coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतबाट फर्किंदा कोसेली ‘कोरोना’

कोरोना फैलाउने कारखाना बन्दै क्वारेन्टिन

लहानको जेएस मुरारका क्वारेन्टिनमा डेस्क बेन्च जोडेर भारतबाट फर्केकाहरुलाई सुताउन बनाइएको ओछ्यान। तस्विरः नागरिक

भारतमा रेल र बस सेवा सञ्चालनमा आएसँगै कामका लागि त्यहाँ रहेका प्रवासी फर्किने क्रम बढेको छ। फर्किएकालाई क्वारेन्टिनमा राखेर प्रयोगशाला परीक्षणको परिणामअनुसार व्यवस्थापन गरिँदै छ। प्रयोगशाला परीक्षणमा उनीहरुमध्ये अधिकांशमा कोरोना भाइरस पोजेटिभ पाइएको छ।

भारतबाट फर्केर सर्लाहीको कविलासी नगरपालिकाअन्तर्गतको क्वारेन्टिनमा बसेका ६० जनाको स्वाब प्रयोगशाला परीक्षणका लागि पठाउँदा सोमबार ३६ जनाको रिपोर्ट पोजेटिभ आएको छ। नगर प्रमुख कोशलकिशोर यादव भन्छन्, ‘संक्रमितमध्ये अधिकांश महाराष्ट्रबाट फर्केका छन्। क्वारेन्टिनमा बसेका धेरै मानिसमा संक्रमण पुष्टि भएपछि व्यवस्थापनमा चुनौती थपियो।’ उनी भन्छन्, ‘क्वारेन्टिनमा संक्रमण फैलिने खतरा बढ्यो।’ संक्रमित र संक्रमण नभएका आपसमा घुलमिल हुनसक्ने भएकाले सबैलाई पुनःपरीक्षण गराउनुपर्ने अवस्था आएको उनको भनाइ छ।  

सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता यादव क्याम्पसको क्वारेन्टिनमा बसेकामध्ये सोमबार ५ जनामा कोरानो पोजेटिभ पुष्टि भएको छ। उनीहरुमध्ये ३ जना भारतको महाराष्ट्र(मुम्बई) र २ जना बिहार(मधुवनी) बाट फर्केका हुन्।  

संक्रमितहरु क्वारेन्टिनमा तीन वटा कोठमा अन्य व्यक्तिसँगै बस्दै आएका थिए। उनीहरु संक्रमित पाइएपछि बाँकीमा पनि संक्रमण फैलिएको हुनसक्ने खतरा बढेको छ। क्वारेन्टिन संयोजक सुरेश चोरबारका अनुसार एउटा कोठमा पाँचदेखि सातजना बसेका छन। एकजनामा संक्रमण भेटिए बाँकीमा संक्रमण फैलिएको हुन सक्छ। उनीहरुले प्रयोग गर्ने शौचालय, चापाकललगायतले पनि क्वारेन्टिनमा संक्रमण फैलिने सम्भावना छ।

उनीहरुलाई ब्रज मावि क्वारेन्टिन माड्रबाट यस क्वारेन्टिनमा सारिएको हो। त्यहाँ बस्दा झन् सबैजना घुलमिल गरेर बसेका थिए। एउटै चापाकल प्रयोग गरेका थिए। चौरमा बसेर सुर्ती माडेर बाँडेर खाएको देख्नेहरु बताउँछन्।  

दुई महिनादेखि क्वारेन्टिन सञ्चालन गरेर आवास तथा खानपान व्यवस्थापन गरिरहेका छौं। दैनिक कम्तीमा ५० हजार खर्च भइरहेको छ। सबै पैसा क्वारेन्टिन व्यवस्थापनमै सकिन लाग्यो।

भारतबाट फर्केर जनकपुरको गोपाल धर्मशाला क्वरेन्टिनमा बस्दै आएका १० जनमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकीमा पनि त्रास फैलिएको छ। संक्रमित भेटिएकाहरु बस्ने कोठा र क्वारेन्टिन डिस्इन्फेक्ट नगरेपछि थप व्यक्तिमा संक्रमण फैलिने खतरा बढेको छ। यस क्वारेन्टिनमा करिब ७५ जना छन्। क्वारेन्टिनका २ जनामा शनिबार र ८ जनामा आइतबार गरी १० जनामा संक्रमण भेटिएको थियो। शनिबार संक्रमण पुष्टि भएकालाई आइतबार मात्र आइसोलेसनमा पठाइएको थियो।  

सप्तरीको बोदेबरसाइन नगरपालिकाका १० जना कोराना संक्रमितलाई चार दिनसम्म क्वारेन्टिनमै राखियो। क्वारेन्टिनमा संक्रमितहरुसँगको सम्पर्कमा अरु धेरै असंक्रमित आए। ‘जति भन्दा पनि उनीहरु घुलमिल गरिहाल्थे,’ नगर प्रमुख आतिश सिंहले भने, ‘चारदिनमा संक्रमितले अरु कतिलाई सारे ठेगान छैन। उनीहरुमध्ये धेरैलाई म आफैंले गाडि चलाएर बोर्डरबाट क्वारेन्टिनसम्म पुर्याएको थिएँ, म आफैंलाई संक्रमणको डर लाग्न थालेको छ।’ क्वारेन्टिनमा भएका सम्भाविक संक्रमित र संक्रमण पुष्टि भएकाहरु घुलमिल गर्छन। एउटा कोठमा पाँच सात जना बसेका हुन्छन। एक जना पनि संक्रमित छ भने बाँकीमा फैलिने खतरा हुन्छ। क्वारेन्टिन भित्रै संक्रमण फैलिने खतरा बढेको नगर प्रमुख सिंहले बताए।  

सिरहाको ब्रज मावि क्वारेन्टिनमा भूइँमै त्रिपाल ओछ्याएर सुतेका भारतबट फर्केका नेपाली।

प्रदेश २ को कोरोना ‘हटस्पट’ रौतहटको गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले भने, ‘सरकारबाट अहिलेसम्म मास्क सहयोग पनि पाइएको छैन। दुई महिनादेखि क्वारेन्टिन सञ्चालन गरेर आवास तथा खानपान व्यवस्थापन गरिरहेका छौं। दैनिक कम्तीमा ५० हजार खर्च भइरहेको छ। सबै पैसा क्वारेन्टिन व्यवस्थापनमै सकिन लाग्यो।’  

पछिल्लोसमय कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट फर्केका नेपाली हुन्। भारतका विभिन्न स्थानमा रोजगारीका लागि गएका मजदुर घर फर्केसँगै कोरोना संक्रमितको संख्या प्रदेशमा ह्वात्तै बढेको छ। अहिले यस प्रदेशका जिल्लाहरुको विभिन्न क्वारेन्टिनमा भारतबाट फर्केका नेपाली कामदारको संख्या २२ हजार ७ सय ७ रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ। भारतबाट अझै आउँदैछन्। उनीहरू फर्केसँगै क्वारेन्टिनमा कोरोना संक्रमण फैलिने खतरा बढ्दैछ।

प्रदेश प्रहरी कार्यालय जनकपुरकाअनुसार सोमबारसम्म २२ हजार ३ सय ५३ जना नेपाली भारतबाट फर्केका छन। सोमबार मात्रै १ हजार ७ सय २५ जना प्रवेश गरेको कार्यालयका प्रवतmा जयराज सापकोटाले बताए। यस प्रदेशमा सबैभन्दा बढी भारतबाट फर्किने ७ हजार ६ सय ५३ जना रौतहटका छन्।

सप्तरीमा २०१३, सिरहामा २०३४, धनुषामा १९२७, महोत्तरीमा २८८२, सर्लाहीमा २३१२, बारामा १७७९ र पर्सामा १७५३ जना फर्केका छन। प्रदेश २ सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले यस प्रदेशमा भारतबाट मात्र २ लाख प्रदेशवासी फर्किने अनुमान गरेको छ।

हरेक दिन थपिने कोरोना संक्रमितको संख्यामा प्रदेश २ का आठ जिल्लाको ठूलो हिस्सा हुन्छ। सोमबार देशभर २२६ जना संक्रमित थपिदा प्रदेश २ मा ७० जना संक्रमित थपिए। उनीहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु भएको समाजिक विकास मन्त्रालयका प्रवक्ता सचिव रामप्रसाद घिमिरेले बताए।  

प्रदेश २ का ८ जिल्लाका विभिन्न स्थानीय तहको क्वारेन्टिनमा २७ हजार २ सय ९० बेड क्षमता छ। कतिपय जिल्लामा बेड संख्याभन्दा बढी मानिस क्वारेन्टिनमा रहे पनि कसैले अनुमगन गरेको छैन। न्यूनतम मापदण्डसमेत पूरा नगरिएपछि क्वारेन्टिनबाटै कोरोना संक्रमणको जोखिम बढ्दै छ। कतिपय क्वारेन्टिानमा खाटको ठाउँमा विद्यालयमा विद्यार्थी बस्ने बेन्च सुत्नलाई दिइएको छ। मापदण्डविपरित तयार पारिएको क्वारेन्टिन कोरोना संक्रमण फैलाउने कारखाना बन्दै गएको छ।  

‘क्वारेन्टिन बसेको दुई सप्ताहसम्म स्वाब परीक्षण हुँदैन,’ रौतहटको देवाही गोनाही नगरपालिका प्रमुख धर्मेन्द्र पट्टेल भन्छन्, ‘भए पनि नतिजा आउन एक साता कुर्नुपर्ने अवस्था छ। कोही संक्रमित छन् भने यस अवधिमा अर्कोलाई संक्रमण सार्ने सम्भावना व्यापक हुन्छ।’

मापदण्ड अनुसार क्वारेन्टिन घनाबस्तीबाट टाढा हुनुपर्ने उल्लेख छ। १० वर्षसम्मका बालबालिका लागि छुट्टै क्वारेन्टिन हुनुपर्छ। स्वास्थ्यकर्मीका लागि छुट्टै भवन हुनुपर्छ। ओढ्ने ओछ्याउने झुल सहितको खाट हुनुपर्नेछ। नियमित सरसफाइको व्यवस्था हुनुपर्छ।

क्वरेन्टिनमा प्रतिसयजना सुपरीवेक्षणका लागि एकजना एमडि(कम्युनिटि मेडिसिन) वा एमपिएच गरेको प्रत्येक ८ घण्टाको सिफ्टमा उपलब्ध हुनुपर्ने मापदण्डमा उल्लेख छ। मेडिकल अधिकृत एकजना हुनपर्नेलगायतका मापदण्ड तोकिएको भए पनि कसैले पूरा गरेको पाइँदैन। ‘आइसोलेसन अस्पतालमा खटिने डाक्टर त पाइरहेको छैन,’ प्रदेश सरकारका एक अधिकारीले भने, ‘क्वारेन्टिनमा खटाउन कहाँबाट डाक्टर ल्याउनु’।

प्रकाशित: २० जेष्ठ २०७७ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App