८ वैशाख २०८१ शनिबार
समाज

क्वारेन्टिनमा गम्भीर लापरबाही: कोरोना सार्दै तास, सुर्ती र मोबाइल

भारतबाट फर्केर क्वारेन्टिनमा रहेका व्यक्ति समूहमा गफिँदै।तस्बिरः नागरिक

सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता क्याम्पसको क्वारेन्टिनमा बसेका १७ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ। यसै क्वारेन्टिनका ५ जनामा सोमबार संक्रमण पुष्टि भएको थियो।  

क्वारेन्टिनको २०५ नम्बर कोठामा बसेका पुरुष र २०३ मा बसेका पुरुष सिरहा नगरपालिका ९ भलुवाहीकै हुन। २०३ मा बसेका पुरुष भारतीय सहर जयनगरस्थित छोरीको घरबाट फर्किंदा सीमाबाट क्वारेन्टिनमा पुगेका हुन्। २०५ नम्बरका पुरुष विहारस्थित नबराबाट मजदुरी गरी फर्किंदा जयनगरको क्वारेन्टिनमा १४ दिन बसेर फर्केका हुन्। कोठा फरक भएपनि गाउँ एउटै भएका उनीहरु क्वारेन्टिनमा घुलमिल गरेरै बस्थे। २०३ नम्बरका पुरुषसँग मोबाइल नभएपछि २०५ नम्बरकै पुरुषको मोबाइलबाट गीत सुन्थे, घरमा कुरा पनि गर्थे।

क्वारेन्टिन संयोजक सुरेश चोरबारका अनुसार उनीहरुमध्ये २०३ नम्बर कोठाका पुरुषको यात्रा विवरणमा संक्रमित स्थान देखिँदैन। तर उनी जसको माबाइलबाट कुराकानी गर्ने गर्थे, ती व्यक्तिको यात्रा विवरणमा संक्रमित स्थान देखिन्छ। ती व्यक्ति १४ दिन भारतको जयनगरस्थित क्वारेन्टिनमा बसेर फर्केकाले पनिसंक्रमणको उच्च जोखिममा थिए। २०३ नम्बर कोठाका पुरुषमा उनैबाट संक्रमण सरेको अनुमान स्वास्थ्यकर्मीले गरेका छन्।‘२०५ नम्बर कोठाका पुरुषमा जयनगरको क्वारेन्टिन बस्दा संक्रमण सरेको हुनुपर्छ’, एक स्वास्थ्यकर्मीले भने,‘उनको मोबाइल र उनीसँग घुलमिल गर्दा २०३ कोठा नम्बरका पुरुषमा संक्रमण सरेको शंका छ।’

रौतहटको राजपुर नगरपालिका प्रदेश २ को कोरोना हटस्पट बनेको छ। यस नगरपालिकाको क्वारेन्टिनमा करिब ३ हजार मानिस छन्। ठाउँ नभएर क्वारेन्टिनमा कोचाकोच गरेर बसेका छन्। नगर प्रमुख मोहम्मद सकिल अख्तरका अनुसार क्वारेन्टिनमा कोचाकोच भयो, परीक्षणमा ढिलाइ भइरहेको छ। भारतबाट फर्किनेहरुको ओइरो लागेको छ। क्वारेन्टिनको भिड कम गर्न आफैंले ५ सय भिटिएम किट किनेर पिसिआर परीक्षण कार्यलाई गति दिएको उनले बताए। ‘बुधबार थप ५ सय किट आउँदैछ’, उनले भने,‘भिडका कारण क्वारेन्टिनमै संक्रमण फैलिन थाल्यो। भिड नहटाए अवस्था झन् भयावह हुन्छ।’

सिरहा कोभिड विशेष अस्पताका डा. सरबिन्द मण्डलकाअनुसार एउटै कोठमा बसेकामध्ये एकजना व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएपछि बाँकी उच्च जोखिममा परेका छन्। सँगै स्वाब संकलन गरिएका उनीहरुको रिपोर्ट नेगेटिभ नै आएपनि उनीहरु कोरोना संक्रमणको उच्च जोखिममा हुन्छन्। उनीहरुको पुनः स्वाब संकलन गरी परीक्षण नगराएसम्म ढुक्कसाथ घर फर्काउँदा समुदायमा संक्रमण फैलिने खतरा रहने डा. मण्डल बताउँछन्।

यहाँका क्वारेन्टिनको बेहाल छ। मापदण्ड पूरा नगरी सञ्चालन गरिएका क्वारेन्टिन कोरोना संक्रमणको अखडा बन्दै गएका छन्। एउटै कोठामा कोचाकोच मान्छे राखिएका छन्। सबै नजिक भएर गफिइरहेका हुन्छन, चर्पी, चापाकल साझा प्रयोग गर्छन्। एकले अर्काको मोबाइलमा गीत सुन्छन्, फिल्म हेर्छन्, फोन गर्छन्। एकजनाले माडेको सुर्ती सेवनकर्ता सबैले खान्छन्। एकै ठाउँ भेला भएर तास खेल्छन्, लुडो खेल्छन्। गर्मी हुँदा बाहिर बरन्डा तथा चौरमा जम्मा भएर हँसीमजाक गर्छन्। यस्तो लापरकाहीले भयावह अवस्था ल्याउन सक्ने डा. मण्डल बताउँछन्। 

प्रकाशित: २१ जेष्ठ २०७७ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App