१६ चैत्र २०८० शुक्रबार
समाज

शंकास्पद अवस्थामा शव, सामूहिक हत्याको आशंका

रुकुम पश्चिम घटना

१९ जना साथी–सहयोगी लिएर जेठ १० गते जाजरकोट भेरी–४ का नवराज विक दुलही लिन रुकुम पश्चिम चौरजहारी–८ स्थित सोती पुग्छन् । नवराजकी प्रेमिका सुष्मा मल्लका बुबाआमा र वडाध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँ नै आक्रमणमा उत्रिन्छन् । नवराज र सहयोगीहरूको भागाभाग हुन्छ । गाउँलेले तीनतिरबाट घेरा हालेका छन् भने अर्काेतिर भेरी नदी सुसाउँदै छ । त्यसपछि हत्या वा कुटपिट गरेर नदी फालियो कि उनीहरू अफैं नदीमा हेलिए, त्यो भने शंकास्पद छ । कारण जेसुकै भए पनि त्यो आपराधिक क्रियाकलाप भएको स्थानीय बताउँछन् ।

गाउँलेको कुटपिटपछि भेरीमा हाम फालेका नवराजलाई सहयोग गर्न गएका लोकेन्द्रको शव घटना भएको पाँच दिनपछि (१४ गते) भेटियो । पाँच जनाको मृत्यु र एक जना बेपत्ता हुने गरी भएको उक्त घटनामा उनको शवले ठूलो शंका उत्पन्न गरेको छ । पीडक भनिएका सोतीका गाउँलेको कुटपिटपछि हात बाँधेर भेरीमा फालेको पीडित पक्षले दाबी गर्दै आएका छन् । 

त्यसलाई लोकेन्द्रको शवले अझ बलियोसँग कसिदिएको छ । लोकेन्द्रको दायाँ हातमा माछा पार्ने जाल बेरिएको अवस्थामा भेटिएपछि शंका अझ बलियो बन्दै गएको हो । यसले कुटपिट वा हत्या गरी हात बाँधेर भेरीमा फालिएको हो भन्ने शंका उत्पन्न गरेको छ । उद्दारकर्ताले दुवै हातमा जाल बाँधिएको दाबी गर्दै आएका छन् भने प्रहरीले दायाँ हातमा मात्र बेरिएको अवस्थामा भएको बताएको छ ।

मृत भेटिएकाहरू पानी नखाएको अवस्थामा भेटिएका छन् । यसले सामूहिक हत्या गरेर भेरीमा फालेको हुन सक्ने शंका बलियो बनाएको छ ।

‘लोकेन्द्रको दायाँ हातमा माछा मार्ने जाल बेरिएको अवस्थामा भेटिएको छ,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले भने, ‘गाउँलेले दुवै हात बाँधिएको दाबी गरेका छन् ।’ उक्त विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ । कर्णाली प्रदेशसभाका दलित सांसदहरूले उक्त घटनामा स्थलगत अनुगमनसमेत गरेका छन् । उनीहरूले लोकेन्द्रको शव प्रत्यक्ष देखेको र अन्यको शवको अवस्था स्थानीयसँग जानकारी लिएको बताएका छन् । 

‘लोकेन्द्रको दुवै हात पछाडि बाँधिएको अवस्थामा थियो,’ सांसद सीता नेपालीले भनिन्, ‘भेरीबाट बाहिर ल्याउँदा एउटा हातको डोरी चुडिएको थियो ।’ बायाँ हात भाँचिएको अवस्था र टाउकोमा गहिरो चोट लागेको उनले बताइन् । भेटिएका शवको पेटमा पानी नभएको बताइएको छ । ‘यदि आफैं मरेको हो भने पेटमा पानी हुन्छ,’ उनले भनिन्, ‘तर लोकेन्द्रको शवमा हेर्दा पानी थिएन । अरूकोमा पनि त्यस्तै पाइएको छ ।’ घटजनालाई सामूहिक हत्यासमेत भनिएको छ ।

प्रायः सबैको शवको प्रकृति एउटै जस्तो भएको स्थानीयलाई उदृढ गर्दै सांसद नेपालीले बताइन् । ‘कसैको लिङ्ग काटिएको, आँखा फुटेको अवस्थामा शव भेटिएको जानकारी लिएका छौं,’ उनले भनिन्, ‘शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा शव भेटिएका छन् ।’ सोतीका स्थानीयले कुटीकुटी हत्या गरेर नदी बगाएको पीडित पक्षको भनाइ छ भने सोतीका स्थानीयले यसलाई अस्वीकार गरेका छन् ।  

नवराजको जेठ १० गते शनिबार राति शव भेटिएको थियो । त्यस्तै ११ गते टीकाराम नेपाली, १२ गते गणेश बुढा, १४ गते लोकेन्द्र सुनार र १५ गते सञ्जु भनिने सञ्जीव विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मृत्यु भएका व्यक्तिलाई मारेर फालेको वा पौडी खेल्दा ढुंगाले हानेर मारेको भन्ने विषयमा अनुसन्धान भइरहेको स्रोतले बताएको छ । स्रोतकाअनुसार मृत भेटिएकाहरू पानी नखाएको अवस्थामा भेटिएका छन् । यसले सामूहिक हत्या गरेर भेरीमा फालेको हुन सक्ने शंका बलियो बनाएको छ ।

भागेर ज्यान बचाएकाहरूले भेरीमा पौडी खेल्दा पनि गाउँलेले ढुंगामुडा गरेको बताएका छन् । आफूहरू अहिले भनिए जस्तो कुटपिट र होहल्ला गर्न नगएको नवराजका साथी गोविन्द सुनारले बताए । ‘नवराजले दुलही तयार छे लिन जाऊ भनेकाले गएका हौं,’ उनले भने, ‘अहिले भनिएजस्तो लकडाउन उल्लघंन गर्न गएका होइनौं ।’ उनले जातीय अपशब्दले गालीगलौज गर्दै ढुंगामुढाले लखेटेको बताए ।  

जाजरकोटका सन्देश शाहीले घटनालाई सामूहिक हत्याको संज्ञा दिँदै आफूहरू न्यायको आसमा रहेको बताए । पोस्टमार्टमपछि उनीहरूको शवको अन्त्येष्टि गरिसकिएको छ । तर पोस्टमार्टम रिपोर्ट भने सार्वजनिक भएको छैन । उक्त आक्रमणमा घाइते भएका युवाले उपचारको माग गरेका छन् । अहिलेसम्म सरकारले उपचारमा गम्भीरता नदिएको उनीहरूको भनाइ छ ।  

घाइतेहरूको टाउको, हात, खुट्टा र पिठ्युँमा चोटपटक लागेको छ । उनीहरूले भागेर ज्यान बचाएका थिए । उक्त आक्रमणमा १२ जना घाइते भएका थिए । घाइतेमध्ये सरोज भँडेलको पिठ्युँमा चोट लागेको छ भने सुदीप खड्काको हात र टाउकामा चोट लागेको छ । केहीको शरीरमा भित्री चोट लागेको घाइतेहरूले बताएका छन् ।

अनुसन्धानमा लाग्यो मानवअधिकार आयोग

रुकुम पश्चिममा ६ जना युवाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगको एक टोली घटनास्थलतर्फ गएको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईको नेतृत्वमा गएको टोलीले घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको अनुसन्धान एवम् शान्ति–सुरक्षाको कार्य सम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्नेछ ।

आइतबार आयोगको टोली रुकुम–जाजरकोट प्रस्थान गर्दै घटनाको अनुसन्धानमा सहयोग पु¥याउन सबैलाई आग्रहसमेत गरेको छ । अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० मा रुकुम पश्चिममा भएको घटनाको थप अनुगमन तथा अनुसन्धान गर्न आयोगको टोली आइतबार रुकुम, जाजरकोटतर्फ प्रस्थान गरेको हो ।

यसअघि आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ नेपालको सहकार्यमा गठित जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले प्रारम्भिक अनुगमन गरेको थियो ।

‘जातीय विभेदसँग सम्बन्धित अमानवीय, आपराधिक घटनालाई कुनै पनि पक्षले तरंगित र अतिरञ्जित बनाउने कार्य नगर्न, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही प्रक्रियामा सबै प्रकारको सहयोग पुर्याउन जनप्रतिनिधि, राजनीतिक दल, अधिकारकर्मी, नागरिक समाज, स्थानीयसमेतलाई आग्रह गर्दछ,’ आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: १९ जेष्ठ २०७७ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App