपुरका पत्रकारसहित ४ जना बिहीबार घर फर्केका छन् । संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पताल विराटनगरमा उपचार गराउँदै आएका पत्रकार राकेश नेपाली र त्रियुगा नगरपालिका ३ भुल्के मस्जिद आसपासका ३ जनाको पछिल्लो दुईपटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।  

डिस्चार्ज हुनेहरुमा पत्रकार नेपाली, साविल अलि, रकमत तुल्ला र कविरा खातुन रहेको कोभिड अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. संगीता मिश्रले बताएकी छिन् । डिस्चार्ज हुने पत्रकार नेपाली जेठ ३ गते संक्रमित पुष्टि भएका थिए भने अन्य ३ जनामा वैशाख ९ गते नै संक्रमण देखिएको थियो ।  

अस्पतालबाट दिउँसो बिदाई पाएका उनीहरु राति ८ः३० बजे गाईघाट आईपुगेका छन् । उनीहरुलाई संभव भएसम्म त्रियुगा क्याम्पस मोतिगडाको क्वारेन्टिनमा राख्ने भनिए पनि त्यहाँ ठाउँ अभाव भएका कारण ‘होम क्वारेन्टिन’मा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । क्याम्पस क्वारेन्टिनमा क्षमताभन्दा बढी मान्छे रहेकाले उनीहरुलाई होम क्वारेन्टिनमै राख्नुपर्ने अवस्था आएको एसपी मगरले बताए ।  

केहीदिनयता भारतबाट नेपाल भित्रिनेको संख्या बढेपछि क्याम्पस क्वारेन्टिन भरिभराउ भएको छ । सुरुमा २० बेड र पछि २० बेड थपिएको क्वारेन्टिनमा हाल १० महिलासहित ५४ जनालाई राखिएको छ । तर, कतिपय एकै परिवारका नाबालिकासमेत हुनाले एउटै बेडमा ३ जनासम्म राखिएको छ । त्रियुगा ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले क्वारेन्टिनको क्षमता बढाई हाल्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।  

सदरमुकाम भएकाले जिल्ला अस्पताल यहीँ रहेको तथा कटारीमा प्रदेशस्तरीय २ सय बेडको र अन्य स्थानीयतहमा पनि क्वारेन्टिन बनाइने भएकाले त्रियुगामा २० बेडको मात्र बनाइएको थियो । तर, पछिल्लो समय भारतबाट ग्वारग्वारती नेपाल फर्कन थालेपछि क्वारेन्टिन भरिभराउ भएर बेड धेरै थप्नुपर्ने अवस्था आएको वडाध्यक्ष चौधरीले बताएका छन् ।  

उदयपुरका ४ सहित बिहीबार मात्र ३० जनाले कोरोनालाई परास्त गर्दै डिस्चार्ज भएका छन् । यो सँगै कोरोना परास्त गर्नेहरुको संख्या प्रदेश १ मा ७८ पुगेको छ । प्रदेश मुख्यमन्त्री, कोरोना सूचना डेस्कका अनुसार संक्रमितहरु निको हुनेमा कोसी अस्पताल विराटनगरबाट २७ जना र बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना रहेका छन् ।  

सूचना डेस्कका अनुसार बिहीबार मात्र १ नं. प्रदेशमा १६ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशभर संक्रमितको संख्या २ सय १ पुगेको छ भने जसमध्ये १ सय २३ जना उपचाररत छन् । प्रदेशभर हालसम्म १० हजार ५७ जनाको पिसिआर र १२ हजार ९ सय ५० को आरडिटी विधिबाट परीक्षण गरिएको सूचना डेस्कले जनाएको छ ।  

 

 

 

 

 

प्रकाशित: २२ जेष्ठ २०७७ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App