१६ चैत्र २०८० शुक्रबार
समाज

आयुर्वेद स्वास्थ्य केन्द्र नसार्न माग

प्रदेश १ सामाजिकविकास मन्त्रालयले विराटनगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई विराटनगरकै अर्कै ठाउँमा सार्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन्। स्वास्थ्य केन्द्र सार्ने थाहा पाएपछि विरोध जनाउँदै आएका स्थानीयले आइतबार सामाजिक विकासमन्त्री जीवन घिमिरे स्थास्थ्य केन्द्रमा थेरापी गर्न आउँदा मन्त्रीलाई भेट्दै सार्ने निर्णय फिर्ता लिन माग गरेका छन्।

विराटनगर महानगरपालिका–४ जामुनगाछीमा आफ्नै भवनमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई विराटनगर–७ स्थित रेडक्रसको भाडाको भवनमा सार्ने निर्णय सामाजिक विकास मन्त्रालयले गरेको थियो। मन्त्री घिमिरेलाई भेटेर निर्णयको विरोध गर्दै स्थानीयले आयुर्वेद सार्ने निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। सरकारले निर्णय फिर्ता लिएर आयुर्वेद जामनुगाछीमै राख्न माग गरे।  

‘आयुर्वेद स्वास्थ्य केन्द्र सार्ने विषयमा कहीँकतैबाट कुनै लिखित जानकारी वा सूचना वडामा आएको छैन,’ विराटनगर–४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले भने,‘आज मन्त्रीज्यू त्यहाँ जाँदा स्थानीयले स्वास्थ्य केन्द्र नसार्न भन्दै विरोध गरेको सुनेके हुँ।’ ‘हाम्रो वडामा रहेको एउटा गहना हो, यसलाई वडावासीले मात्रै सदुपयोग गर्दै आएका छैनन् कि जिल्लाका विभिन्न ठाउँबाट आएकाले समेत सेवा लिँदै आएका छन्,’ पोखरेलले भने, ‘कहीँकतैबाट सार्ने कुरा आए हामी मान्दैनौं। यहाँबाट सार्न मिल्दैन र सार्नु पनि हुँदैन। यसलाई स्तरोन्नति गर्दै अझ ठूलो बनाएर लैजानुपर्छ।’  

वडा सदस्य तुलसीप्रसाद घिमिरेले मन्त्रालयले आयुर्वेद सार्ने निर्णय धेरै अघि गरेको भए पनि आफूहरूलाई अहिले मात्रै थाहा भएको बताए। मन्त्रालयले स्थानीय, जनप्रतिनिधि कोहीसँग पनि छलफल नगरी एकलौटी निर्णय गरेको घिमिरेले बताए। आयुर्वेद सार्न नदिन स्थानीयले जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताउँदै घिमिरेले यसबाट उत्पन्न परिस्थितिको जिम्मा सामाजिक विकास मन्त्रालय र मन्त्रीले लिनुपर्ने बताए।  

मन्त्री घिमिरेले जग्गा र संरचना अभाव भएकाले आयुर्वेद सार्न खोजिएको बताए। ‘प्रकृतिक चिकित्सा पद्धती, योगा र आयुर्वेदको सेवा एकै ठाउँबाट दिने योजनामा सरकार अघि बढेको छ,’ उनले भने, ‘त्यसका लागि जमिन र संरचना अपुग भएपछि आयुर्वेद केन्द्र सार्ने मनस्थिति बनाए पनि सार्ने निर्णय भइसकेको छैन।’  

‘आयुर्वेद बस्ने ठाउँ नपाएर हिजोका दिनमा अलपत्र अवस्थामा रहेकालाई स्थानीयको सक्रियतामा जामुनगाछीमा स्थापित ग¥यौं,’ स्थानीय तथा नेकपा विराटनगरका अध्यक्ष सागर थापाले भने, ‘स्थापित भएर प्रभावकारी सेवा दिन थालेपछि भने अन्यत्रै लैजान खोजिनुमा ठूलो षडयन्त्र रहेको छ। अहिले आफ्नै भवनबाट सेवा दिँदै आएको केन्द्रलाई भाडाको घरमा पु¥याउने षडयन्त्र भयो।’  

२०५३ बाट मोरङमा आयुर्वेद स्थापना भएको हो। भाडाको घरबाट सेवा दिँदै आएको कार्यालय २०६५ मा दाताले १८ धुर जग्गा दिएपछि आफ्नो दुई तले, नौ कोठे भवन बनाएर सञ्चालनमा आएको हो।अहिलेको संरचना सेवा प्रवाहका लागि अपुग भएसँगै नजिकै अर्को घरबाट मासिक ४५ हजार रुपैयाँ भाडा तिरेर ल्याब, क्षारसुत्र, पञ्चकर्म, थेरापीलगायतका सेवा दिने काम भइरहेको आयुर्वेदका प्रमुख डा. रवीन्द्र निरौलाले बताए। विस्तारित सेवालाई संरचना अपुग भएपछि मन्त्रालयको निर्णयपछि पर्याप्त संरचना भएका स्थानमा आयुर्वेद सार्ने तयारी गरिएको उनले बताए। 

प्रकाशित: १९ जेष्ठ २०७७ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App