coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शरीरमा चुरोटले पोलेको दागैदाग

प्रेमिकाको परिवारद्वारा बन्धक बनाएर कुटपिट

सर्लाहीको वाग्मती नगरपालिका–१० का २४ वर्षीय राजु महतोलाई उनकी प्रेमिकाका आफन्तले बन्धक बनाएर मरणासन्न हुनेगरी कुटपिट गरेको पीडित परिवारले बताएको छ।  

राजुलाई उनकी प्रेमिकाका अभिभावकहरूले मरणासन्न हुनेगरी कुटपिट गरेको दाबीसहित राजुका बुबा शंकरले बुधबार इलाका प्रहरी कार्यालय बरहथवामा किटानी जाहेरी दिएका छन्। घटना गत शनिबार रातिको हो। प्रेमिकाले पटक–पटक फोन गरेर भेट्न बोलाएपछि राजु राति ११ बजेतिर उनको घरमा गएका थिए। तर घरमा पुग्नेबित्तिकै राजुलाई युवतीका बुबा एवं उनका चार जना छोराहरूले नियन्त्रणमा लिई घरभित्र थुनेर मरणासन्न हुनेगरी कुटपिट गरिएको जाहेरीमा दाबी गरिएको छ।  

‘झन्डै दुई घण्टासम्म नियन्त्रणमा लिएर घरभित्र बन्धक बनाई पाँच जनाले भाइलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि प्रहरी बोलाएर बुझाएछन्,’ राजुका दाइ संजय महतोले भने, ‘फलामको रडले शरीरमा जताततै प्रहार गरिएको छ। अनुहारसहित शरीरका विभिन्न भागमा चुरोटको आगो झोसिएको छ। लिंगमा समेत चुरोटको आगोले पोलिएको रहेछ।’ संजयका अनुसार कुटपिटबाट गम्भीर घाइते राजु बुधबार अबेलासम्म पनि बोल्न सकिरहेका थिएनन्।

कुटपिटबाट मर्ने पक्का भएपछि उनीहरूले प्रहरीलाई बोलाएर राजु चोरी गर्न आएको र आफूहरूले नियन्त्रणमा लिएर कुटपिट गरेको भन्दै जिम्मा लगाएको स्थानीय बताउँछन्। ‘मुख थुनेर मरणासन्न हुनेगरी कुटपिट गरेछन्। प्रहरी आइपुगेपछि मात्र हामीलाई थाहा भयो,’ कुटपिटमा संलग्न परिवारका छिमेकी सत्यनाराण महतोले भने, ‘पीडक परिवारको लहलहैमा लागेर त्यस्तो गम्भीर घाइते भएको मान्छेलाई समेत हत्कडी लगाएर प्रहरीले लिएर गयो। चोर्न गएकै हैन, कुरा प्रेम सम्बन्धको हो, छाडिदिनुस्, उपचारमा लैजान्छौं भन्दा पनि प्रहरीले नमानेर हत्कडी लगाएरै लग्यो।’

राजघाटबाट खटिएको प्रहरी टोलीले राजुलाई हत्कडी लगाएर प्रहरी चौकी खाल्टे पु¥याएको स्थानीय जवाहर कुशवाहले बताए। कुशवाहाका अनुसार घाइते युवकका अभिभावकसहित स्थानीय युवाहरू राजघाट प्रहरी चौकी पुगेपछि उनलाई राति नै इलाका प्रहरी कार्यालय बरहथवा पठाइएको थियो।

पीडित परिवारका अनुसार बरहथवा प्रहरीले भने अवस्था गम्भीर देखिएकाले उपचारका लागि भन्दै आफन्तको जिम्मा लगाइदिएको थियो। राति नै राजुलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगिएको दाजु संजयले बताए। ‘भरतपुरमा भाइलाई भित्र लगेर केके परीक्षण गरेर आधा घण्टाभित्रै जिम्मा लगाइदिए,’ संजयले भने, ‘त्यसपछि हामी सर्लाही नै फर्कियौं तर घर आउनेबित्तिकै भाइको अवस्था झन् बिग्रिएपछि हरिवनको स्वाभिमान अस्पतालमा देखाएर त्यहाँबाट थप उपचारका लागि अहिले काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको छ। भाइले अझै पनि बोल्न सकेको छैन, टोलाएर आँखा हेरिरहनेबाहेक केही गर्न सकेको छैन।’  

सधैं आउनेजाने भएकाले उक्त दिन मकै नंग्याइरहेको बेलामा राजु सय मिटर दक्षिण रहेको प्रेमिकाको घर गएको परिवारको दाबी छ। घाइते राजुका बुबा शंकर महतोले प्रहरीमा दिएको जाहेरीमा ती युवती पनि आफ्नो घर आउने तथा छोरा पनि उनको घरमा आउजाउ गरिरहने गरेको र दुईबीच तीन वर्षदेखि प्रेम–सम्बन्ध रहेको दाबी गरेका छन्। दुईबीचको प्रेमसम्बन्धबारे गाउँलेहरू पनि जानकार रहेका छन्।  

प्रेमिकाले बोलाएर गएका युवकमाथि निर्मम कुटपिट भएको नेपाल कम्युनिस्ट पार्टीका नेतासमेत रहेका स्थानीय डम्बर कार्कीले बताए। ‘कुटपिट हेर्दा त आततायी देखिन्छ, क्रुर ढंगले लिंग, अनुहार, पाखुरासहित शरीरका विभिन्न ठाउँमा चुरोटको आगोले झोसेको देखिन्छ। शरीरभरि निलडाम छ,’ कार्कीले भने, ‘जस्तोसुकै गल्ती भए पनि यस्तो अमानवीय कुटपिट त मैले अहिलेसम्म देखेको थिइनँ।’

यता, वडा सदस्यसमेत रहेका युवतीका जेठा दाइ भने राति एक–डेढ बजे बहिनीको कोठामा एक्कासि फेला पारेपछि रिसको आवेगमा हातपात गरिएको बताउँछन्। ‘राति एक–डेढ बजेतिर बहिनीको कोठामा उसलाई फेला पा¥यौं। अनि किन आको भनेर पटक–पटक सोध्दा पनि केही नबोलेपछि कुटपिट गरेका हौं,’ युवतीका दाइले भने, ‘चिनेकै मान्छे भएकाले तत्काल प्रहरीलाई बोलाएर जिम्मा लगाएका हौं। अहिले घाइते अस्पतालमा भएकाले उपचार गरेर आएपछि उसैसँग सोध्दा थाहा भइहाल्छ नि !’

घटनाबारे किटानी जाहेरी दिन खोज्दा प्रहरीले पीडक परिवारसँग मिलेर तीन दिनसम्म जाहेरी लिन नमानेको उल्टै बलात्कार मुद्दामा फसाइदिने धम्की दिएको घाइते युवाको परिवारको आरोप छ।

बुधबार बिहान स्थानीयले पीडक परिवारको घर घेरेर तोडफोड गर्ने अनि परिवारका सदस्यलाई दुव्र्यवहार गर्ने अवस्था आइपरेपछि मात्र बरहथवा प्रहरीले किटानी जाहेरी दर्ता गर्ने प्रतिबद्धता जनाएको थियो। इलाका प्रहरी कार्यालय बरहथवाले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। ‘ज्यान मार्ने उद्योगअन्तर्गत किटानी जाहेरी आएको छ, जाहेरीमा किटान गरिएकामध्ये युवतीका माइला दाइलाई नियन्त्रणमा समेत लिइसकेका छौं,’ इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले भने, ‘घाइते युवक युवतीले फोन गरेर बोलाएपछि गएको हो कि वा अन्य कुन मनसायले गएको हो लगायत यावत् विषयमा अनुसन्धान अघि बढाइएको छ।’ 

प्रकाशित: २२ जेष्ठ २०७७ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App