१५ चैत्र २०८० बिहीबार
समाज

मोटरसाइकलको ट्यांकीमा लुकाइएको साढे २२ लाख बरामद

मोटरसाइकलमा लुकाएर लैजान लागिएको झण्डै २२ लाख रुपैयाँसहित एक जना युवकलाई पर्साको सीमावर्ती गाउँ बञ्जारीबाट सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ। मोटरसाइकलभित्र अवैध रुपले उक्त रकम लिएर सीमावर्ती छिपहरमाई गाउँपालिकाको भिस्वाबाट आइरहेका बाहुदरमाई नगरपालिका– ५ भौराटार घर भएका प्रकाश साहलाई  सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको हो।

ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा भिस्वाबाट बहुदरमाई नगरपालिकाको भौराटार आउँदै गर्दा २० वर्षीय साहलाई बन्जारी चोकमा रोकेर शसस्त्र प्रहरीले चेकजाँच गरेको थियो। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वाले विशेष सूचनाको आधारमा मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएर गरेको चेकजाँचमा मोटरसाइकलको ट्यांकीमा २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको हो। बिहान करिब साढे ९ बजेको समयमा चेकजाँच गर्दा उक्त मोटरसाइकलको ट्यांकीमा बनाइएको ‘फल्स बटम’भित्रबाट सो रकम बरामद भएको बोर्डर आउट पोस्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीले बताए।

छिपहरमाई गाउँपालिका–४ को बन्जारीमा सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्यांकीमा बेग्लै ठाउँ बनाई लुकाईछिपाई लैजादै गरेको अवस्थामा २२ लाख ४८ हजार रुपैयाँसहित पक्राउ परेका मोटरसाइकल सवार साहले ‘भिस्वा बजारबाट भौराटार जान लागेको’ बताएका थिए। एक हजार दरका २ सय ४८ थान अर्थात दुई लाख ४८ हजार, पाँच सय दरका ३२ सय थानमा सोह्र लाख, सय दरका ३ हजार थानले तीन लाख र पचास दरका २ हजार थानले एक लाख गरी जम्मा २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी निरिक्षक पराजुलीले जनाए।

रकम र मोटरसाइकलसहित साहलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वाले जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको प्रहरी उपरीक्षक गँगा पन्तले जानकारी गराइन्। यसमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अनुसार साहले बरामद रकमको स्रोत बताउन सकेका छैनन्। मोटरसाइकलको ट्यांकीमा पैसा बरामद भएको भिस्वा बञ्जारी क्षेत्र भारतसंग जोडिएको पर्सा जिल्लाको ग्रामीण नाका हो। सिमापारीको भारतीय बजार सिक्टासंग जोडिने छोटी भन्सारसहितको भिस्वा बजार नाका बिभिन्न बैध अबैध कारोबारका लागि बेलाबेलामा चर्चा आउने गरेको छ। अहिले नेपाल र भारत दुबै देशमा लकडाउनसंगै सीमा समेत सिल रहेको बेला उक्त रकम बरामद भएको हो।

 

 

 

 

प्रकाशित: २२ जेष्ठ २०७७ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App