१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘कोरोना नियन्त्रणमा सरकार असफल’

नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाममा कर्णाली प्रदेश सरकार पूर्ण असफल भएको बताएको छ । कांग्रेसले प्रदेश सरकार कोरोना संक्रमण रोक्नुभन्दा कमाउने खेलमा लागेको आरोप पनि लगाएको छ । कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बुधबार पत्रकार सम्मेलन गरेर भारतबाट आउने नागरिकहरुको सीमामा परीक्षण विनै गाउँगाउँ पठाएर कोरोना फैलाएको आरोप लगाए ।

‘लकडाउन (बन्दाबन्दी) सुरु भएसँगै भारतमा रहेका कर्णालीका नागरिकहरुको तथ्याङ्क संकलन गर्न र उनीहरुको व्यवस्थापनका लागि तयारी गर्न पटक–पटक आग्रह र अनुरोध गर्‍यौं,’ कांग्रेस नेता शाहीले भने, ‘सरकार हेलिकोप्टर चढ्न र आफ्ना मानिसहरुलाई परीक्षणविनै गाउँगाउँ पठाउन मात्रै केन्द्रीत भयो ।’ उनले प्रदेश सरकार संघीय र स्थानीय तहसँग समन्वयविनै एकलौटी कामहरु गरिरहेको आरोप पनि लगाए ।

‘भारतबाट आउने नागरिकहरुको तथ्याङ्क संकलन गरेर सोही अनुसार प्रत्येक स्थानीय तहलाई एकदेखि तीन करोडसम्म पैसा पठाउन अनुरोध गरेका थियौं,’ प्रमुख प्रतिपक्षी दलका नेता शाहीले भने, ‘सरकारले माथिल्लो र तल्लो निकायसँग पनि समन्वय गर्दैन्, हामीले दिएको सुझाव पनि कार्यान्वयन गर्दैन् ।’

प्रतिपक्षी दलका नेता शाहीले पछिल्लो दुई सातामा कोरोना संक्रमितको संख्या कर्णालीमा बढ्दै गएको भन्दै अहिलेकै अवस्था कायम रहे कर्णाली कोरोनाको इपीसेन्टर बन्ने चेतावनी दिए । ‘भारतबाट आउने संभावना रहेका दुई लाखसहित कर्णालीका १६ लाख नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु तयारी अवस्थामा राख्न सुझाव दिएका थियौं,’ उनले भने, ‘सरकारले हाम्रा कुरा सुनेन्, कर्णालीमै रहेका नागरिकको मात्रै होइन्, भारतबाट आएकाहरुको पनि स्वास्थ्य चेकजाँच गर्न नसक्दा अहिले कोरोना संक्रमण बढ्दै गइरहेको छ ।’

प्रमुख प्रतिपक्षी दलका नेता शाहीले प्रदेश सरकारले जिल्ला दौहाडमा विना प्रतिष्पर्धा निजी कम्पनीको हेलिकोप्टर प्रयोग गरेर भ्रष्टाचार गरेको आरोप पनि लगाए । ‘आवश्यक परेको खण्डमा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्नुपर्दथ्यो,’ उनले भने, ‘विना प्रतिष्पर्धा निजी कम्पनीको हेलिकोप्टर प्रयोग हुनु भनेको सरासर भ्रष्टाचार हो ।’ उनले कर्णाली सरकारले चिकित्सकसहितको टोली गाउँ पठाउँदा पनि विभेद गरेको आरोप लगाए ।

‘आफ्ना नजिकका पालिकाहरुमा प्रदेश सरकार आफैले खर्च व्यहोर्ने गरेर चिकित्सकसहितको टोली खटाएको छ, फरक आस्थाका पालिकामा सम्वन्धीत पालिकाले खर्च व्यहोर्नुपर्ने बाध्यात्मक अवस्था सृजना गरिएको छ,’ शाहीले भने, ‘यो पनि एक किसिमको भ्रष्टाचारनै हो ।’

प्रमुख प्रतिपक्षी दलका नेता शाहीले प्रत्येक जिल्ला अस्पतालमा कोरोना परीक्षणका लागि पीसीआर मेसिन पु¥याउन सरकारलाई सुझाव दिए । ‘कर्णालीका १६ जना जनसंख्याको पहिलो चरणमा आरडीटी गरेर त्यसमा पोजेटिभ देखिएकाहरुलाई पीसीआर चेक गर्नुपर्छ,’ शाहीले भने, ‘यसका लागि १० वटै जिल्ला अस्पतालमा पीसीआर मेसिन पुर्‍याइनु आवश्यक छ ।’ उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टिन निर्माणका लागि स्थानीय तहलाई प्रयाप्त बजेट पठाइनुपर्ने बताए । ‘प्रदेश सरकारले हालसम्म १० प्रतिशत पनि विकास बजेट खर्च गर्न सकेको छैन्, यो संकटमा व्यवस्थित क्वारेन्टिन निर्माणका लागि स्थानीय तहलाई आवश्यक बजेट दिइनुपर्छ,’ उनले भने, ‘गोठमा हुलेर, कोठामा थुनेर मात्रै कोरोना संक्रमण रोकिने होइन् ।’

कांग्रेस नेता शाहीले आगामी आर्थिक वर्षको बजेट रोग र भोक केन्द्रीत हुनुपर्ने बताए । ‘कर्णाली पहिलेदेखिनै खाद्यान्नमा परनिर्भर छ, अझ यो संकटमा भोकमरी निम्तने निश्चित छ,’ उनले भने, ‘सरकारले रोग र भोक केन्द्रीत बजेट ल्याउनुपर्छ ।’

प्रकाशित: २१ जेष्ठ २०७७ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App