coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

क्वारेन्टिनको चाँप बढ्दो, परीक्षणको गति सुस्त

प्रदेश ५

नवलपरासीको रामग्राम नगरपालिका–५ स्थित आदर्श माविको क्वारेन्टिनमा भारतबाट फर्किएका ४२ जना छन् । तीमध्ये आधाजसोले क्वारेन्टिनमै तीन साता बिताइसके । तर, अहिलेसम्म उनीहरूको नमुना परीक्षणको रिपोर्ट आएको छैन । नगरपालिकाप्रमुख नरेन्द्र गुप्ताका अनुसार यसअघि भिटिएम नहुँदा समयमै स्वाब संकलन हुन सकेन । भिटिएम पाएपछि लिइएको थ्रोट स्वाबको परीक्षण रिपोर्ट जनस्वास्थ्य प्रयोगशाला भैरहवाले १० दिन बितिसक्दा पनि दिएको छैन । परीक्षण रिपोर्ट नआउँदा निश्चित अवधि पूरा गरिसकेकाहरू पनि क्वारेन्टिनमै छन् । जिल्लामा सोमबारसम्म १ हजार ३ सय ७६ क्वारेन्टिनमा छन् ।

कोरोनाको इपिसेन्टर बनेको कपिलवस्तुमा अहिले साढे ४ हजार जना क्वारेन्टिनमा छन् । ती सबै भारतको कोरोना फैलिएका दिल्ली, बम्बई, गुजरातलगायत सहरबाट आएका हुन् । यसअघि यस जिल्लामा भेटिएका ३ सय १७ जना संक्रमित पनि भारतबाटै फर्किएका थिए । जिल्लामा भारतबाट फर्किनेको चाँप दिनदिनै बढ्दो छ । 

दुई/तीन साताअघि भारतबाट फर्केर क्वारेन्टिनमा बसेकाहरूको समेत परीक्षण हुन सकेको छैन ।  दुई साता बसिसक्दा पनि कोरोना टेस्ट नगरिएपछि क्वारेन्टिनमा बस्नेहरू धमाधम भाग्न थालेका छन् । क्वारेन्टिनमा बसेकाहरूको समयमै परीक्षण हुन नसक्दा र भारतबाट आउनेको संख्या थपिइरहँदा तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने अन्योलमा स्थानीय तहहरू छन् ।

कपिलवस्तुका क्वारेन्टिनमा ४ हजार ५ सय २० जना छन् । जिल्लाका विभिन्न नाका हुँदै अहिले पनि दैनिक एक हजार नेपाली फर्किरहेका छन् । प्रदेश र केन्द्र सरकारले समयमै किट उपलब्ध गराएर टेस्टको दायरा नबढाए क्वारेन्टिनमा बसेकाहरूलाई परीक्षणबिनै घर पठाउनुपर्ने अवस्था आउन सक्ने भन्दै स्थानीय तहका जनप्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् ।  

अहिलेसम्म ५ जना संक्रमित भेटिएको पाल्पामा पनि क्वारेन्टिनमा बस्नेको संख्या ह्वात्तै बढेको छ तर परीक्षण सुस्त गतिमा । पर्याप्त भिटिएम नहुँदा क्वारेन्टिनमा बस्नेहरूको थ्रोट स्वाब संकलन  हुन सकेको छैन । सोमबारसम्म पाल्पामा १ हजार २ सय २८ जना क्वारेन्टिनमा छन् । तीमध्ये अधिकांश जेठ महिना लागेपछि भारतबाट फर्केका हुन् ।  जेठ ७ गते प्रदेश सरकारले एक सय थान भिटिएम उपलब्ध गराएको थियो । त्यही नमुना परीक्षणका क्रममा जिल्लामा सोमबारसम्म ५ जना संक्रमित फेला परेका छन् ।  

कोरोना संक्रमणबाट एकजना शिक्षकको ज्यान गइसकेको गुल्मीमा क्वारेन्टिनमा बस्नेको संख्या २ हजार ९ सय २४ पुगेको छ । यो जिल्लामा गाउँपालिकाकै अध्यक्षलाई कोरोना संक्रमण भएपछि कन्ट्र्याक्ट ट्रेसिङका लागि पछिल्लो साता १ सय २०जनाको थ्रोट स्वाब संकलन गरिए पनि क्वारेन्टिनमा बस्नेहरूको नमुना संकलनले प्राथमिकता पाएको छैन। पर्याप्त भिटिएम नहुँदा क्वारेन्टिनमा बस्ने सबैको स्वाब संकलन गर्न नसकिएको धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले बताए ।

रुपन्देहीमा ३ हजार ३ सय ३४ जना क्वारेन्टिनमा छन् । अहिलेसम्म कारोना संक्रमित नभेटिएको जिल्ला प्युठानमा ६ हजार ३ सय ५९ जना भारतबाट फर्केर क्वारेन्टिनमा बसेका छन्। बाँकेमा ३ हजार ८ सय ९४ जना, बर्दियामा ४ हजार ४ सय ६० र अर्घाखाँचीमा ३ हजार ९ सय ५० जना छन् । त्यस्तै, दाङमा ४ हजार ८ सय ६८, रोल्पामा १ हजार ९ सय ५८ र पूर्वी रुकुममा २ सय ८१ जना क्वारेन्टिनमा छन्।  

प्रदेश ५ का विभिन्न नाकाबाट अहिले पनि दैनिक ३ हजारका दरले नेपालीहरू फर्किरहेका छन्। तर, सीमामा चेकजाँच नगरी सम्बन्धित जिल्ला तथा पालिकामा पठाइएको छ । सोमबारसम्मको तथ्यांकअनुरुप प्रदेशका १२ जिल्लामा ३९ हजार २ सय ६८ जना क्वारेन्टिनमा छन् । वैशाख मसान्तसम्म ७ हजार ३ सय ५ जना क्वारेन्टिनमा थिए । जेठमा मात्रै भारतबाट फर्कनेको संख्या ३१ हजार ९ सय ६३ रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले बताए । अबको दुई सातासम्म यो संख्या निरन्तर बढ्ने  सुरक्षा अधिकारीहरूले बताएका छन् ।  

भारतबाट फर्केकाहरूको दुई सातासम्म नमुना संकलन नगरिएको र संकलित नमुना परीक्षणमा पनि ढिलाइ गरिएको गुनासो अधिकतर स्थानीय तहका प्रमुख तथा स्वास्थ्य संयोजकहरूको छ । ‘भारतबाट आउनेको चाँप पनि नघट्ने अनि क्वारेन्टिनमा बसेकाको परीक्षण पनि नगर्ने । अनि कसरी क्वारेन्टिन व्यवस्थापन राम्रो हुन्छ ?’ रामग्राम नगरपालिकका प्रमुख नरेन्द्र गुप्ताले भने । 

केन्द्र र  प्रदेश सरकारले स्थानीय तहलाई दोष देखाउनुको साटो परीक्षणको दर बढाउनेतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘भारतबाट आएका सबैमा कोरोना हुन्छ भन्ने होइन तर एक/दुई जनामा भएको भाइरस अरूलाइ सर्ला भन्ने मुख्य चिन्ता हो र यो कुरा संघ र प्रदेश सरकारले बेलैमा बुझ्नु प¥यो,’ मेयर गुप्ताले भने ।  

तर, प्रदेश सरकारले भने परीक्षणको दर बढाइएको दाबी गर्दै ३९ हजारलाई क्वारेन्टिनमा राख्नु नै ठुलो उपलब्धि भएको बताउँदै आएको छ ।

प्रकाशित: २० जेष्ठ २०७७ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App