७ वैशाख २०८१ शुक्रबार
समाज

‘परदेशी आए, कोरोना ल्याए’

एक साता अघिसम्म जुम्ला निकै सुरक्षित थियो । जुम्ला भित्रिएका अधिकांशको पिसिआर परीक्षण भएर रिपोर्ट आइसकेको थियो । केहीको आरडिटी परीक्षण गर्दा नेगेटिभ आइसकेको थियो । लाग्थ्यो,‘अब जुम्ला सुरक्षित छ । कोरोनाले प्रवेश पाउँदैन् । ’ गाउँमा जनप्रतिनिधि मास्क र सेनिटाइजरको प्रयोग बारे सिकाउँदै थिए । राहतका लागि बन्दोबस्त हुदै थियो । भारतदेखि आएकाहरु पनि सुरक्षित थिए । नागरिकमा उत्साह थियो । जनजीवन निकै सहज बन्दै गइरहेको थियो । सुरक्षा व्यवस्था कडा थियो ।    

तर पछिल्लो साता जुम्लामा संक्रमित नै भेटिए । दुई जना सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मीसहित १९ जना । अहिले यहाँको अवस्था भयाभह छ । गाउँगाउँ कोरोना भाइरसका विषयमा चर्चा छ । गाउँ शिल छन् । जिल्ला भित्रबाट आउजाउ गर्नेलाई पनि क्वारेन्टिनमा बस्नु परेको छ । दुई जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि पुलिस सडकमा देखिन छाडेका छन् । स्थानीयबासीमा सन्त्रास फैलिएको छ । दैनिक सयौेँ जना नेपाली भारतबाट जिल्ला भित्रिदैँछन् ।  

क्वारेिन्टन व्यवस्थित छैनन् । सुरक्षा व्यवस्था कमजोर देखिन्छ । दुई दिन अघि भारतदेखि आएका तातोपानी, चन्दननाथ र गुठिचौरका ३४ जनाले बस्ने क्वारेन्टिन समेत पाएनन् । न उनीहरुलाई क्वारेन्टिनको व्यवस्थापन विपद् समितिले गर्न सक्यो, नत उनीहरुको व्यवस्थापन । राती १० बजेसम्म बसपार्कमा अलपत्र परे । कसैले व्यवस्थापन गर्न नचाहेपछि उनीहरु घर फर्के । अहिले वडाको क्वारेन्टिनमा बसिराखेको स्थानीय सरकारहरु बताउँछन्् । एक दिन घर बसिसकेकोले जोखिम निम्तिसकेको स्थानीय बताउँछन् ।  

कामका शिलशिलामा भारतमा जाने चलन छ । दशै मनाएसंगै कालापहाड निस्केका यहाँका स्थानीय फागुन लागेसंगै भित्रिने क्रम सुरु हुन्छ । तर यो पटक कोराना संक्रमणका कारण भारतदेखि आउन मानेका थिएनन् । भारत देखि आएका एक स्थानीयले भने,‘जीन्दगीमा पहिलो पटक ठुलो पिडाको सामान गर्नु पर्यो । यो पिडा कसैलाई नपरोस ।’

परदेशी आउँदा घरमा नयाँ लुगाकपडा,खानेकुरा, भाडाकुडा ल्याउने गर्छन् । साथमा कमाएको रुपैयाँ ल्याउँछन् । तर यो पटक ज्यान पनि धौ धौ गरेर ल्याउन पाए । परदेशी आए कोरोना ल्याए । स्थानीय छविलाल रावतले भने,‘परदेशीले नासो कोराना ल्याए । अब कतिलाई सार्ने हुन् । ’

परदेशबाट आउने जो सुकैलाई सहजै रुपमा घर नपठाउन स्थानीयले माग गरेका छन् । उनीहरुलाइ मापदण्ड अनुसारको क्वारेन्टिनमा राखेर पिसिआर परीक्षण गरेर मात्र घर फर्काउने बातावरण मिलाउनको लागि सम्बन्धित सरोकारवालालाई आग्रह गरेका छन् ।

केही जिल्ला भित्रिएका परदेशीले अब घर नजिकै पुग्दा राहतको अनुभुति गरेका छन् । तर भारत देखि आउन नपाएका र बीचमै थन्किएकाहरुको पिडा झन मर्माहत छ । आफ्नो र परिवारको लुगाफाटो फेरौँला, टन्न रुपैयाँ कमाएर क्रृण तिरौँला, घरमा व्यापार व्यवसाय गरौँला, छोराछोरी पढाउँला भन्ने मान्यता लिएर परदेश छिरेका थियौँ, जुम्लाका एक जना संक्रमितले भने,‘ यो बर्ष रोग बोकेर आयौँ । आफु निकै असुरक्षित भयौँ । अरुलाई पनि सुरक्षित हुन नदिने भयौँ । निकै अभागी रहेछौँ ।’

उनले यो पटक कोेराना नासो स्वरुप ल्याएर आएको बताए । विश्वरभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्यो । मरे पनि घरपरिवारको अनुहार देखेर, उनीहरुकै अगाडी मर्ने भनेर आयौँ,उनले थपे,‘कति दिन भोकै बस्यौँ, कति रात निदाउन पाएनौँ । निकै बिचल्ली बन्यौँ । सायद जीवनमा यस्तो प्रकारको कष्ट कहिल्यै भोगेका थिएनौँ । ’

अहिले कोरोना नलागेपनि भारतबाट आउनेलाई हेर्ने दृष्टिकोण निकै फरक छन् । उनीहरुलाई हेपाह हिसावले हेर्छन् । नजिकै आउन मान्दैनन् । गाउँमा मानिसलाई मानिसले हेर्ने तरिका फरक भईसकेकोछ । उनले भने,‘तर हिम्मत हारेका छैनौँ । कोरोना संक्रमित देखिएपनि मर्दैनौँ । कोराना जित्ने आँट र साहस बटुलिरहेका छौँ । कोराना संग जितेर घर फर्कने प्रण गरेका छौँ । ’

भारतबाट आउनेको लर्को नै छ । क्वारेन्टिन व्यवस्थापनदेखि परीक्षणका क्रियाकलापमा निकै सकस भइरहेको छ । यहाँका बस्ती नै भौगोलिक हिसावले कोराना अनुकुल छन् । पहिले परदेशी आए । लुगाफाटो ल्याए । परदेशी आए धन कमाएर ल्याए  भन्दै एक आपसमा खुसि आदान प्रदान हुन्थ्यो । तर अहिले परदेशीले कोरोना ल्याए भन्दै तर्सनु परिरहेको छ ।  

अहिले भारतमा भएका नेपालीको तथ्यांक जुम्लामा संकलन हुन सकेको छैन् । धमाधम भित्रिरहेका छन् । व्यवस्थापनमा निकै चुनौति छ । भारतको गोवा,मुम्बईदेखि नेपाली जुम्ला भित्रिएका छन् । जुम्लामा कोराना भित्रिएसंगै गाउँमा त्रास छ । सहरमा अभाव छ । दैनिक उपभोग्य सामाग्री आयत निर्यात भइरहेपछि गाउँसम्म पुर्‍याउन सकिएको छैन ।  

जुम्लाको सिँजा क्षेत्रका बासिन्दा व्यापार गर्न भारत जान्छन् । अन्य क्षेत्रका मानिसहरु ज्यालामजदुरीमा काम गर्न भारत पुग्छन् । अहिलेको पिडा नेपालमा रोजगारीका प्रशस्त अवसर नहुनुको उपज रहेको जानकारहरु बताउँछन् । भारतदेखि आएका मानिसहरुलाई बाहिर आवतजावतमा पुर्ण प्रतिबन्धसहित क्वारेन्टिनमा राख्न स्थानीयले दबाव दिइरहेका छन् ।  

अहिले जुम्लाका क्वारेन्टिन भारतबाट आएकाहरुबाट नै असुरक्षित छन् । क्वारेन्टिनमा खानेपानी शौचालयका कारण पनि कोराना संक्रमण फैलन सक्ने खतरा बढेको छ ।

प्रकाशित: २० जेष्ठ २०७७ १५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App