१ श्रावण २०७७ बिहीबार
समाज

'रोप, रोप रोप्नेरीऔं असारमा गोडौंलीं'

डोल्पामा धान मेला सम्पन्न, पुजारीले दलितको काँध चढ्ने गरेकोमा विरोध

त्रिपुरासुन्दरी नगरपालिका १ कोटगाउँस्थित श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिरको गुठीजग्गा कोटसेरामा धान रोपाई गर्दै रोपाहारा।

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण पछिल्लो समय नेपाल पनि जोखिममा पर्दै गइरहेको बेला सरकारले लागु गरेको बन्दाबन्दीले डोल्पाको धान रोपाई मेलालाई भने छुन सकेन। लकडाउनका बीच पनि हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा यो वर्षको धान रोपाई मेला सम्पन्न भएको छ।

त्रिपुराकोटस्थित आद्यशक्ति श्रीवाला त्रिपुरासुन्दरी भगवतीको कोटखौलामा रहेको कोटसेरा नामक गुठीको जग्गामा धान रोपाईसंगे धान रोपाई मेला सम्पन्न भएको हो। आकासबाट परिरहेको सिमसिमे पानीलाई समेत वास्ता नगरि  रोपाहारा र हलिहरु खेतमा धान रोप्नमै मस्त थिए।

लाग्छ उनीहरुलाई कोरोनाको रतिभर त्रास छैन। खेतका प्रत्येक कान्लामा सामाजिक दुुरीको समेत ख्याल नगरि धान रोपाई हेर्ने मानिसहरुको बाग्लो उपस्थिति थियो। उनीहरु सबैको ध्यायन रोपाहाराले धान रोपाईसंगै सुरिलो भाकामा गाइरहेका  गीतमै केन्द्रित थियो। धान रोप्दै खेतमा रोपाहारा यसरी धान रोपाईको गीत गाउदै थिए।

रोप,रोप रोप्नेरीऔ असारमा गोडौली,

आरु फुल्यो ड्यौटी दिम्ला माइत गई ओडौली।

कोटसेरामा हुने धान रोपाईमा पुजारीहरु हलिको (सार्कीं)को काँधमा लस्करै चढेर हिलो छ्यापाछ्याप गर्ने र हलि रोपाहारा र पुजारीहरुले हिलो खेल्ने गरेको हेर्न टाढा टाढाका गाउँहरुबाट मानिसहरु कोट सेरामा मेला भर्न आउने गर्छन्। विगतका वर्षहरुमा पुजारीहरुले लाभालस्करको रुपमा दलितहरुका काँधमा चढेर हिलो छयाप्ने गरेको भएपनि पछिल्लो ससो परम्परालाई दलित जातीयतामाथिको दमन भएको भन्दै अभियान्ताहरुले चर्को विरोध गरेपछि लाभालस्करमा काँधमा चढ्ने क्रम विस्तारै हट्दै जान थालेको स्थानीय टिकादत्त न्यौपानेले बताए।

गत वर्षहरुमा दर्जनौ मानिसहरु दलितको काँध चढ्र हिलो छयाप्ने गरेकोमा यस वर्ष मन्दिरका रोलक्रमवाला पुजारी टंकप्रसाद उपाध्यायले मात्र खेतमा पुल्ती रोप्न दलितको काँधलाई प्रयोग गरे। जातीय विभेद विरुद्दको अभियानमा लागेका बमबहादुर सार्कीले पुजारीहरुले अझै पनि जातीय विभेद गरेर दलितको काँधमा चढेर हेपाहा प्रवृति देखाएको बताए। उनले भने अरु जातलाई काँधमा नचढ्ने दलितलाई मात्र काँध चढ्ने परम्पराको अन्त्य हुनु पर्छ।यो मानवता विरोधी कदम हो देश पूर्ण संघीयतामा गइसक्दा पनि डोल्पामा अझै पनि माथिल्लो जातले तल्लो जातीलाई घोडाखच्चडकै रुपमा हेर्ने गरेका छन् बमबहादुर सार्कीले भने। यता पुजारी देविकृष्ण उपाध्यायले दलित अभियान्ताहरुले उठाएको माग समयसापेक्ष भए पनि परापुर्वकालदेखि चलिआएको चलन रीतिरिवाज पनि समाजको मुल कानून हुने बताए।  

उपाध्यायले भने परम्परालाई जीवन्तता दिन र संस्कृतिलाई बचाई राख्न जवरजस्ती नभई हलिहरुको स्वीकृति र मन्जुरीमा पुजारीहरुले खेतको बीच भागमा कपडाको पुतलीरुपी झण्डा रोप्नको लागि काँधमा चढ्ने र हिलो छयाप्ने काम हुदै आएको हो। यो जातीयता विरोधी परम्परा होइन। भगवतीको कोटसेरामा ९ हल गोरु ,३२ रोपाहारा ३ जना विगारे –माटो सम्म्याउने )र २ जना कुनाकाप्चे गरेर ४१ जनशक्ति प्रयोग हुने गरेको र रोपाई मेलाको दिनमा सेरा ज्युलोबाट उब्जेको धानको खाना प्रत्येक घरधुरीलाई पुरी र सेलरोटी हलुवा प्रसादको रुपमा बाँड्ने चलन रहेको अर्का पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताए।  

त्रिपुराकोटको टाँके डाँडामा अवस्थित श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर विसं १११४ सालामा स्थापना भइसकेपछि विसं १८७१ का पुजारीकोको नाममा प्राप्त लालमोहरमा उल्लेखित ८ मुरीको कोटसेरा,२० मुरीको गल्लीस्थित गुठी जगा गरेर २८ मुरी जग्गा गुठीको नाममा रहेको र १६ औ शताब्दी पुर्वदेखि मन्दिरका पुजारी उदयराम उपाध्यायाको पालाबाट कोटसेरामा धान रोपाई मेला लाग्ने गरेको पुजारी देवीकृष्ण उपाध्यायको भनाई छ।

यत्तिखेर भगवतीको कोट सेरामात्र नभई डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा पर्ने कोटज्युलोमा रोपाहाराहरुले खेतमा धान रोप्दै सुरिलो भाकामा गाइरहेको देख्न र सुन्न सकिन्छ।

काठमाण्डौ लगायतका सहरी जिल्लामा असार पन्ध्रदेखि धान रोपाई हुने भएपनि विकट हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ १ गतेबाट सर्वसाधारणको रोपाई शुरु भई जेष्ठ १९ गते भगवतीको मन्दिर गुठी जग्गामा धान रोपाई गरेसंगै धान रोपाई मेला सम्पन्न हुने गर्छ।

मानु रोपेर मुरी फलाउने पर्वको रुपमा समेत धान रोपाईलाइ लिने गरिन्छ। यत्तिखेर डोल्पाका त्रिपुराकोट, लिकु, खदाङ्ग, मोतिपुर र दुनै लगायतका गाउँहरुमा किसानहरुलाई धान रोपाईको चटाराले अन्तिम विट मार्न थालेको छ।

आद्यशक्ति श्रीवाला त्रिपुरासुन्दरी भगवतीको गुठी जग्गा कोटसेरामा हुन्। धानरोपाई मेलामा सहभागि भएपछि गाउँमा सिद्दि हुने बालीनाली सप्रने र समयमा बर्षात भई  उब्जनी राम्रो हुने जनविश्वास रहेको छ।

विगत वर्षमा धान रोपाईको समय बहुमुल्य जडिबुटी यार्सागुम्बा पाइने समय पर्ने भएकाले सबैजना यार्सागुम्बा खोज्न पाटन जाँदा धान रोपाईमा समस्या आउने गरेको भएपनि यो वर्ष कोरोना भाइरसको जोखिम रोक्न यार्सागुम्बामाथि प्रतिबन्ध लगाइएपछि भने धान रोपाई सहजरुपमा सम्पन्न भएको छ।

रोपाईको दिनमा दहि चिउरा मासु तथा सेलरोटी पकाएर रोपाहारा हली कुनाकाप्चे र विगारेलाई खुवाउने र गीत चुटकिला एवं मागल गाएर रमाइलो गर्ने प्रचलन छ।

आफ्नो उत्पादनले वर्षमा तीन महिना पनि भरपुर खाननपुग्ने डोल्पामा पाहुनालाई सत्कार गर्न, गाउँको परिचय दिन,कुलदेवतालाई अक्षताको रुपमा चढाउन र इष्टमित्रलाई कोसेली दिनको लागि भएपनि धान रोपाई नगरि नहुने त्रिपुरासुन्दरी नगरपालिका १ का विष्णुप्रसाद न्यौपानेले बताए। डोल्पाको सबैभन्दा बढी धान रोपाई त्रिपुरासुन्दरी नगरपालिका १ कोट गाउँमा गरिन्छ।

धान रोपाई खर्च धेरै उब्जनी कम भएपनि परम्परा धान्न र पहिचान दिनको लागि कालिकोटे कालो, रातो र मार्सी धानको रोपाई गर्ने प्रचलन छ।

प्रकाशित: १९ जेष्ठ २०७७ १५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App