गत जेठ १० गते रुकुमको चौरजहारीमा भएको ६ जना युवकको नरसंहारको विरोध गर्दै सोमवार पनि राजधानीमा नेपाल दलित विद्यार्थी संघ र नेपाल दलित संघले विरोध प्रदर्शन गरेको छ। राजधानीको माइतीघर मण्डेलमा विरोध प्रदेर्शनपछि उनीहरुले सोमवार नै विभिन्न मागसहित काठमाडौका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।
ज्ञापनपत्रमा दोषी उपर हदैसम्मको कारवाही हुनु पर्ने, घटनावाट पीडित परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्नु पर्ने , रुकुम हत्याको विषयमा प्रधानमन्त्रीले संसदमा संबोधन गरी नवराज विकको हत्यासंगै अवका दिनमा जातीय विभेदका घटना हुन नदिन जातीय विभेदको अन्त्यको घोषणा गर्नु पर्ने माग अघि सारेको छ।
यसको साथै घटनामा समातिएकाहरुको गहिरो छानविन गर्ने र फरार रहेकालाई तत्काल खोजिने गृहमन्त्रीवाट प्रतिवद्धता जाहेर गर्नु पर्ने र यस अघि सरकारले निर्माण गरेको छानविन समिति अमान्य भएको र उच्च स्तरीय संसदीय छानविन समिति बनाउनु पर्ने माग राखेको छ। संघ तथा अन्य दलित अधिकारकर्मीले राजधानीमा दैनिक जसो बिरोध प्रर्दशन जारी राखेका छन्।
प्रकाशित: १९ जेष्ठ २०७७ ०८:०४ सोमबार