८ वैशाख २०८१ शनिबार
समाज

संकटका सारथी विष्ट

ग्यास बोकेर अपाङ्ता भएका व्यक्तिहरुलाई दिन जाँदै विष्ट।

वीरेन्द्रनगर नगरपालिका–६ कि पवित्रा विश्वकर्मा एकल महिला हुन्। ज्याला मजदुरी गरेर दैनिकी चलाउने उनलाई अहिले छाक टार्न धौ–धौ छ। दुई महिनादेखिको बन्दाबन्दी (लकडाउन)का कारण उनले मजदुरी गर्न पाएकी छैनन्। पाँच महिनाअघि उनका श्रीमानको मृत्यु भयो। त्यसयता चार छोराछोरीको लालनपालनको जिम्मेवारी पवित्राको काँधमा आयो। ऐलानी जमिनमा दुई कोठे खरको छाप्रोमा बस्ने पवित्राको परिवारले लकडाउनको अवधिमा धेरै छाक पेटभरी खान पनि पाएको छैन्।  

उनै पवित्राको घरमा चामल, तेल, दाल र नुन बोकेर सोमबार विहानै कलाकार तथा व्यवसायी हरि विष्ट दैलोमा पुगे। ‘मजदुरी गर्न नपाएकाले धेरै छाक भोकभोकै पनि कटाएका छौं,’ पवित्राले भनिन्, ‘यस्तो संकटमा घरमै खाद्यान्न पु-याई दिने व्यक्ति हाम्रा लागि त भगवानै हुन्।’

वीरेन्द्रनगर नगरपालिका–३ स्थित कर्णाली डिजेवल भोकेसनल ट्रेनिङ एण्ड प्रोडक्सन प्रालि छ। त्यहाँ कर्णालीका १० वटै जिल्लाका अपाङ्गता भएका व्यक्तिहरु बस्छन्। बन्दाबन्दीका कारण अहिले ट्रेनिङ सेन्टर बन्द छ। बाहिरी जिल्लाका नागरिकहरुलाई नगरपालिकाले रातह दिँदैन्। अपाङ्गता भएकाहरुका लागि विष्ट खाना पकाउने ग्यास, १० जनालाई एक महिनासम्म पुग्ने खाद्यान्न लगेर दोस्रो पटक पुगे। ‘फोनमा म्यासेज गर्ने वित्तिकै उहाँ (विष्ट) आवश्यक सामाग्रीहरु ल्याएर सहयोग गर्न आउनु हुन्छ,’  पवित्रा विकले भनिन्, ‘नभए भोकभोकै बस्नुपर्ने अवस्था आउँथ्यो।’

ग्याससहित खाद्यान्न पाएपछि खुशी हुँदै पवित्रा विक।

पवित्रासहित अपाङ्गता भएका व्यक्तिहरुले सहयोग माग्दै वडा कार्यालय, नगरपालिका र आ–आफ्ना क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद पनि नगुहारेका होइनन्, कहीँबाट उनीहरुले सहयोग पाएनन्। ‘हामी सहयोग माग्दै सरकारी कार्यालयका ढोकासम्म पुग्न सक्दैनौं,’ उनले भनिन्, ‘फोन ग¥यो कोही आइदिँदैनन्।’

वीरेन्द्रनगर–२ का भक्तबहादुर पौडेल वर्षौंदेखि ह्वीलचियरमा बसेर साँघुरो आँगनमा आफ्नो दैनिकी बिताउँछन्। भारतमा काम गर्नेक्रममा बन्दै गरेको तीन तले घरको माथिबाट खस्दा उनको मेरुदण्ड भाँचियो। अहिले कम्मरभन्दा मुनिको भाग चल्दैन। दुई सन्तानसहित अशक्त बनेका श्रीमानलाई पाल्न श्रीमती सरिता गुरुङ पौडेल दैनिक ज्याला मजदुरी गर्छिन्। कोरोना भाईरसको जोखिम रोकथामाका लागि गरिएको लकडाउनका कारण उनले काम गर्न नपाएको दुई महिनाबढी भयो।  

गत साता विष्ट पौडेलको परिवार बसिरहेको घरमा खाद्यान्न सहयोग गर्न गए। भक्तका श्रीमान, श्रीमतीले उनलाई नमनसहित विदाई गरे। मुटुमा प्वाल परेपनि उपचार गराउन नसकेकी नन्दकला र मेरुदण्ड भाँचिएर आँगनमै सिमित भएका भक्तका घरमा मात्र होईन ‘लकडाउन’का कारण छाक टार्ने जोहो गर्न नसकेका सयौंको बासस्थानमै पुगेर विष्टले खाद्यान्न पु-याउँदै आएका छन्।  

वीरेन्द्रनगर नगरपालिका–६ कि पवित्रा विश्वकर्माको घरमै पुगेर खाद्यान्न दिँदै विष्ट।

‘लकडाउनका कारण मजदुर, अपाङ्गता भएका व्यक्ति र बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीहरु सबैभन्दा धेरै संकटमा छन्,’ तरुण दल सुर्खेतका अध्यक्षसमेत रहेका कलाकार विष्टले भने, ‘फोनमा आएको म्यासेजका आधारमा आवश्यक सहयोग गर्दै आएको छु।’ विष्टले सामाजिक सञ्जालमार्फत खाद्यान्न आवश्यक परेका व्यक्तिहरुलाई सम्पर्क गर्नका लागि सार्वजनिक आव्हान गरेका छन्। पछिल्लो दुई महिनाको अवधिमा उनले एक सय ५० बढी परिवारलाई व्यक्तिगत खाद्यान्न सहयोग गरेका छन्। २१ परिवारलाई ग्यास सिलिण्डरसहित दिएका छन्। ‘संस्थागत सहयोग जोड्दा आजसम्म पाँच सयबढी परिवारसम्म पुगेका छौं,’ उनले भने, ‘जहिलेसम्म लकडाउन रहन्छ, सहयोगलाई निरन्तरता दिन्छु।’ विष्टले बाहिरी जिल्लाबाट आएर कोठा भाडामा बस्ने विद्यार्थी, रिक्सा चलाएर गुजारा चलाउने परिवार, दैनिक मजदुरी गर्ने परिवार, दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, विपद् पीडित, बेसहारालाई छनोट गरेर सहयोग वितरण गर्ने गरेका छन्।  

व्यक्तिगत खर्चमा समस्यामा परेकाहरुलाई सहयोग गर्दा पनि उनले ठूलै समस्या झेल्नु प¥यो। स्थानीय तहको एकद्वार नीतिले आवश्यक परेकाहरुलाई चाहेर पनि सहयोग गर्न नपाएको विष्ट बताउँछन्। ‘मैले राहत वितरण गरेको होइन्, आवश्यक परेकाहरुले फोन गरेपछि उनीहरुलाई सहयोग गरेको हो,’ विष्टले भने, ‘सरकारको एकद्वार नीतिका कारणले धेरै जनालाई चाहेर पनि सहयोग गर्न पाएको छैन्।’  

विष्टले सुर्खेतमा समस्यामा परेकालाई मात्रै होइन्, भारतलगायत देशका विभिन्न ठाउँबाट आइरहेका नागरिकहरुलाई पनि खाजा–खानाको व्यवस्था गर्दै आइरहेका छन्। ‘भारत र नेपालकै विभिन्न ठाउँबाट आउने कर्णालीका विभिन्न जिल्लाका बासिन्दाहरुलाई आवश्यक खाना–खाजाको पनि व्यवस्था गर्ने गरेको छु,’ विष्टले भने, ‘समस्यामा परेका, भोकभोकै यात्रा गरिरहेकाहरुलाई सहयोग गर्न पाउँदा सन्तोष महशुस हुन्छ।’

प्रकाशित: २१ जेष्ठ २०७७ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App