coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गाउँपालिकामा केस इन्भेष्टीगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिम

सिआइसिटि गठनकाक्रममा छलफल गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका जनप्रतिनिधि एबं स्वास्थ्यकर्मी । तस्बिर : नागरिक

भारत तथा तेश्रो मुलुकमा पुगेका स्थानीयलाई घर फर्काउने तयारी गरेसँगै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले केस इन्भेष्टीगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिम (सिआइसिटि) गठन गरेको छ । 

भारत तथा तेश्रो मुलुकबाट भित्रिने स्थानीयलाई सुरक्षित तरिकाले तोकिएको क्वारेन्टिनमा राख्ने, लुकीछिपी घर आएका व्यक्तिको पहिचान गरेर पिसिआर एबं आरडिटी परीक्षणमा पुर्‍याउने, संक्रमण भएको पूष्टी भए उनको सम्पर्कमा पुगेका अन्य व्यक्तिको खोजी गर्ने लगायतका प्रयोजनका लागि सिआइसिटि गठन गरिएको हो ।  

हेअ दिपक दाहालको संयोजकत्वमा सात वटै वडाका स्वास्थ्यकर्मी सम्मिलित नौ सदस्यीय टिम बनाइएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । ‘सरकारले भारत तथा तेश्रो मुलुकमा बसिरहेका नागरिकलाई फिर्ता ल्याउने तयारी गरेको छ । 

उनीहरुलाई सुरक्षितसाथ क्वारेन्टिनमा लगेर राख्ने, आरडिटी वा पिसिआर परीक्षण गराउने काममा सिआइसिटि परिचालन हुन्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘कसैको आरडिटी वा पिसिआर रिपोर्ट पोजिटिभ देखियो भने ती व्यक्ती कहाँ–कहाँ पुगेका थिए, कहाँ बसे, क–कसलाई भेटे भन्ने विवरण संकलन गर्ने र परीक्षणको दायरामा ल्याउनमा टिमले सहयोग गर्ने छ ।’ कोरोना सम्बन्धी केस इन्भेष्टीगेसन गर्ने र कन्ट्याक्ट ट्रेसिङको काममा सहयोग गर्नेगरी केस इन्भेष्टीगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिम गठन गरिएको हो ।  

यसअघि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र दलका नेता सम्मिलित टिम बनाइएकामा पुनः स्वास्थ्यकर्मी मात्रको सानो र चुस्त टिम बनाइएको हो । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भारत, तेश्रो मुलुक तथा नेपालकै विभिन्न स्थानबाट घर आएका नागरिकलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राख्ने तयारी गरेको छ । यस्तै, गाउँपालिकाले सबै स्वास्थ्य संस्थालाई आवश्यक औषधि वितरण गरेको जनाएको छ ।

प्रकाशित: २० जेष्ठ २०७७ १६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App