८ वैशाख २०८१ शनिबार
समाज

सार्वजनिक भवनमा क्वारेन्टिन बनाउन नपाइने रिट खारेज

उच्च अदालत सुर्खेत इजलास जुम्लामा सार्वजनिक भवनमा क्वारेन्टिन बनाउने नपाइने रिट खारेज गरेको छ । जुम्लाको निर्माण व्यवसायी संघको भवनमा क्वारेन्टिन बनाउन नपाईने भन्दै अदालतमा परेको रिटको सुनुवाई गर्दै उच्च अदालतले सार्वजनिक भवनमा क्वारेन्टिन बनाउन नपाइने रिट खारेज गरेको हो ।  

रिटमा उल्लेख भए बमोजिम उत्प्रेषण परमादेशको आदेश हुनु पर्नेको विद्यमन्ता अवस्था रहेको नदेखिदा यस अदालतबाट १६ जेठमा जारी भएको अन्तरिम आदेश निस्क्रिय भई जारी रिट खारेज भएको हो ।  

मंगलबार मुख्य न्यायधिश रत्नबहादुर बागचन्द् र न्यायधिश राकेशकुमार निधिको संयुक्त इजलासले  रिट खारेज गरेको हो । बर्तमान कोभिड १९ को महामारी र सम्भावनालाई मध्येनजर गर्दै विपक्षीहरुको नाममा ६ बुदे आदेश जारी भएको निमित्त रजिष्ट्रार रक्षबहादुर बुढ्थापाले जानकारी दिए ।  

जुम्ला जिल्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिन सक्ने नेपाली नागरिकहरुको संभावित संख्या र चापको स्थितिलाई यर्थाथपरक तवरले विश्लेषण गरी अनुमान गरिने र सो भन्दा बढी संख्या र चापमा नागरिक भित्रिने अवस्था रहदाँ पनि क्वारेन्टिन निर्माण व्यवस्थापन र सञ्चालन मापदण्ड २०७६ कायम राख्न कुनै कमी नआउने गरी बन्दोबस्तको सामग्री आर्थिक, प्राविधिक र जनशक्तिसहितको पुर्ण तयारी अवस्थामा रहन आदेश गरेको हो 

क्वारेन्टिन सञ्चालनको दौरानमा परिचालन हुने सुरक्षा बलको प्रयोग संविधानद्धारा तत् तत् नागरिकको मौलिक हक र मानवअधिकारको मुल्य र मान्यता जिउधन, स्वतन्त्रताको संरक्षण र कानुनी शासन सम्वन्धी संवैधानिक मस्कदमा आँच नआउने गरी व्यवसायी र जनउत्तरदायी तवरले परिचालन गर्नु आदेश गरेको हो ।

क्वारेन्टिन निर्माण, व्यवस्थापन तथा संचालनको सम्बन्धमा सरोकारवाला समुदायसँग परामर्श लिने र जिल्लास्थित स्थानीय तह र नागरिकहरु बीच समन्वयत्मक भुमिकासमेत निर्वाह गरी क्रियाशिल रहनु पर्नेमा आदेश गरिएको रजिष्टार बुढ्थापा बताउँछन् ।  

चन्दननाथ नगरपालिका – ५ स्थित निर्माण व्यवसायी सघंको भवनमा क्वारेन्टिन बनाएपछि रोक सर्ने डरले नजिकैका समुदायले अदालतमा रिट दायर गरेका थिए  । जिल्ला विपद् व्यवस्थापन तथा न्यूनिकरण समिति र प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय जुम्ला रिटमा विपक्षी बनाएको थियो । त्यसैगरी जिल्ला विपद न्यूनिकरण तथा व्यवस्थापन समिति, सहायक प्रमुख जिल्ला अधिकारी क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन समितिलगायतको नाममा रिट दायर भएको थियो ।  

चन्दननाथ नगरपालिका भित्रको सार्वजनिक संरचना सामुदायिक विद्यालय, क्याम्पस लगायतका भवनमा क्वारेन्टिन बनाउन खोज्दा रोग सर्ने त्रासले स्थानीयले विरोध गर्दै आएका छन् ।  

लकडाउन अवधिभर जुम्ला १२ हजार ९२ जना नागरिक भित्रिएका छन् । अहिले ६ सय ५६ जना क्वारेन्टिनमा बसेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी एक हजार ७ सय ९ जनालाई कोरोना परीक्षण गरिएकोमा १९ जनालाई पोजेटिभ देखिएको छ ।  

 

प्रकाशित: २० जेष्ठ २०७७ १५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App