६ वैशाख २०८१ बिहीबार
समाज

जुम्लाका क्वारेन्टिनमा भद्रगोल

झण्डै एक महिनाअघि जुम्लाका हरेक स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन मापदण्डअनुसार नभएको भन्दै अधिवक्ता पदमबहादुर शाहीले उच्च अदालतमा रिट हाले । रिटको सुनुवाइ गर्दै उच्च अदालतले ‘मापदण्डअनुसार क्वारेन्टिन बनाउनू’ भन्ने आदेश दियो । अदालतको आदेशपछि जिल्ला विपद् समितिको बैठकले जिल्लास्तरीय एकीकृत क्वारेन्टाइनको खाका प्रस्तुत गर्यो । त्यो प्रस्तावमा यहाँका एक नगरपालिकासहित सबै गाउँपालिका प्रमुखले ताली बजाएर सहमति जनाए । जसअनुसार जुम्लाका पाँच स्थानमा क्वारेन्टिन निर्माण भए ।

कर्णाली प्राविधिक शिक्षालय, जुम्ला बहुमुखी क्याम्पस, निर्माण व्यवसायी संघको भवन, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारीमा एकीकृत क्वारेन्टाइन निर्माण गर्ने निर्णय भयो । अहिले तीनै एकीकृत क्वारेन्टिनको अवस्था भद्रगोल छ । निर्माण व्यवसायी र जुम्ला बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा स्थानीयले भारतबाट आएकाहरूलाई बस्न दिएनन् ।

निर्माण व्यवसायी संघको भवनमा बनाउने भनिएको क्वारेन्टाइनका बारेमा स्थानीयवासीले अदातलमा मुद्दा हालेपछि त्यहाँ क्वारेन्टिन बन्न सकेन । अदालतले हाललाई निर्माण व्यवसायी संघको हलमा क्वारेन्टिन नबनाउन अन्तरिम आदेश दिएको छ ।

पहिले जिल्लास्तरीय क्वारेन्टिन निर्माण गर्नेबारे सबै मौन बसे । पछिल्लो समय त्यही क्वारेन्टिनका बारेमा टीकाटिप्पणी हुनेदेखि अवरोध गर्नेसम्मका काम भए । सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा क्वारेन्टाइन बनाउने जिम्मेवारी पालिकाको भएको बताउँछन् । उनी भन्छन्, ‘हामीले सुरक्षा दिने हो । सुरक्षा दिएकै छौं । क्वारेन्टिन बनाउन ठाउँठाउँ जाँदा स्थानीयवासीले अवरोध गरेका कारण सकिएको छैन । प्रशासनले मात्र केही गर्न सक्दैन ।’ जुम्लामा पहिलेदेखि क्वारेन्टाइनका बारेमा अदालतमा रिट परिराखेको छ । अहिले प्रत्येक स्थानीय तहमा क्वारेन्टिन निर्माणको काम सुरु भएको छ । तर, अहिले निर्माण भएका सबै क्वारेन्टाइन मापदण्डअनुसारका छैनन् । क्वारेन्टिनमा न खानेपानीको सहज पहुँच देखिन्छ, न त शौचालयको पर्याप्त सुविधा नै । जसका कारण यहाँका क्वारेन्टाइनमा झनै जोखिम छ ।

भारतबाट दिन प्रतिदिन सयौंको संख्यामा नेपाली नागरिक जुम्ला भित्रिन थालेपछि उनीहरूलाई क्वारेन्टिनमा राख्न यहाँका स्थानीय तहलाई सकस भएको छ । जिल्लामा भएका एकीकृत क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालय, लाम्रास्थित दुर्गा मावि, कुडारीस्थित सरस्वती मावि भरिभराउ छन् । प्रशासन कार्यालयको तथ्यांकअनुसार ती क्वारेन्टाइनमा अहिले ६ सय ३० जनालाई राखिएको छ । थप क्वारेन्टिन बनाउन स्थानीय तहहरू लागिपरेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए ।

अहिलेसम्म भारतदेखि कतिको संख्यामा जुम्लावासी आउने भन्नेबारेमा यकिन तथ्यांक छैन । त्यही कारणले पनि जुम्ला उच्च जोखिमभित्र परेको छ । जुम्लामा दुई सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मीसहित  १९ जनामा कोराना पोजेटिभ देखिएको छ ।

कर्णाली प्राविधिक शिक्षालयमा कोराना पोजेटिभ र नेगेटिभ देखिएका सबै एकै ठाउँमा छन् । पोेजेटिभलाई छुट्टै राख्ने कुनै व्यवस्था छैन । क्वारेन्टाइनको समयमै व्यवस्थापन नहुँदा तातोपानी, गुठिचौर र चन्दननाथ नगरपालिकाका भारतबाट आएकाहरू घर छिरे । उनीहरूका कारण झन् उच्च जोखिम निम्तिएको छ । स्थानीयका अनुसार सुरक्षाकर्मीमा कोराना पोजेटिभ देखिएपछि प्रहरी सडकमा देखिएको छैन । बजारमा न लकडाउनको पालना भइरहेको छ  । न त कुनै सतर्कता । झनै जोखिम बढ्दै गइरहेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको सरुवा भएपछि बीचमा निमित्त प्रमुख जिल्ला अधिकारीले निर्णय लिन नसकेको र जसको फाइदास्वरूप स्थानीयले क्वारेन्टिन बनाउन नदिइएको जानकार बताउँछन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा विपद् व्यवस्थापन समितिका कारण क्वारेन्टिन भद्रगोल भएको बताउँछन् । उनका अनुसार यहाँका कुनै पनि क्वारेन्टाइन मापदण्डबमोजिम छैनन् । संक्रमितलाई सहजै अस्पताल लैजान सक्ने अवस्था छैन । ‘कर्णाली राजमार्गसँग जोडिएका विद्यालयमा क्वारेन्टिन निर्माण गरेर सहजै बिरामीलाई अस्पताल पुर्याउने मनसायका साथ एकीकृत क्वारेन्टाइनको अवधारणा अघि सारिएको हो,’ उपप्रमुख बुढाले भने, ‘तर विपद् व्यवस्थापन समितिको गैरजिम्मेवारीपनका कारण समस्या बल्झियो ।’

यो कठिन परिस्थितिमा सबै मिलेर अघि बढ्नुपर्ने हो । ‘तर कुनै पनि क्वारेन्टिनमा सुरक्षा व्यवस्था प्रभावकारी देखिएन,’ उपप्रमुख बुढा भन्छन्, ‘कि जनप्रतिनिधिलाई सेना प्रहरी खटाउने अधिकार दिनुपर्यो, कि त अधिकार पाएकाहरूले सुरक्षा व्यवस्था कडा बनाइदिनुपर्यो ।’ सुरक्षा प्रमुखहरूका कारण नै जुम्लाका क्वारेन्टिन भद्रोगोल भएको आरोप जनप्रतिनिधिको छ । नीति बनाउनेभन्दा पनि कार्यान्वयन गर्ने निकाय कमजोर भएकाले जुम्लामा कोराना संक्रमण उच्च जोखिम बढेको छ ।

पहिले पाँचवटा स्थानमा मात्र क्वारेन्टिन बनाउने निर्णय भइसकेकोमा फेरि हरेक वडामा क्वारेन्टिन निर्माण गर्न थालिसकिएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७७ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App