६ वैशाख २०८१ बिहीबार
समाज

कर्णालीले मास्क फेर्न पा’छैन

पुरानो मास्क लगाएर गन्तव्यमा जाँदै दुई बालक। तस्विर सौजन्यःभक्त शाह/सुर्खेत

कोभिड–१९ अर्थात् कोरोना भाइरस छिमेकी मुलुक चीनबाट सुरु भइ विश्वभरि फैलिँदै थियो। नेपालमा त्रास बढ्दो थियो। जब भारतमा कोरोना प्रवेश ग-यो तब नेपालमा त्रास एकाएक बढ्यो। सामान्य अवस्थामा पाइन थालेको मास्कको मूल्य ह्वात्तै आकासियो। १० रूपैयाँ पर्ने ‘सर्जिकल मास्क’ लाई ५० रूपैयाँसम्म मूल्य तिर्न बाध्य भयो कर्णाली। जब कोरोनाको जोखिम बढ्दै गयो तब कर्णालीमा उक्त मास्क अभाव भयो।

कतिले किने, कतिलाई स्थानीय सरकारले वितरण गरे भने कतिपय अहिले पनि मास्कविहीन छन्। भएकाले अढाइ महिना अगाडि किनेका सर्जिकल मास्कलाई बेलाबेला सफा गरेर प्रयोग गर्छन। जुन मास्क एकपटक प्रयोग गरेपछि अर्काेपटक प्रयोग गर्दा प्रभावकारी हुँदैन। तर बाध्यताले रोगभन्दा नाक र मुख छोप्न माक्स अभावमा कर्णालीवासी धोएर बेलाबेला प्रयोग गरिरहेका छन्।

त्यो कति सुरक्षित र भरपर्दा होला सहजै अनुमान गर्न सकिन्छ। कतिपयले आफैँ कपडाको मास्क बनाएर प्रयोग गरिरहेका छन्। अहिले सर्वसाधारण मास्क किन्न जाँदा पाउँदैनन्। केही पहुँचवाला पसलमा जाँदा थोरै भए पनि पाउँछन्। ‘लकडाउनका बेला मास्क किनेको हुँ,’ पश्चिम सुर्खेत पञ्चपुरीका रञ्जित खड्काले भने, ‘त्यसैले अहिलेसम्म धानेको छ।’ बजारमा किन्न जाँदा पनि मास्क नपाएको उनको भनाइ छ। धेरैपटक प्रयोग मास्क प्रयोग गर्दा त्यसको प्रभावकारीता नहुने चिकित्सकहरू बताउँछन्। अहिले महामारीका रूपमा फैलिएको कोरानाबाट बच्न सामान्य मास्कसमेत नपाएका कर्णालीवासीलाई राष्ट्रपतिको बगैँचाका लागि मात्र एक करोड खर्च हुने खबरले चिन्तित तुल्याएका छ। बेलाबेला रोगसँग जुधिरहने कर्णालीमा कोरोना भाइरस बढ्दै गएपछि मास्क धेरै आवश्यक भएको कर्णाली प्रदेशसभाका सदस्य दिनबन्धु श्रेष्ठले बताए। ‘बगैँचा किन्ने यो समय उचित होइन,’ उनी भन्छन्, ‘अहिले जनतालाई कोरोनाबाट बचाउने समय हो। मास्कलगायतका सुरक्षा सामग्री सहयोग गर्ने बेला हो।’ अहिले कामका लागि भारत गएका कर्णालीवासी कति घर फर्किएको र कतिपय बाटोमै भएकाले जोखिम बढाएको भन्दै उनले भने, ‘कर्णालीमा जोखिम कम गर्न फजुल खर्च कटाएर सुरक्षा सामग्री सहयोग गरौं।’

‘यहाँ जनताले अढाइ महिनासम्म मास्क फेर्न पाएको छैन,’ सुर्खेतका समाजसेवी भक्त शाही भन्छन्, ‘कोरोना संकटका बेला राष्ट्रपतिलाई बगैँचाको चिन्ता।’ फजुल खर्च बरु कर्णालीमा मास्क खरिदका लागि खर्च गर्न उनले राष्ट्रपतिलाई आग्रह गरे। कर्णालीमा कोरोना परीक्षण गर्ने किट अभाव भइरहने भन्दै उनले उक्त बजेट गलैँचाभन्दा कोरोना नियन्त्रणमा खर्च गर्नुपर्ने बताउँछन्। कर्णालीवासीले विपन्न तथा गरिबलाई राहत, खाद्य संकट क्षेत्रमा खाद्यान्न वितरणजस्तामा प्रयोग गर्न अनुरोध गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले एक करोडको गलैँचा किन्ने खबर बाहिरिएपछि कर्णाली बेखुसी बनेको छ। राज्यको आँखा पुग्न नसकेको कर्णालीले राज्यलाई भने नजिकबाट हेरिरहेको कर्णालीवासीको भनाइ छ। ‘राज्यले हामीलाई दुरुस्तै देख्दैन,’ रुकुम पश्चिमका तिलक भण्डारी भन्छन्, ‘तर कर्णालीले राज्यलाई दुरुस्तै देख्छ। राज्यले गर्ने क्रियाकला र गतिविधि नजिकबाट हेरिरहेको उनको भनाइ छ। कोरोना संकटका बेला पनि एक करोडभन्दा बढी रूपैयाँमा तीन वर्ष अगाडिको बगैँचा फेर्नु अस्वभाविक हुने उनले बताए।

प्रकाशित: २० जेष्ठ २०७७ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App