१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

क्वारेन्टिनबाटै फैलिन थाल्यो संक्रमण, संक्रमितलाई आइसोलेसन अभाव

प्रदेश २ मा क्वारेन्टिनमै बसेकाहरुबाट कोरोना भाइरस संक्रमण फैलिन थालेको छ । आवश्यक क्वारेन्टिन र आइशोलेसन वार्ड अभावमा क्षमताभन्दा करिब दोब्बर व्यक्तिलाई राख्न थालिएपछि क्वारेन्टिनबाटै संक्रमण फैलिन थालेको हो । भारतबाट घर फर्किने नेपालीको संख्या एकाएक बढेपछि क्वारेन्टाइनले धान्न नसक्ने स्थिति आएको छ।

प्रदेश २ मा अहिलेसम्म संक्रमण देखिएकाहरू केहिबाहेक अधिकांश भारतबाट आएका हुन् । कोही लुकिछिपी भारतबाट आएका छन् भने कतिपय नाकाहुँदै आधिकारिक रुपले । लुकिछिपी आएपनि स्थानीयको सहयोगमा सबैलाई क्वारेन्टिनमा राखिएको छ । साथै नाकाहुँदै आएकाहरू पनि क्वारेन्टिनमा छन् ।  

प्रदेश २ को ८ जिल्लाका विभिन्न स्थानीय २५ हजार ३२२ बेड क्षमताको ३ सय ७१ क्वारेन्टिन स्थापना गरिएको छ । जसमध्ये अहिले २० हजार ९९३ जना क्वारेन्टिनमा छन् । कतिपय जिल्लामा बेड संख्याभन्दा बढी मानिसहरू क्वारेन्टिनमा रहेपनि कसैले अनुमगन गरेको छैन । न्यूनतम मापदण्डसमेत पूरा नगरिएपछि क्वारेन्टिनबाटै कोरोना संक्रमणको जोखिम बढेर गएको छ ।  

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोपाल धर्मशालामा उपमहानगरले सञ्चालन गरेको क्वारेन्टिनका ९ र धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिकाको क्वाक्वारेन्टिनका ११ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै धनुषाकै हंसपुर नगरपालिका—७ स्थित लौवाखोइरमा सोमवार दुइजनामा संक्रमण पुष्टि भएको छ । तर करिब ४५ जना मात्र क्षमता रहेका यो क्वारेन्टिनमा ६३ जनालाई कोच्चिएर राखिएकाले ती संक्रमितबाट अन्य व्यक्तिमा समेत संक्रमण फैलिएको हुनसक्ने एक स्वास्थयकर्मीले बताए । ‘क्वारेन्टिनमा समान्य दुरी समेत कायम नगरी भारतबाट आएकाहरुलाई कोच्चिएर राखिएको छ । उनीहरु पनि गुनासो गरिरहेकै छन् । हामीले मेयरलाई भनेका छौँ तर उपाय केही खोजिएको छैन् । अब स्वास्थ्यकर्मी समेत डराएर क्वारेन्टिन आउन आनाकानी गरिरहेका छन्,’ उनले भने ।  

केही दिनअघि धनुषाकै लक्ष्मिनियाँ गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टिनका १८ जना र रौतहटको राजपुर नगरपालिकास्थित राजपुर फहतवा क्वारेन्टिनमा रहेका ५० जनामा कोरोना पुष्टि भएको थियो ।

स्थानीय तहहरूले क्वारेन्टिन स्थापना गरेपनि त्यहाँ बसेकाहरूलाई न खानपिनको उचित व्यवस्था मिलाइएको छ न शौचायलकै। कतिपय क्वारेन्टिनमा खाटको ठाउँमा विद्यालयमा विद्यार्थी बस्ने बेन्च सुत्नलाई दिइएको छ । धनुषामा मात्र क्वारेन्टिनको बेड क्षमता भन्दा करिब ५ सयबढी व्यक्तिलाई क्वारेन्टिनमा राखिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश मिश्रले बताए ।  

‘दिनको दुइ सय मानिस आउने आशा गरेका थियौँ तर करिब ५ सय मानिस भारतबाट आइरहेका छन् । एकैपटक सय प्रतिशत बढीलाई व्यवस्थापन नै गर्न सकिदैन । सरकराले पिसिआर रिपोर्ट नआउन्जेल डिस्चार्ज नगर्न भनेको छ । त्यसैले आएकालाई हामी बाहिर निकाल्न सकेका छैनौ अर्कोतिर आएकाहरुलाई पनि त्यसमै राख्ने गरिएको छ,’ उनले भने ।  

हालसम्म ८ सय ७५ बेडक्षमताको आइशोलेसन वार्ड मात्र निर्माण गर्न सकेको प्रदेश २ मा सोमवार साँझसम्म संक्रमितको संख्या ६ सय ९५ पुगेको छ । संक्रमितको संख्याको तुलनामा बेडसंख्या केही बढी देखिए पनि संक्रमितको संख्या बढी भएका जिल्लामा आइसोलेशन अभावमा संक्रमितहरु क्वारेन्टिनमैै समय विताउन बाध्य भएका छन् ।  

‘संक्रमण पुष्टि भएको ४ दिनपछि हिजोमात्र दुइजनालाई आइशोलेसन वार्डमा लगिएको छ । थप दुइ जनामा संत्रमण पुष्टि भएको छ तर जिल्लाभरमा आइशोलेसन वार्ड खाली नभेटिएपछि उनीहरु अहिले क्वारेन्टिनमैै छैन् । कहिले आइशोलेसनमा राखिने ठेगान छैन्,’ धनुषाको धनौजी गाउँपालिकाका क्वारेन्टिन प्रमुख गौरीशंकर मण्डलले भने ।  

सप्तरीको कन्त चन्द्र मावि पातोमा स्थापना गरिएको क्वाक्वारेन्टिनमा  रहेकाहरूलाई कक्षाकोठाको डेस्क, बेञ्चमै सुत्नु परेको छ। स्वाब संकलनमा ढिलाइका साथै नतिजा आउनपनि समय लाग्ने भएकोले क्वारेन्टिनभित्रैबाट संक्रमणको जोखिम बढिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

मापदण्डविपरित तयार पारिएको क्वारेन्टिन र परीक्षणमा ढिलाइ भइरहेकोले त्यहाँबाट कोरोना संक्रमणको उच्च जोखिम रहेको नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश २ का अध्यक्ष शिवजी दासले बताए । प्रदेश २ मा तयार पारिएका सबैजसो क्वारेन्टिनहरू विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्डविपरित रहेको उनको भनाइ छ ।

अध्यक्ष दास क्वारेन्टिनमा रहेकाहरूको स्वाब परीक्षण र नतिजामा ढिलाइहुँदा क्वारेन्टिनभित्र एकअर्कालाई संक्रमणको जोखिम रहेकोले त्यसतर्फ ध्यानदिनुपर्नेमा जोड दिए ।  

‘क्वारेन्टिन बसेको दुई सप्ताहसम्म स्वाब परीक्षण भएको छैन्, भए पनि नतिजा आउन एक सप्ताहभन्दा बढी कुर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कोही संक्रमित छन् भने यस अवधिमा अर्कोलाई संक्रमण सार्ने सम्भावना व्यापक हुन्छ ।’

परीक्षणको दायरा बढाउँदै नतिजालाई तिव्रता दिन नसकिए क्वारेन्टिन नै कोरोना संक्रमणको मुख्य थलो बन्ने निश्चित रहेको दास बताउँछन् ।

प्रदेशमा संक्रमितको संख्या बढ्नेक्रम हवात्तै बढेकाले निर्माण गरिएको आइसोलेशन र क्वारेन्टिनले मात्र धान्न नसक्ने स्वास्थ्य निर्देशनालय प्रदेश २ का प्रशासक डा. विजय कुमार झाले बताए ।  

‘हालसम्म क्वारेन्टिनमा बसेकाहरुको र संक्रमण पुष्टि भइसकेका मानिसको सम्पर्क र संसर्गमा पुगेकाहरुको मात्र स्वाब संकलन भएको छ । पर्याप्त भिटिएम किट नहुँदा कन्टयाक्ट ट्रेसिङ भइसकेका पनि कतिपयको स्वाब संकलन हुन सकेको छैन,’ उनले भने, ‘भारतबाट आउने संक्रमण समुदायमै फैलिसकेको छ । समुदायका मानिसको समेत परिक्षण हुने हो भने संक्रमितको संख्या अझै बढ्छ । संक्रमितको संख्या यसैगरी बढ्ने हो भने अहिलेजतिको आइशोलेसन र क्वारेन्टिनले धान्ने अवस्था छैन् ।’

प्रकाशित: १९ जेष्ठ २०७७ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App