८ वैशाख २०८१ शनिबार
समाज

जुम्लाका क्वारेन्टिन भद्रगोल

झण्डै एक महिना अघि जुम्लाका हरेक स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन मापदण्ड अनुसार नभएको भन्दै अधिवक्ता पदमबहादुर शाहीले उच्च अदालतमा रिट हाले । रिटको सुनुवाई गर्दै उच्च अदालतले भन्यो,‘मापदण्ड अनुसार क्वारेन्टिनको बनाउनु ।’ अदालतको आदेशपछि जिल्ला विपद समितिको बैठकले जिल्लास्तरीय एकीकृत क्वारेन्टिनको खाका प्रस्तुत गर्यो । त्यो प्रस्तावमा यहाँका एक नगरपालिका सहित सबै गाउँपालिका प्रमुखले ताली बजाएर सहमति जाहेर गरे । जस अनुसार जुम्लाका पाँच स्थानमा क्वारेन्टिन निर्माण भए ।  

कर्णाली प्राविधिक शिक्षालय, जुम्ला बहुमुखि क्याम्पस,निर्माण व्यवसायी संघको भवन,दुर्गा माबि लाम्रा र सरस्वती माबि कुडारीमा एकीकृत क्वारेन्टिन निर्माण गर्ने निर्णय भयो । अहिले तीनै एकीकृत क्वारेन्टिनको अवस्था भद्रगोल छ । निर्माण व्यवसायी र जुम्ला बहुमुखि क्याम्पसको क्वारेन्टिनमा स्थानीयले भारतबाट आएकाहरुलाई बस्न दिइएनन् ।  

निर्माण व्यवसायी संघको भवनमा बनाउने भनिएको क्वारेन्टिनका बारेमा स्थानीयवासीले अदातलमा मुद्दा हालेपछि त्यहाँ क्वारेन्टिन बन्न सकेनन् अदालतले हाललाई निर्माण व्यवसायी संघको हलमा क्वारेन्टिन नबनाउन अन्तरिम आदेश दिएको छ ।

पहिले जिल्लास्तरीय क्वारेन्टिन निर्माण गर्ने बारे सबै मौन बसे । पछिल्लो समयमा त्यही क्वारेन्टिन बारेमा टिकाटिप्पणी हुने देखि अवरोध गर्ने सम्मका काम भए । सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा क्वारेन्टिन बनाउने जिम्मेवारी पालिकाको भएको बताउँछन । उनी भन्छन्,‘ हामीले सुरक्षा दिने हो । सुरक्षा दिएकै छौँ । क्वारेन्टिन बनाउन ठाउँठाउँ जाँदा स्थानीयवासीले अवरोध गरेका कारण सकिएको छैन ।  प्रशासनले मात्रै केही गर्न सक्दैन । ’ जुम्लामा पहिले देखि क्वारेन्टिनका बारेमा अदालतमा रिट परिराखेको छ । अहिले प्रत्येक स्थानीय तहमा क्वारेन्टिन निर्माणको काम शुरु भएको छ । तर अहिले निर्माण भएका सबै क्वारेन्टिन मापदण्ड अनुसारका छैनन् । क्वारेन्टिनमा न खानेपानीको सहज पहुँच देखिन्छ, नत शौचालयको प्रयाप्त सुविधा नै ।जसका कारण यहाँका क्वारेन्टिनमा झनै जोखिम छ ।  

भारतबाट दिन प्रतिदिन सयौँको संख्यामा नेपाली नागरिक जुम्लामा भित्रिन थालेपछि उनीहरूलाई क्वारेन्टिनमा राख्न यहाँका स्थानीय तहलाई सकस भएको छ। जिल्लामा भएका एकीकृत क्वारेन्टिन कर्णाली प्राविधिक शिक्षालय, लामास्थित दुर्गा मावि, कुडारीस्थित सरस्वती माबि भरिभराउ भइसकेका छन् । प्रशासन कार्यालयकाके तथ्यांक अनुसार ती क्वारेन्टिनमा अहिले ६३० जनालाई राखिएको छ । थप क्वारेन्टिन बनाउन स्थानीय तहहरू लागिपरेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए ।

अहिले सम्म भारतदेखि कतिको संख्यामा जुम्लाबासी आउने भन्ने बारेमा एकिन तथ्यांक छैन । त्यही कारणले पनि जुम्ला उच्च जोखिम भित्र परेको छ । जुम्लामा दुई सुरक्षाकर्मी र एक स्वास्थ्यकर्र्मीसहित  १९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।  

कर्णाली प्राविधिक शिक्षालयमा कोराना पोजेटिभ र नेगेटिभ देखिएका सबै एकै ठाउँमा छन् । पोेजेटिभलाई छुट्टै राख्न कुनै व्यवस्थापन छैन ।क्वारेन्टिनको समयमै व्यवस्थापन नहुँदा तातोपानी, गुठिचौर र चन्दननाथ नगरपालिकाका भारतबाट आएकाहरु घर छिरे । उनीहरुका कारण झन उच्च जोखिम निम्तिएको छ । स्थानीयका अनुसार सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि प्रहरी सडकमा देखिएको छैन । बजारमा न लकडाउनको पालना भइरहेकोछ । नत कुनै सतर्कता । झनै जोखिम बढ्दै गइरहेको छ ।  

यो बीचमै प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको सरुवा भएपछि बीचमा निमित्त प्रमुख जिल्ला अधिकारीले निर्णय लिन नसकेको र जसको फाईदा स्वरुप स्थानीयले क्वारेन्टिन बनाउन नदिइएको जानकार बताउँछन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा विपद व्यवस्थापन समितिका कारण क्वारेन्टिन भद्रगोल भएको बताउँछन् । उनका अनुसार यहाँका कुनै पनि क्वारेन्टिन मापदण्ड बमोजिमका छैनन् । संक्रमितलाई सहजै रुपमा अस्पताल लैजान सक्ने अवस्था छैन् । कर्णाली राजमार्ग संग जोडिएका विद्यालयमा क्वारेन्टिन निर्माण गरेर सहजै रुपमा बिरामीलाई अस्पताल पुर्‍याउने मनसायका साथ एकीकृत क्वारेन्टिनको अवधारणा अघि सारीएको हो, उपप्रमुख बुढाले भने,‘ तर विपद् व्यवस्थापन समितिको गैरजिम्मेवारी पनका कारण समस्या बल्झियो । ’  

यो कठिन परिस्थितीमा सबै मिलेर अघि बढ्नु पर्ने हो । कुनै पनि क्वारेन्टिनमा सुरक्षा व्यवस्था प्रभावकारी देखिएन्, उपप्रमुख बुढा भन्छन्,‘ कि जनप्रतिनिधिलाई सेना प्रहरी खटाउने अधिकार दिनु पर्यो, कि त अधिकार पाएकाहरुले सुरक्षा व्यवस्था कडा बनाईदिनु पर्यो । ’सुरक्षा प्रमुखहरुका कारण नै जुम्लाका क्वारेन्टिन भद्रोगोल भएको आरोप जनप्रतिनिधिको छ । नीति बनाउने भन्दा पनि कार्यान्वयन गर्ने निकाया कमजोर भएकोले जुम्लामा कोरोना संक्रमण उच्च जोखिम बढ्या्े ।  

पहिले पाँच वटा स्थानमा मात्र क्वारेन्टिन बनाउने निर्णय भइसकेकोमा फेरी हरेक वडामा क्वारेन्टिन निर्माण गर्न थालिसकिएको छ ।  

 

 

   

 

 

प्रकाशित: २० जेष्ठ २०७७ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App