६ वैशाख २०८१ बिहीबार
समाज

‘नडराऔं, कोरोनालाई जितिन्छ’

कतारमा कारोनाबाट निको भएका खोटाङका राजकुमार राई । तस्बिर : नागरिक

रोजगारीका सिलसिलामा कतार पुगका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदे (हाल इटहरी ) का राजकुमार राईले कोरोना भाइरसको सामना गर्नुपर्ला भन्ने सायदै सोचेका थिए । तर, संसारभर आतंक सिर्जना गरिरहेको कोरोना भाइरसबाट राजकुमार पनि टाढा रहन सकेनन् । प्रवासमा काम गरिरकेका समयमा सजगता अपनाउँदा अपनाउँदै कोरोना भाइरसको सामना गर्न वाध्य भए । कतारकै एक अस्पतालमा भर्ना भए । 

तर, ‘कोरोनाई जित्छु’ भन्ने आत्मबिश्वासका साथ अस्पताल बसेका राईले कोरोनालाई जितेर १५ दिनपछि निको भएर डिस्चार्ज भएको बताए । ‘म भित्र यस कोरोनालाई जित्छु वा जितिन्छ भन्ने आत्मबिश्वास र आत्मबल थियो,’ राईले भने, ‘कोरोनालाई जितेको पनि छु, अस्पतालको १५ दिन बसाईपछि ठीक भएर कोठा फर्कन सफल भएको छु ।’  

राजकुमार बैदेसिक रोजगारीका सिलसिलामा ५ जुन २०१५ मा कतार पुगेका हुन् । अल खालिद प्रो.जे. कम्पनीमा निरन्तर पाँच वर्षदेखि काम गरिरहेको अवस्थामा अकस्मात सामान्य रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीरको अंगहरु दुख्ने, श्वास फेर्न अप्ठ्यारो हुनेजस्ता लक्षण देखा प¥यो । गत मे १२ (बैसाख ३० गते) हमाद अस्पतालमा गएर चेकाजाँच गराउनेक्रममा आफुलाई कोरोना संक्रमण भएको पूष्टी भएको राईले बताए ।  

कोरोना भाइरसका कारण बिश्वभर लाखौं मान्छेले ज्यान गुमाइरहेको सुनेका राईलाई पनि सुरुमा डर लाग्नु स्वभाविक नै थियो । कोरोना संक्रमण भएको विषय परिवारलाई बाहेक अरु कसैलाई पनि सुनाएनन् । जे नहुनु थियो, त्यो भइहाल्यो । उनी सामु संक्रमणको सुरक्षित रुपमा सामना गर्नुको विकल्प थिएन । त्यही भएर उनले ‘मानवले जन्मसँगै मृत्यु लिएर आएको हुन्छ’ भन्ने सत्यलाई मनन गरेर आफुलाई सम्झाए र डर हटाए । त्यसमाथि परिवारको पनि हौसला मिल्यो । उनी ‘कोरोनालाई जित्छु’ भन्ने आत्मवल बटुलेर ढुक्ककासाथ हस्पतालमा बसे । नभन्दै कोरोनालाई जित्न सफल भए । ‘कोरोना लाग्ने वित्तिकै मरिन्छ भन्ने त्रास छ । त्यही भएर मैले परिवारलाई बाहेक अरुलाई यस बारेमा भनिन,’ राईले भने, ‘परिवारबाट पनि उचित सल्लाह र हौसला पाएँ । अर्कातर्फ मान्छेले जन्मदै मृत्यु लिएर आएको हुन्छ, किन डराउने भन्ने सोच लिएर ढुक्ककासाथ अस्पतालमा बसेँ र कोरोना जित्न सफल भएँ ।’  

कोरोना संक्रमणका कारण अस्पताल पुगेका राजकुमारलाई सहज भने थिएन । बोल्न गा¥हो हुन्थ्यो । बोल्दा श्वासले नपुगेजस्तो हुन्थ्यो, बोल्न खोज्दा खोकी लाग्थ्यो । त्यही भएर उनी धेरै साथीहरुसँग सम्पर्कमा रहेनन् । तर ‘मृत्यु शास्वत सत्य हो’ भन्ने मनन गरेर कोरोनासँग डराएनन् । बरु कोरोना संक्रमण भएर अस्पतालमा पुगेका अन्य नेपाली साथीभाईलाई पनि आत्मबल बलियो बनाउन प्रोत्साहित गरे, हौसला प्रदान गरिरहे । दुई हप्ता अस्पतालमा बस्दा उनले कोरोनाबाट निको हुन व्यक्तीगतरुपमा अन्य केही सुरक्षा विधि अपनाउन परेन । डाक्टरको निगरानीमा डाक्टरले दिएको औषधि नै कोरोना जित्नका लागि काफी भएको राईले बताए ।  

कोरोनाबाट निको भएर फर्किएका राजकुमार हाल अन्य साथीभाईलाई कोरोनाबाट बच्ने उपायका बारेमा अनुभव आदान–प्रदान गर्न व्यस्त छन् । कोरोना संक्रमण भएपछि कतिपय नेपाली निजी मेडिकलमा गएर औषधि सेवन गर्ने गरेका छन् । उनले निजी मेडिकलमा गएर जथाभावी औषधि सेवन गर्नुको सट्टा सिधै सरकारले तोकेको कोभिड–१९ अस्पतालमा गएर उपचार गर्न सुझाव दिने गरेका छन् । ‘कोरोनाको लक्षण देखियो भने प्राइभेट अस्पतालमा नजान सल्लाह दिन्छु । सरकारले तोकेको अस्पतालमा गएर चेकजाँच गराउन भन्छु,’ उनले भने, ‘लक्षण देखिए डाक्डरको सुझाव सल्लाह अनुशार सतर्कता अपनाउनुस् । कोरोनाले मरिन्न, मर्नलाई काल आउनुपर्छ तर अस्पताल चैं जानै पर्छ ।’  

कोरोना संक्रमण भए÷नभएको थाहा पाउनका लागि कतार सरकारले एप्स पनि निकालेको छ । सो एप्समा आफ्नो मोबाईल नम्बर र आइडि नम्बर भरेपछि आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पूर्व जानकारी दिन्छ । रातो, हल्का रातो, पहेँलो र निलो संकेत दिने एप्समा रातो संकेत देखिए प्रहरीबाट फोन आउने र अस्पताल लैजान सक्ने राईले बताए ।  

 

 

प्रकाशित: २१ जेष्ठ २०७७ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App